१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

मन्त्री छान्न छाडेर यादव कार्यकर्ता रोक्ने अभियानमा

जसपाले जिल्ला दौडाहा सकेपछि मात्र मन्त्रीको टुंगो लगाउने 
भूषण यादव

वीरगन्ज — मन्त्रिपरिषद् विस्तारको एजेन्डालाई थाती राखेर सत्तारूढ जनता समाजवादी पार्टीका शीर्ष नेता जिल्ला दौडाहामा लागेका छन् । जसपाका पूर्वअध्यक्ष महन्थ ठाकुरको समूहले नयाँ पार्टी बनाएपछि जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेता ‘कार्यकर्ता जोगाउन’ राजनीतिक अभिमुखीकरण कार्यक्रमका नाममा कार्यकर्तामाझ पुगेका हुन् ।

मन्त्री छान्न छाडेर यादव कार्यकर्ता रोक्ने अभियानमा

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरिरहँदा जसपा अध्यक्ष यादव शुक्रबार जनकपुरको अभिमुखीकरण कार्यक्रममा सहभागी भएर शनिबार वीरगन्ज आइपुगेका छन् । जनकपुर जानुअघि उनले विराटनगरमा भएको कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

शनिबार वीरगन्जको नगरसभा गृहमा पर्सा, बारा, रौतहट लगायत जिल्लाका अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा अधिक समय उनले ठाकुरको आलोचना गर्नमा खर्चिएका थिए । उनले ठाकुर तराई कांग्रेसका वेदानन्द झाको बाटोमा हिँडेको आरोपसमेत लगाए । ‘२००७ सालको उपलब्धि राजा महेन्द्रले समाप्त गरे । जब महेन्द्रले संसदीय व्यवस्था समाप्त गरे, त्यसबेला मधेसमा एउटा मात्र मधेसी दल थियो, तराई कांग्रेस । पार्टीको नेता थिए– वेदानन्द झा,’ उनले भने, ‘वेदानन्दले तराई कांग्रेस दरबारमा बुझाए र राजतन्त्र समर्थन गरेबापत पुरस्कारमा केही दिनको गृहमन्त्री र राजदूत पाए । हिजो जसरी वेदानन्द झाले लोकतन्त्रको हत्या र प्रतिगमनकारी शक्तिको मद्दत गरेका थिए । आज वेदानन्द झाको भूमिकामा महन्थ ठाकुर ठाकुर एन्ड कम्पनी रहेका छन् ।’ ठाकुर समूहले असंवैधानिक कदमको समर्थन गर्दै जसपा फुटाएको उनको भनाइ थियो ।

अध्यक्ष यादवका अनुसार अल्पमतमा रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा फुटाएर सरकार सञ्चालन गर्ने योजनामा थिए । ‘असंवैधानिक कदमविरुद्ध विरोध गर्ने निर्णय जसपाले गर्दा ठाकुर समूह साथमै थियो । जब आन्दोलन बढ्दै गयो, तब ओली कमजोर हुँदै गए । पछाडि फर्केर हेर्छौं त ठाकुर समूह छैन, अनि एकजनाले भने कि उहाँहरू बालुवाटार पुग्नुभएको छ,’ उनले भने । उनले ठाकुर समूह अलग भए पनि फरक नपर्ने दाबी गरे । ‘कहिलेकाहीं हावा चल्दा रूखबाट पात झर्छन्, हाँगा भाँचिन्छ तर रूख उभिरहेको हुन्छ,’ उनले थपे, ‘जसपा फुटेको छैन, झन् बलियो भएको छ । गन्धा विचार भएका स्वार्थी समूह बाहिरिएपछि पार्टी शुद्धीकरण भएको छ । वेदानन्द प्रवृत्तिका व्यक्तिहरू बाहिर गएका छन् ।’ उनले ठाकुर लगायतका नेता बाहिरिएपछि झन्डै ८० प्रतिशत कार्यकारिणी समितिको उपस्थितिमा बैठक गरेको दाबी गरे । जसपाको केन्द्रीय कार्यकारिणी समितिले गत भदौ ६ मा भदौ ९ देखि १७ सम्म सातवटै प्रदेशमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो । जिल्ला दौडाहा सकिएपछि जसपाले संघीय सरकारमा जाने मन्त्रीको टुंगो लगाउने तयारी छ ।

यसअघि निर्वाचन आयोगले जसपाको आधिकारिता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्ष सर्वोच्च अदालतमा मुद्दा हालेर साउन अन्तिम साता मधेस झरेको थियो । प्रतिगमनकारी शक्तिको मतियार बनेको, ओली सरकारमा सहभागी भई पार्टी विभाजनको बीउ रोपेको आरोप चिर्न ठाकुर पक्षले प्रदेश २ का चार जिल्लामा अगुवा कार्यकर्ता भेला गरेको थियो । महोत्तरीको जलेश्वरमा अगुवा कार्यकर्ता भेलालाई महन्थ ठाकुर, शरतसिंह भण्डारी, निर्जला राउतले सम्बोधन गरेका थिए । त्यस्तै राजविराजमा राजेन्द्र महतोले र सिरहामा अनिलकुमार झाले सम्बोधन गरे । बाराको कार्यकर्ता भेलालाई लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनलले सम्बोधन गरे ।

मधेसका मुद्दा सम्बोधन गराउन ओली नेतृत्वको सरकारमा सहभागी भएको ठाकुर पक्षका नेताहरूको भनाइ छ । यादव १८ महिना ओली नेतृत्वको सरकारमा रहँदा गर्न नसकेको काम आफूहरूले १८ दिनमा गरेको दाबी उनीहरूको छ । अगुवा कार्यकर्ता भेलामा नागरिकतासम्बन्धी अध्यादेश ल्याएको र आन्दोलनका क्रममा मुद्दा लागेका १ सय ४० जनाको मुद्दा फिर्ता गराएको जनाएका थिए । संविधान संशोधनका लागि कार्यदलसमेत बनाउन लगाएको बताएका थिए । ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी निकट राजनीतिज्ञ शिव पटेलले मन्त्री भागबन्डापछि पार्टी फुट्ने जोखिम रहेकाले यादवले अभिमुखीकरण कार्यक्रमका नाममा नेता/कार्यकर्ता खोजिरहेको टिप्पणी गरे । ‘धेरैलाई मन्त्री बनाउने आश्वासन दिएर यादवले जसपामा बहुमत जुटाउनुभएको छ,’ उनले भने, ‘मन्त्री नपाए उनको पार्टी फुट्ने सम्भावना छ ।’

जुटफुट शृंखला

मधेसका मुद्दालाई एकीकृत पार्टीका माध्यमबाट उठाउनुपर्छ भन्ने मान्यताका साथ २०७४ वैशाखमा ६ वटा मधेस केन्द्रित दल मिलेर राष्ट्रिय जनता पार्टी गठन गरिएको थियो । २०७७ वैशाखमा समाजवादी पार्टी र राजपाबीच एकीकरण भई जनता समाजवादी पार्टी बन्यो । त्यसअघि २०७६ वैशाखमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराईको नयाँ शक्तिबीच एकता भई समाजवादी पार्टी गठन भएको थियो । मधेसकेन्द्रित शक्तिहरू एउटै पार्टीमा अटाएपछि बलिया देखिएका थिए ।

प्रदेश २ मा जसपाले ३ वर्ष ८ महिना एकल बहुमतको सरकार चलाएको थियो । तर ओलीको असंवैधानिक कदमको समर्थन र विरोधका बीच जसपामा विवाद चुलियो । ठाकुरको समूह प्रदेश २ सरकारबाट बाहिरियो । जसपाका लालबाबु राउत नेतृत्वको सरकारमा कांग्रेस र माओवादी सहभागी भएका छन् । मधेस आन्दोलनबाट उदाएका नेताहरूले मधेस मुद्दा बिर्सेको राजनीतिज्ञ शिव पटेलको बुझाइ छ ।

प्रकाशित : भाद्र १४, २०७८ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?