१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

स्वयम्भू ट्वाइलेट पार्क उत्कृष्ट १० मा

दामोदर न्यौपाने

काठमाडौँ — विश्व सम्पदा क्षेत्र स्वयम्भूको ‘ट्वाइलेट पार्क’ एक अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको उत्कृष्ट १० मा परेको छ । एरोसन ट्वाइलेट नाम दिइएको यो पार्कलाई संयुक्त राष्ट्रसंघले पनि सन् २०२० मा बनेका सार्वजनिक शौचालयमध्येमा उत्कृष्ट ठहर गरेर दिगो विकास अवार्ड प्रदान गरिसकेको छ । 

स्वयम्भू ट्वाइलेट पार्क उत्कृष्ट १० मा

स्विडेनमा भएको विश्व पानी महोत्सवका अवसरमा सफाइ विधामा नेपालको सार्वजनिक शौचालय उत्कृष्ट १० मा पर्न सफल भएको हो । ‘सीवी वर्ल्ड वाटर विक’ नाम दिइएको महोत्सवमा ‘सरफाती सेनिटेसन च्यालेन्ज’ सत्र सञ्चालन भएको थियो । उक्त सत्रमा विश्वभरबाट निवेदन दिइएका ८० सरसफाइ संस्थामध्येबाट १० वटा छानिएको थियो, जसमा सफाइ अभियन्ता प्रकाश अमात्यको अवधारणामा बनेको ट्वाइलेट पार्क पनि परेको हो ।

अहिले उत्कृष्ट १० परेकामध्येबाट पनि उत्कृष्ट ५ छनोट हुनेछ । सेप्टेम्बरमा हुने अन्तिम घोषणामा पहिलो हुनेले एक लाख डलर राशिको पुरस्कार जित्नेछन् । अमात्यले भने, ‘अब योभन्दा अगाडिको छनोटमा के हुन सक्ला भनेर भविष्यवाणी गर्न मिल्दैन तर विश्वका उत्कृष्ट १० मा पर्न सफल हुनु नै हाम्रा लागि निकै ठूलो हो ।’ सरसफाइमा रचनात्मक तरिका अपाउनेलाई प्रोत्साहन गर्न स्पर्धाका रूपमा छनोट गरिएको हो ।

अतिरिक्त आम्दानी, खेर गएको मलमुत्र सदुपयोग (बायोग्यास), पसल सञ्चालन, महिला मैत्री डिजाइन र सफाइपूरक कार्यक्रम चलाएर स्वयम्भूको ट्वाइलेट पार्कले नवीन काम गरेकाले २०२१ मेमा ग्लोबल इनोभेसन च्यालेन्जमा उत्कृष्टको अवार्ड पाएको थियो । राष्ट्रसंघीय निकाय ‘युनाइटेड नेसन्स साइन्स, टेक्नोलोजी एन्ड इनोभेसन (यूएनएसटी) ले विश्वका ३० देशका एक हजार सार्वजनिक शौचालयको समीक्षा गरेर नेपालको शौचालयलाई उत्कृष्ट ठहर गरेको थियो ।

‘हामी शौचालयमा महिला प्रयोगकर्तालाई ख्याल गर्छौं,’ अमात्यले भने, ‘शौचालयमा काम गर्नै अवसर पनि महिला नै दिन्छौं । यहाँका शौचालयको स्वामित्व पनि महिलासँग छ ।’ उपत्यकामा परम्परागत रूपमा सफाइको काम गर्दै आएका देउला, पुजारी, पोडेलगायत नेवार समुदायभित्रको जातिका महिलालाई व्यवस्थापनको जिम्मा दिइएको छ । युवा महिलाको बाहुल्य हुने गरी स्वावलम्बन सफाइकर्मी सहकारी संस्थाले यसको नेतृत्व लिएको छ । स्वयम्भू चक्रपथ छेउकै बुद्धपार्कबाट पूर्वतिरबाट आनन्दकुटी विहार जाने बाटोको दायाँतिर शौचालय छ ।

दायाँबायाँ गमला राखिएका सिँढी उक्लेपछि पुगिने शौचालयमा प्रयोगकर्ताले पैसा तिर्न खोज्दा एक कप चिया पाउँछन् । चिया पिए लाग्ने १५ रुपैयाँ मात्रै शौचालयले लिने गरेको छ । शौचालय प्रयोगमा आएको ८ महिना भएको छ । दिसापिसाब ढलमा नपठाई बायोग्यास डाइजेस्टरमार्फत ग्यास उत्पादन गरिएको छ । करिब १० घनमिटरको बायोग्यास डाइजेस्टरबाट महिनामा दुई सिलिन्डर ग्यास उत्पादन भइरहेको छ ।

प्रकाशित : भाद्र १४, २०७८ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?