कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

देउवा सत्तारोहणको ५० दिन, मन्त्रिपरिषद् विस्तारमा अझै बहानाबाजी

विभाजित दलको सनाखत प्रक्रिया सकिएपछि मात्र मन्त्रिपरिषद् विस्तार हुने
प्रकाश धौलाकोटी

काठमाडौँ — सरकार बनेको ५० दिनसम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । सत्ता गठबन्धनका दलहरूको आन्तरिक व्यवस्थापन मिलाउने नाममा प्रधानमन्त्री देउवाले मुलुकको  शासन सञ्चालनका काममै सम्झौता गरिरहेका छन् ।

देउवा सत्तारोहणको ५० दिन, मन्त्रिपरिषद् विस्तारमा अझै बहानाबाजी

देउवा सरकारमा कांग्रेसका तर्फबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका तर्फबाट दुई मन्त्री छन् ।

कांग्रेसबाट बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की कानून तथा उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री छन् ।

२८ असारमा सर्वोच्च अदालतको परमादेशपछि २९ असारमा गठबन्धन सरकारको प्रधानमन्त्रीमा सपथ लिएका देउवाले ५० दिनसम्म पनि मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । देउवाले एक महिनाभित्र लिनुपर्ने विश्वासको मत भने ३ साउनमै लिएका थिए ।

अब सत्तारुढ गठबन्धनका नेताहरूबीच अब भदौ २२ गतेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नवगठित दलहरू भित्रको आन्तरिक व्यवस्थापन पूरा भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् । देउवानिकट एक नेताका अनुसार नेकपा (एस) का नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मन्त्रिपरिषद् विस्तारका लागि केही दिन पर्खिदिन आग्रह गरेपछि देउवाले मन्त्रिपरिषद् विस्तारलाई एक सातापछि धकेलेका हुन् ।

‘नवगठित दलहरूभित्र निर्वाचन आयोगका कार्यालयहरूमा नेताहरूको सनाखत गर्ने सिलसिला छ । त्यो नसकुन्जेल मन्त्रिपरिषद् विस्तार नगरौँ भन्ने उहाँहरूको प्रस्तावका कारण अहिले तत्कालै मन्त्रिपरिषद् विस्तार रोकिएको हो,’ ती नेताले भने । स्रोतकाअनुसार नेपाल र यादवले मन्त्रिपरिषद् विस्तारलाई लिएर पार्टीमा नेता कार्यकर्ता आउने वा जाने हुनसक्ने भएकाले मन्त्रिपरिषद् विस्तारका लागि थप समय मागेका हुन् । अहिल्यै मन्त्रिपरिषद् विस्तार गर्दा पार्टीभित्र नेताहरूको सनाखतका क्रममा दल अदल–बदलको डर भएका कारण नेपाल र यादवले थप समय मागेको स्रोतको भनाइ छ ।

नेता नेपालले नेकपा एमालेबाट विभाजित भएर नयाँ दल नेकपा (एस) दर्ता गरेका हुन् । यस्तै यादवको दलबाट विभाजित भएर नेता महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गरेका छन् । निर्वाचन आयोगले ती दुवै दलमा २२ भदौसम्म प्रदेशका सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई कुन दलमा जाने वा रहने भन्ने सनाखत गर्ने समयावधि दिएको छ ।

मंगलबार बिहान बालुवाटारमा भएको प्रधानमन्त्री देउवा, नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नेपाल र जसपाका अध्यक्ष यादवबीच त्यही विषयमा डेढ घण्टासम्म छलफल भएको थियो । यसअघि पनि देउवा, दाहाल र नेपालबीच पटक–पटक छलफल हुँदै आएको थियो । निर्वाचन आयोगमा दल दर्ता भइसकेपछि सनाखत र दल अदल–बदल लगायत विषयमा देउवा, दाहाल र नेपालले आइतबार साँझ कानुनविद्हरूसँग पनि छलफल गरेका थिए । छलफलमा वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी लगायत सहभागी थिए । यसअघि पनि नेपाल नेतृत्वको दल दर्ता प्रक्रियामा रहेका कारण मन्त्रिपरिषद् विस्तार हुन ढिलाई हुँदै आएको थियो ।

मन्त्रिपरिषद् विस्तारमा ढिलाई हुने भएपछि कांग्रेसबाटै को–को मन्त्री हुने भन्ने टुंगिएको छैन । बुधबारसम्म मन्त्रिपरिषद् विस्तार हुने भन्ने समाचारका आधारमा कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको मंगलबारको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयले प्रवेश पाएको थियो । बैठकबाटै वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री देउवालाई फोन गरेका थिए ।

‘हामीले मन्त्रिपरिषद् विस्तारका विषयमा पनि छलफल गर्‍यौँ, तर अहिल्यै मन्त्रिपरिषद् विस्तार नहुने भएपछि नामका विषयमा छलफल भएन,’ केन्द्रीय सदस्य बलबहादुर केसीले भने, ‘बैठकबाटै सभापतिज्यूलाई फोन गर्दा उहाँले भदौ २२ गतेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताउनुभयो ।’


प्रकाशित : भाद्र १५, २०७८ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?