दार्चुला तुइन घटना : छानबिन समितिले बुझायो  प्रतिवेदन- समाचार - कान्तिपुर समाचार

दार्चुला तुइन घटना : छानबिन समितिले बुझायो  प्रतिवेदन

मातृका दाहाल

काठमाडौँ — दार्चुलाको तुइन घटना छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । मंगलबार साँझ गृहमन्त्रालयमा समितिका संयोजक सहसचिव जनार्दन गौतमले एक महिना लामो समय लगाएर तयार पारिएको प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनमा के छ भन्ने विषय औपचारिक रुपमा खुलाइएको छैन । तर घटना भारतीय भूमिमा भएको र त्यसको औपचारिक अनुसन्धान गर्न नेपालतर्फबाट कानुनी जलिटला रहेको विषय समेटिएको उच्च स्रोतले जनाएको छ ।

यस सम्बन्धी संक्षिप्त बेहोरासहितको विवरण केही बेरमा सार्वजनिक गरिने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । २०७८ साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका–२ मालका ३३ वर्षीय जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए । उनको अवस्था अहिलेसम्म अज्ञात छ । तुइनबाट भारतीय भूमि गस्कु हुँदै दार्चुला सदरमुकाम खलंगा हिँडेका धामी तुइनबाट महाकाली पार गर्नै लाग्दा ‘भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानले लट्टा खुस्काइदिएपछि’ बेपत्ता भएका थिए ।

गृहमन्त्री बालकृष्ण खाँणले प्रतिवेदन कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए । कार्यान्वयनका लागि मंगलबारबाटै प्रक्रिया अघि बढाउन गृहसचिव टेकनारायण पाण्डेलाई उनले निर्देशन दिएका छन् । प्रतिवेदन आगामी दिनका लागि मार्गदर्शक बन्नेमा आफू आशावादी रहेको उनले बताए ।

सम्बन्धित समाचारहरू :

प्रकाशित : भाद्र १५, २०७८ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्

त्रिचन्द्र कलेज : शताब्दी लामो इतिहास, बर्खे झरीमा रुझिरहेछ !

कान्तिपुर संवाददाता

काठमाडौँ — तत्कालीन राजा महेन्द्र यही क्याम्पस पढेका थिए । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, गिरिजाप्रसाद कोइराला, झलनाथ खनालदेखि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा यही क्याम्पसका विद्यार्थी हुन् । यही क्याम्पसले बालकृष्ण सम, सुवर्णशमशेर, लक्ष्मीप्रसाद देवकोटा, शंकरदेव पन्त, दशरथ चन्द, गंगालाल श्रेष्ठ, डिल्लीरमण रेग्मी, यदुनाथ खनाल, गोपालप्रसाद रिमाल, तुल्सीलाल अमात्य, विजयबहादुर मल्ल, गोविन्दबहादुर मल्ल, थिरबम मल्ल, मोहम्मद मोहसिन लगायत प्रतिभाहरूलाई दीक्षित गरायो । तर अहिले क्याम्पसको जीर्ण अवस्थाले यसको आफ्नै इतिहासलाई गिज्ज्याइरहेको छ ।

२०७२ को भकम्पले क्षति पुगेपछि तीनतले पुरातात्विक भवन झन् जीर्ण भयो तर ‘रातो स्टिकर’ टाँसिएको भवनको जीर्णोद्धार कार्य सरकारी प्राथमिकतमा परेन । पुनर्निर्माण प्राधिकरणले पाँच वर्षभित्र त्रिवि मातहतका ३७ वटा युनिट निर्माण गर्ने भनेको थियो । तर काम अहिलेसम्म अघि बढेको छैन ।

यही क्याम्पसमा पढेका हजारौं विद्यार्थीहरू देश विदेशमा महत्वपूर्ण ओहदामा पुगेका छन् । उनीहरूलाई पनि आफू अध्ययन गरेको धरोहरलाई सम्झिने फुर्सद कहाँ होला र ?

सत्ताको खेलमा वर्षौं रुमल्लिइरने नेता, पार्टीको फेरो समातेर क्याम्पस, विश्वविद्यालयमा राजनीति गर्ने नेतृत्वलाई इतिहासको महत्व के थाहा ? शैक्षिक उन्न्यनमा योगदान गर्ने धरोहर र सम्पदाको संरक्षण गर्नुपर्छ भन्ने कसले– कसलाई सम्झाइदिने ?

पूरा फिचर पढ्न :

प्रकाशित : भाद्र १५, २०७८ १९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×