१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बझाङको छबिसपाथीभेराका ७ गाउँ चिराचिरा

३ सयभन्दा बढी घर जोखिममा, ४७ परिवार विस्थापित
वसन्तप्रताप सिंह

बझाङ — दर्जन बढी ठाउँमा ठूल्ठूला पहिरो खस्न सुरु भएपछि बझाङको छबिसपाथीभेरा गाउँपालिका–५ का सात वटा गाउँमा क्षति पुगेको छ । पहिरोका कारण साविकको व्याँसी गाविस–३, ७ र ८ का ३ सय बढी घर जोखिममा परेका छन् ।

बझाङको छबिसपाथीभेराका ७ गाउँ चिराचिरा

पहिरोका कारण छबिसपाथीभेरा–५ मा पर्ने इरेढुंगा गाउँका २०, जिबजेनीका ४०, पारिमेलाका २९ र सिकेभाड गाउँका ३५ घर जोखिममा परेका हुन् । सोही वडामा पर्ने धामी गाउँका ६४, जाग्री गाउँका ७५ र तल्लो थलाराका ४३ घर पनि जुनसुकै बेला बग्न सक्ने भन्दै स्थानीय त्रसित छन् । निरन्तरको वर्षासँगै पहिरो झर्ने क्रम बढेपछि बढी जोखिममा रहेका कतिपय परिवार खुला ठाउँमा बसेर रात बिताइरहेको पीडितहरूले बताएका छन् । ‘१२ परिवारले त घरमा बस्नै छोडिसके ।

दिनदिनै पहिरोको आकार फैलिँदै गइरहेको छ,’ पारिमेला गाउँका झलक धामीले भने, ‘ठूलो पानी परेको दिन गाउँका कोही पनि घरमा सुत्न सक्ने अवस्था हुँदैन । पहिरो खस्न थालेपछि पाकेको खाना पनि छोडेर सबै जना चौरमा बसेर रात कटाउने गरेका छौं ।’ उनले गाउँभन्दा दुई किलोमिटरमाथि लामनडाँडा भन्ने ठाउँबाट खसेको भीमकाय पहिरोले दुई वर्षदेखि गाउँलेको निद्रा हराएको बताए । उनले भने, ‘सुरुको वर्ष खेतबारी बगायो । यो वर्ष त घरै जान थालेपछि छाना (गोठ) मा सरेका छौं । पहिरो दिनदिनै सरेको सर्‍यै छ ।’

पहिरोका कारण विस्थापित भएका जिबजेनी गाउँका सुशील सार्कीले भने, ‘पहिरोबाट जोगिन बिरालोले बच्चा सारे जस्तो गर्दै बस्नु परिरहेको छ ।’ जिबजेनी र भौंडाराभन्दा तल बग्ने पाल्तीगाड खोलाबाट सुरु भएको पहिरोले यहाँका ३० परिवारको ६० रोपनीभन्दा बढी खेत बगाइसकेको छ । ‘पहिरो खस्न थालेपछि भूकम्प गए जस्तै गरी घर हल्लिन्छन् । कम्पनले घरभित्रका भाँडाकुँडा बज्न थाल्छन्,’ इरेढुंगा गाउँका जनेस चलाउनेले भने, ‘तीन/चार वर्ष भइसक्यो बर्खामा राम्रोसँग सुत्न पाइएको छैन ।’

पहिरोले घर बगाउने जोखिम बढेपछि विभिन्न गाउँका ४७ परिवार विस्थापित भइसकेको वडा कार्यालयको तथ्यांक छ । छबिसपाथीभेरा–५ को तथ्यांकअनुसार इरेढुंगा गाउँका ३ परिवार, जिबजेनी गाउँका ७ परिवार, पारिमेलाका ६ परिवार, सिकेभाड गाउँका ४ परिवार, धामीगाउँका २० परिवार र तल्लो थलाराका ७ परिवारले पहिलाको घर छोडेर विस्थापित भइसकेका छन् । उनीहरूमध्ये कतिपय पशुबस्तु राख्ने गोठमा बसिरहेको र कतिपयले सुरक्षित स्थानमा घर बनाएको वडाध्यक्ष लोकेन्द्र ठगुन्नाले बताए ।

‘२० भन्दा बढी ठाउँमा पहिरो सुरु भएको छ, पहिरोले घर जग्गामात्रै नभएर खानेपानी र सिँचाइका योजनाहरूमा पनि क्षति गरेको छ । ‘कुन गाउँमा कति बेला दुर्घटना हुने हो भन्न सकिने अवस्था छैन,’ वडाध्यक्ष ठगुन्नाले भने, ‘बस्तीहरू छियाछिया भएकाले पालिकाको प्रयासबाट मात्रै सबैलाई जोगाउन सकिने अवस्था छैन ।’ पहिरोमा भौंराँडाको खानेपानी, इरेढुंगा, घार्सी र गिरी खेल्ना सिँचाइ आयोजना पनि क्षति भएको उनले बताए ।

प्रकाशित : भाद्र १४, २०७८ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?