कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

के गर्दै छन् सीके राउत ?

६ महिनापछि हुने स्थानीय चुनावमा बलियो उपस्थिति जनाउन तल्लो तहसम्म संगठन विस्तार गर्ने र मधेसको विकासमा युवालाई समेट्ने रणनीति
पुराना माग र मुद्दा छाडेर मूलधारको राजनीतिमा आएपछि मधेसमा जनमत पार्टीप्रति आकर्षण झन् बढेको दाबी
भूषण यादव

वीरगन्ज — अमेरिकाबाट फर्केका इन्जिनियर सीके राउतले पृथकतावादी नारा दिँदै तराई–मधेसमा अभियान चलाउँदा सबैलाई झस्काएको थियो । गैरसंवैधानिक गतिविधिका कारण उनी र उनका कार्यकर्ता पटकपटक पक्राउ पर्दै छुट्ने गरेका थिए । राउत आफैं झन्डै ५ महिना हिरासत बसेपछि सरकारसँग सहमति गरेर मूलधारको राजनीतिमा आए ।

के गर्दै छन् सीके राउत ?

२०७५ फागुन २४ मा खुला राजनीतिमा आएपछि उनको समूह मधेस राजनीतिको तेस्रो धार बन्न सक्ने आकलन गरिएको थियो । तर पछिल्लो समय राउत खासै चर्चामा छैनन् । राष्ट्रिय राजनीतिका मुद्दामा पनि उनका क्रिया–प्रतिक्रिया उति सुनिँदैनन् ।

साढे दुई वर्ष अगाडि सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरेका राउतले सिरहाको लहानमा राष्ट्रिय परिषद् बैठक गरेर आफ्नो नेतृत्वमा २०७५ चैत ४ मा जनमत पार्टी गठन गरेका थिए । त्यसअघि उनी स्वतन्त्र मधेस गठबन्धनका नाममा राजनीति गर्थे । जनमत पार्टी २०७६ जेठ ६ मा निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

उक्त पार्टीको गत चैत अन्तिम साता भएको महाधिवेशनले राउतलाई निर्विरोध अध्यक्ष चुनेको थियो । मूलधारमा आएपछि ओझेलमा परेको र पुराना कार्यकर्ताले पार्टी छाडेको चर्चा मधेसको राजनीतिक क्षेत्रमा भइरहेको छ । पहिले विखण्डनको पाठ रटाएका आफ्ना युवा पंक्तिलाई अहिले सम्झाउन राउतका लागि चुनौती रहेको विश्लेषकको बुझाइ छ । जनमत पार्टीका नेताहरू भने संगठन विस्तारमा केन्द्रित भइरहेको बताउने गरेका छन् ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले चुनाव नजिकिँदै गरेका पार्टीको आन्तरिक गृहकार्यमा आफूहरू लागेको बताए । ‘अबको ६ महिनापछि स्थानीय चुनावको वातावरण बन्न थाल्छ,’ कान्तिपुरसँग फोनमा महासचिव सिंहले फोनमा भने, ‘त्यसपछि अरू चुनाव पनि हुन्छन् । त्यहीअनुसार संगठनको तयारी भइरहेको छ । प्रत्येक जिल्लाको ग्रासरुट लेभलमा बुथ समिति निर्माण गर्ने अभियानमा केन्द्रित छौं ।’ उनले संगठन शुद्धीकरणसँगै पालिका र वडास्तरमा अधिवेशन गरिरहेको जानकारी दिए । ‘हामी लक्ष्यबाट विचलित भएका छैनौं,’ उनले भने ।

पुराना माग र मुद्दा छाडेर मूलधारको राजनीतिमा आएपछि जनमत पार्टीप्रति युवाको आकर्षण कम भएको टिप्पणीप्रति महासचिव सिंहले असहमति प्रकट गरे । ‘युवाको झुकाव अहिले पनि सीके राउतप्रति नै छ,’ उनले भने, ‘हामीसँग पढेलेखेका हजारौं युवाको जमात छ । केही मान्छेले दिग्भ्रमित गरेका मात्र हुन् ।’ मधेसमा विकासको राजनीतिक वातावरण युवाले नै तयार गर्ने उल्लेख गर्दै उनले भने, ‘हामीसँग विदेशमा पढेर, काम गरेर फर्केका युवा छन् । विदेशमै बसेका पनि छन् । ती युवाको भरोसाको केन्द्र सीके राउत हुन्, जनमत पार्टी हो ।

जनमत पार्टीका पूर्वकेन्द्रीय सदस्य सञ्जय साहले पुराना मुद्दा छाडेपछि कृपावाद हाबी हुनाले २०७७ जेठमा आफूलगायत ७ केन्द्रीय सदस्यले पार्टी छाडेको बताए । त्यतिबेला पार्टीको ३५ सदस्यीय केन्द्रीय समिति थियो । ‘जेलनेल भोगेका कार्यकर्तालाई पाखा लगाएर नातावाद र जातिवादका आधारमा कार्यकारिणी समिति निर्माण हुन थालेपछि हामीले राजीनामा दियौं,’ उनले भने, ‘ग्रासरुटमा काम गर्ने कार्यकर्ताको मूल्यांकन छैन । जनता राज ल्याउने नारा भए पनि गतिविधिचाहिँ अन्य पार्टीजस्तै छ ।’ उनले राउतले नेतृत्व गरेको अभियानमा आफू २०७१ सालमा सामेल भएको जानकारी दिए । २०७७ चैत २८ मा जनकपुरको बाह्रबिघामा जनमत पार्टीको प्रथम महाधिवेशन भएको थियो । २५ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनमा ४ हजार ५ सय प्रतिनिधिले मतदान गरेका थिए ।

गत वैशाख ९ र १० मा धनुषाको हारसर जीवन केन्द्रमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले जनमत पार्टीका आगामी निर्वाचन लक्षित प्रचारप्रसारका कार्यक्रम वडा स्तरसम्म चलाउने निर्णय गरेको थियो । निर्वाचन आयोगको मतदाता नामावलीमा नाम छुटेकाहरूको नाम दर्ता गराउने अभियान हरेक वडामा चलाइने निर्णय पनि गरिएको थियो । पार्टीका कार्यकर्ताले जनतामाझ पुगेर गाउँघर सरसफाइ कार्यक्रम, प्रभातफेरी, जनचेतनामूलक नाटकलगायत सञ्चालन गर्ने पनि उक्त पार्टीको निर्णय छ । हरेक वडाबाट कम्तीमा ३० जना स्वयंसेवकको सूची केन्द्रीय सचिवालयलाई उपलब्ध गराउन निर्देशनसमेत दिइएको थियो ।

जनमत पार्टीले स्थानीय तहको उपनिर्वाचनमा भाग लिएको थियो । तर कोही पनि विजयी हुन सकेनन् । महासचिव सिंहले भने उपनिर्वाचनमा सांकेतिक रूपले केही ठाउँमा वडा अध्यक्ष र एउटा गाउँपालिकामा अध्यक्ष पदका लागि पार्टीले उम्मेदवार खडा गरेको बताए । ‘पार्टी बनेको केही महिना मात्र भएकाले जित हासिल गर्न सकिएन,’ उनले भने, ‘भोट भने राम्रो आयो । आगामी चुनावमा हाम्रो राम्रो उपस्थिति हुन्छ ।’

राजनीतिक विश्लेषक विनोद गुप्ताले तराई–मधेसका जनताले मूलधारकै राजनीतिलाई रुचाउने बताउँछन् । ‘सरकारसँग सहमति गरेर मूलधारमा आए पनि सीके राउतले अप्रत्यक्ष रूपले जनमतसंग्रहको माग गर्दै आएका छन्, त्यही भएर नरुचाइएका हुन् । मधेसका जनता नेपालको मूलधारको राजनीतिबाट अलग बस्न रुचाउँदैनन्,’ उनले भने । अमेरिकाको नासामा काम गरेर फर्किएकाले राउतप्रति एउटा तप्काको आकर्षण बढेको उनको बुझाइ छ । ‘नासामा काम गरेर आएकाले केही विशेषता होला भनेर पनि लगाव थियो, पढेलेखेका मानिसले राउतको राजनीति बुझिसकेका छन्,’ उनले भने ।

प्रकाशित : भाद्र १३, २०७८ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?