२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३७४

हिउँ चितुवा विज्ञ क्षेत्री कोषमा फर्किए

अब्दुल्लाह मियाँ

काठमाडौँ — विद्यावारिधि सकेपछि तोकिएको समयभित्र कार्यालयमा हाजिर नभएको भन्दै बर्खास्तीमा परेका मधु क्षेत्रीलाई राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले पुन: काममा फर्काएको छ । कोषको सञ्चालक समिति बैठकले उनलाई काममा फर्काएको हो । कोष अध्यक्ष कृष्णप्रसाद ओलीले अन्याय परेको बुझेपछि बैठकमार्फत क्षेत्रीलाई पुन: जिम्मेवारीमा फर्काइएको बताए ।

हिउँ चितुवा विज्ञ क्षेत्री कोषमा फर्किए

‘पीएचडी गरेकाहरूलाई हामीले नचिन्दा विगतमा पनि धेरै जना विदेश पलायन भएका छन्,’ ओलीले शनिबार कान्तिपुरसित भने, ‘उहाँलाई पनि विदेशबाट निकै बोलावट भएको रहेछ, तर अन्यायमा परेका हिसाबले न्याय दिनुपर्छ भनेर उहाँलाई यहीं जिम्मेवारी दियौं ।’

बिदा सकिएपछि कार्यालयमा हाजिर नभएका हिसाबले प्रशासनिक स्पष्टिकरणबाहेक उनीमाथि अरू कारबाही गरिएको थिएन, त्यसैले एनटीएनसीले जुनसुकै बेला उनलाई काममा फर्काउन सक्थ्यो ।

स्रोतका अनुसार कोषले क्षेत्रीलाई केही दिनभित्रै गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जीक्याप) को आयोजना प्रमुख बनाएर पठाउँदै छ । गौरीशंकरमा पनि हिउँचितुवा देखिएको छ । नरेन्द्र लामाले राजीनामा दिएपछि त्यहाँ आयोजना प्रमुख पद रिक्त छ । दोलखा, सिन्धुपाल्चोक र रामेछापमा फैलिएको गौरीशंकर क्षेत्र कोषले नै व्यवस्थापन गर्दै आएको छ ।

२०७६ असोज पहिलो साता क्षेत्री जागिरबाट बर्खास्त भएका थिए । कोषकै सहमतिमा उनी हिउँचितुवामा विद्यावारिधि गर्न नर्वे गएका थिए । उनले नेपालका हिउँचितुवाको घनत्वबारे विद्यावारिधि गरेका छन् । अध्ययन सकेपछि कार्यालय फर्किएका उनलाई बिदाको म्याद नाघेको भन्दै कोषका तत्कालीन सदस्यसचिव एवं वन तथा वातावरण मन्त्रालयका सहसचिव यज्ञनाथ दाहालले हाजिर गर्न दिएका थिएनन् । कार्यालयलाई जानकारी नदिई धेरै समय विदेश बसेको आरोप उनलाई लगाइएको थियो ।

तीनवर्षे अध्ययन बिदाको अवधिमा विद्यावारिधि नसकिएपछि थप समय मागेको र त्यही बीचमा बिरामी परेको कोषलाई जानकारी गराएको क्षेत्रीले त्यतिबेला जिकिर गरेका थिए । तर तीन वर्षभन्दा बढीको बिदा स्वीकृति नभएको भन्दै कोषले उनलाई हटाइएको पत्र थमाएको थियो । क्षेत्री पूर्वस्वीकृत अवधिभन्दा ६ महिना बढी विदेशमा बसेका थिए ।

कोषले सन् २०१५ मा संस्थागत रूपमा सम्झौता गरेर क्षेत्रीलाई नर्वेस्थित ‘इनल्यान्ड नर्वे युनिभर्सिटी अफ अप्लाइड साइन्सेज्’ मा विद्यावारिधि गर्न सहमति दिएको थियो । उनले अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्रमा हिउँचितुवाको घनत्वलाई मूल विषय बनाएर अध्ययन पूरा गरेका हुन् ।

उक्त विषयमा विद्यावारिधि गर्ने उनी पहिलो नेपाली हुन् । अहिलेसम्म हिउँचितुवामा दुई जनाले विद्यावारिधि गरेका छन् । हिउँचितुवामा विद्यावारिधि गरेका सोम आले अमेरिका बसेर काम गर्छन् । सरकारले हिउँचितुवाको अध्ययनको काम गरिरहेकाले अनुसन्धानमा क्षेत्रीको भूमिका महत्त्वपूर्ण हुने विज्ञहरूको अपेक्षा छ ।

क्षेत्री सन् २०१८ को डिसेम्बरमा विद्यावारिधि सकेर काठमाडौं आएका हुन् । कोषमा कार्यरत रविन कडरिया र बाबुराम लामिछानेलगायतले पनि कोषकै नियमअनुसारको बिदामा बसेर विद्यावारिधि पूरा गरेका थिए । उनीहरू काममै फर्केका छन् । कडरिया कोषको बर्दिया कार्यालय र लामिछाने सौराहामा कार्यरत छन् ।

यो पनि पढ्नुहोस्ः

विद्यावारिधिपछि हिउँचितुवा विज्ञको जागिर गयो

प्रकाशित : भाद्र १३, २०७८ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?