२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

प्रतिगमनका नाइके कम्युनिष्ट आन्दोलनबाट देखा परे : दाहाल

'अध्यक्ष र प्रधानमन्त्री पालो-पालो भन्ने सहमति थियो । तर त्यो त ओलीको ठगी धन्दा रहेछ ।'

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिस्ट आन्दोलनभित्रबाट प्रतिगमनका नाइके देखा परेको बताएका छन् । प्रतिनिधिसभा विघटनलाई प्रतिगमनकारी कदम भनेका उनले स्थायित्वका लागि गरेको कम्युनिस्ट एकताले पूर्णता पाउन नसकेको बताए ।

प्रतिगमनका नाइके कम्युनिष्ट आन्दोलनबाट देखा परे : दाहाल

वाईसीएलको राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै दाहालले विगतमा कांग्रेसले संसद्मा पूर्ण बहुमत प्राप्त गर्दा ५ वर्ष सरकार टिक्न नसकेको घटना यसपटक दोहोरिएको बताए । 'कम्युनिष्टहरूलाई एक ठाउँमा राखेमा स्थायित्व होला भन्ने ठानेर प्रस्ताव गरेको थिए । तर, दुर्भाग्य अगाडि जान सकेन,' दाहालले भने, 'अहिले भयानक प्रतिगमनको नाइकेहरू कम्यनिष्ट आन्दोलबाट देखा परे ।'

प्रतिनिधिसभा विघटनपछि देशव्यापी आन्दोलन गर्नुपरेको पनि दाहालको भनाइ थियो । प्रतिनिधिसभा पुनःस्थापना नभएको भए मुलुक र संविधान खतरामा जाने ठानेर सडक आन्दोलनमा उत्रिनुपरेको उनले बताए ।

अहिले ५ दलको सत्तारुढ गठबन्धन बनेको भन्दै त्यसलाई जोगाउन लागि पुर्नुपर्ने अवस्था आएको दाहालले बताए । 'अहिले गठबन्धन छ । ठूलो मिहिनेत र दुःखले बनेको गठबन्धन परिवर्तन र संविधानको रक्षाको निम्ती सुदृढ गर्नुछ,' उनले भने ।

दाहालले नेकपामा रहेका बेला माओवादीबाट गएका नेताहरू प्रताडित भएको बताए । उनले भने, 'तीन वर्षमा हामी प्रताडित भयौं । स्थायी समितिका नेताहरू प्रताडित भएका थियौं । एमालेको केपी प्रवृत्ति भन्या भन्ने एउटा गर्ने अर्कै रहेछ ।'

'अध्यक्ष र प्रधानमन्त्री पालो-पालो भन्ने सहमति थियो । तर त्यो त उनको ठगी धन्दा रहेछ । हामीलाई त तमसुकमा हेरेपछि त भयो भन्ने भयो,' दाहालले भने ।

ओलीले आफूसँग प्रधानमन्त्री र पार्टी अध्यक्ष आधा-आधा कार्यकाल रहने सहमति गरेर पछि हटेको दाहालले बताए । ओलीले भ्रष्टाचार गर्नेलाई संरक्षण गर्नका लागि 'म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ । गर्ने मान्छेलाई देख्न पनि सक्दिनँ' भनेको दाहालको भनाइ थियो ।

प्रकाशित : भाद्र १२, २०७८ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?