१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

वर्षाले फेरि डुबायो

३ को मृत्यु, ६ बेपत्ता, १ हजारभन्दा बढी घर डुबे, ठाउँ–ठाउँमा सडक अवरूद्ध
प्रदेश ब्युरो

काठमाडौँ — बिहीबार साँझदेखि लगातार वर्षा हुँदा तराईमा डुबान र पहाडी क्षेत्रमा पहिरोले धनजनको क्षति गरेको छ । पश्चिम नवलपरासी र दाङमा तीन जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् । पूर्वी नवलपरासी र सिन्धुलीमा चार जना बेपत्ता छन् । तराईका कतिपय जिल्लामा डुबानका कारण हजारौं विस्थापित भएका छन् । पूर्व पश्चिम राजमार्गलगायतका सडक अवरुद्ध हुँदा सयौं गाडी अलपत्र परेका छन् । 

वर्षाले फेरि डुबायो

पश्चिम नवलपरासीको रामग्राम–१८ मा बाढीले बगाउँदा ३७ वर्षीय विनोद पासी र उनका १३ वर्षीय छोरा प्रदीपको मृत्यु भएको डीएसपी राजु लामाले बताए । बाढीले बगाउँदा सुनवल–४ की १३ वर्षीया एलिसा तामाङ बेपत्ता छिन् । परासी, सुनवल, प्रतापपुर र सुस्तामा ७ सय घर डुबानमा छन् । स्थानीय तहसँग समन्वय गरेर उद्धार र राहतका काम गरिरहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए । ‘राजमार्ग अवरुद्ध भएको र पानीको सतह बढ्दा उद्धार र राहत वितरणमा समस्या भएको छ,’ उनले भने, ‘सुरक्षाकर्मीबाट उद्धारको प्रयास गरेका छौं ।’

पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा पाँच वर्षपछि झरही खोला पसेको छ । ठूलो पानी पर्दा सामान्य डुबान हुने भए पनि खोला बस्तीमा पस्ने स्थानीयले अनुमान गरेका थिएनन् । रामग्राम–४ की यशोदा चौधरीले बिहीबार मध्यराति घरमा बाढी पसेको बताइन् । ‘राति भएकाले अन्नपात र लत्ताकपडा जोगाउन सकिएन,’ उनले भनिन्, ‘एक्कासि पानी पस्यो, ज्यान जोगाउनै मुस्किल भयो ।’ घरमा अन्न नरहेको उनले बताइन् । ‘भोकै बस्नुपर्ने अवस्था आयो,’ उनले भनिन्, ‘बालबच्चालाई के खुवाउने !’

झरही खोलाको पानी पसेपछि जलमग्न भएको पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा डुंगामार्फत आवतजावत गर्दै नेपाली सेना । तस्बिर: नवीन पौडेल/कान्तिपुर

बिहीबार राति बाढी पसेपछि सदरमुकामका सयौं घर डुबानमा परेका छन् । बाढी प्रभावित स्थानीय विद्यालयमा छन् । जिल्ला प्रशासनका अनुसार सुनवल खकरीबारीमा १ सय ९६ घर डुबेका छन् । सुस्तामा नारायणी पस्दा ५० भन्दा बढी घर जलमग्न बनेको स्थानीयले बताए । नारायणी नदीको भेल तटीय क्षेत्रको थारूटोलबाट बस्तीमा पसेको सुस्ताका बाढी प्रभावित सामुदायिक भवनमा बसिरहेका स्थानीय मुन्सी कुँवरले बताए ।

रूपन्देहीको तिलोत्तमा, सिद्धार्थनगर, देवदह, लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी, ओमसतिया, सियारी, शुद्धोदन र मर्चवार क्षेत्रका तीन पालिकाका घरमा बाढी बसेको छ । सिद्धार्थनगर नगरपालिकाका अधिकांश क्षेत्र जलमग्न छन् । रोहिणी गाउँपालिकाका बस्ती र खेत जलमग्न छन् । घरभित्र पानी पसेर लत्ताकपडा, खाद्यान्न सबै डुबाएको रोहिणी–४ का ३२ वर्षीय अशोक जैसवालले बताए । ‘घरमै फेन्सी पसल थियो, सबै कपडा भिजे, किराना सामान बगायो,’ उनले भने, ‘ठेला रूखमा बाँधेर राखेको छु, परिवारैको बिजोग छ ।’ आमा, श्रीमती, दुई सन्तान र आफू घरबाहिर राखेको अग्लो मेचमा शुक्रबार साँझसम्म पालैपालो बसिरहेको उनले बताए ।

सीमावर्ती सम्मरीमाई गाउँपालिकाका अधिकांश बासिन्दा विस्थापित भएका छन् । शुक्रबार दिउँसो घर छाडेकाहरू सडकमा उभिएर घर र चौपाया हेर्दै आँसु पुछेको देखिन्थ्यो । झन्डै २ सय घर डुबान भएको स्थानीय विकासप्रसाद लोधले बताए । आफ्नो परिवारका १० सदस्यसहित तीन गाउँका बासिन्दा सडकमै उभिइरहेको उनले बताए । ‘पानी यति छ कि पसाउने बेलाको धान नै देखिँदैन,’ उनले भने, ‘घरभित्रबाट पानी कसरी हटाउने ? झन् पानी पर्‍यो भने कहाँ जाने ?’ बालबालिकाको बढी चिन्ता लागेको उनले बताए । तिलोत्तमा नगरका विभिन्न स्थानका घरमा क्षति पुग्नुका साथै कयौं डुबानमा परेका छन् । तिलोत्तमाकी कार्यवाहक नगरप्रमुख जागेश्वरदेवी चौधरीले घर भत्किएका परिवारलाई वैकल्पिक स्थानमा राख्ने र क्षतिको तथ्यांक संकलन गरी राहत उपलब्ध गराउने बताइन् । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले शुक्रबार नवलपरासीमा परेको भारी वर्षाले रूपन्देहीका रोहिणी र डन्डा खोलामा पानीको बहाव बढेको र त्यसको प्रभाव तटीय क्षेत्रका भैरहवा, रोहिणीमा देखिएको बताए । ‘बिहान ओमसतिया–४ मा डुबानमा रहेका एक सय घरका मानिसलाई उद्धार गरेका थियौं,’ उनले भने, ‘जिल्लाभरिबाट ३८ जनाको उद्धार गरेका छौं ।’ जिल्लाभर एक जना सर्वसाधारण डुबेको जानकारी भए पनि सनाखत नभएको उनले बताए । उनका अनुसार रूपन्देहीका २६ घरमा क्षति, ६८ वटा बंगुर, धेरै संख्यामा हाँस, १५ वटा कुखुरा बगाएको छ ।

कपिलवस्तुको वाणगंगा–११ ओदारीकी कला रेग्मी बिहीबार राति बिस्तरामै खुट्टा चिसिएपछि अचम्ममा परिन् । उठेर हेर्दा घरभित्रै भेल पसेको थियो । ‘हतारहतार दुई छोरीलाई उठाएँ, त्यतिबेला घुँडासम्म पानी भरिइसकेको थियो,’ उनले भनिन् । छोरीलाई लिएर छिमेकीको घरको छतमा गएर ज्यान जोगाएको उनले बताइन् । छिमेकी पवित्रा अधिकारी पनि घरभित्र बाढी पसेपछि ब्युँउझिइन् । ‘केही झिक्न पाइनँ, दुई छोरा र श्रीमान्लाई उठाएर भागें,’ उनले भनिन् । बिहान घर पुग्दा त टीभी र फ्रिज पानीमा तैरिइरहेको देखेको उनले बताइन् ।

कपिलवस्तुको वाणगंगा–११ ओदारीगाउँमा बिहीबार राति पसेको बाढी । वाणगंगाका मात्रै ७ बस्तीका ६० घर डुबानमा छन् । तस्बिर : मनोज पौडेल/कान्तिपुर

बिहीबार राति आएको बाढीले जिल्लाभरि एक सयभन्दा बढी घर डुबानमा परेका छन् । माटोका घर भत्किएका छन् । पर्खाल खसेका छन् । वाणगंगा नगरमा ६० घर डुबानमा परेका छन् । वाणगंगा–२, कलौनी र पिपरा आसपास, बोर्डगाउँ, बालापुर, धनेशपुर, गंगोलिया र बभनी ओदारी, मैरी, हथौसाका घर डुबानमा परेको इलाका प्रहरी कार्यालय पिपराका निरीक्षक दिनेश गुरुङले बताए । पानीले निकास नपाएपछि बस्तीमा पसेर क्षति गरेको हो । खेतबारीमा सिँचाइका लागि बनाइएका पुराना कुलो अतिक्रमण गरी प्लटिङ गर्दै घर बनाइएका कारण वर्षाको पानीले निकास नपाउँदा यस्तो समस्या भएको ओदारीका दयाराम चौधरीले बताए । कुखुरा फर्ममा पानी पसेर २ हजार २५ बोइलर कुखुरा मरेको प्रहरीले जनाएको छ ।

बाँके, राप्ती सोनारीको बुद्धचोकका गोलु चौधरी शुक्रबार बिहान ३ बजेतिर निद्रामै थिए । बाढीको हल्लाले निद्रा खुल्यो । घरमा बाढी पस्न सुरु भइसकेको थियो । परिवारका सबैलाई उठाएर घर छोडे । घर भत्कियो । अहिले उनीहरू छिमेकीको शरणमा छन् । ‘दुई दिनदेखि पानी परेको थियो तर यसरी बाढी आउला भनेर सोचेकै थिएनौं,’ उनले भने, ‘घरबाट केही निकाल्न पाइएन । अन्नपात सबै नोक्सान भयो ।’ वडा ४ कै हिरू मुकेरी, लटकनिया गाउँका आशाराम थारू, राजपुरका सुमन दमै र वडा ५ का प्रकाश गिरीको घर पनि बाढी पसेर भत्किएको छ । मोरगंवा खोला र जंगलबाट बगेर आएको खोलाको बाढी बस्तीमा पसेको हो । बाढीपीडित आशाराम थारूले घरभित्र कुमसम्म पानी जमेको बताए । ‘उज्यालो नहुँदै एक्कासि बाढी पसेकाले धेरै क्षति भयो,’ उनले भने । घर भत्किएपछि छिमेकीकहाँ परिवारसहित शरण लिएको उनले बताए ।

एकको मृत्यु, एक बेपत्ता

दाङमा बबईमा आएको बाढीले बगाउँदा शुक्रबार दंगीशरण–१ का ५० वर्षीय वामदेव देवकोटाको मृत्यु भएको छ । मलामी गएका उनलाई नुहाउँदै गर्दा बगाएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । देवकोटाको शव ५ सय मिटर टाढा फेला परेको थियो । बुधबार बेलुकादेखि हराइरहेका लमही–७ का ४५ वर्षीय सुन्दरराम चौधरी राप्तीमा बेपत्ता भएको आशंकामा खोजी भइरहेको छ । भैंसी चराउन गएका उनी साँझ नफर्केपछि बाढीले बगाएको शंकामा खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरो गएपछि शुक्रबार बिहानदेखि घोराही–होलेरी सडकखण्ड अवरुद्ध भएको छ । घोराही–१३ काभ्रेमा सडकमाथिबाट पहिरो आएका कारण सडक अवरुद्ध भएको छ ।

घर पुरिँदा ३ बेपत्ता

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा शुक्रबार पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चारघरेकी धनमाया पुलामी र उनका दुई नातिनी भूमिसरा र देउमायालाई सुतिरहेकै बेला पहिरोले पुरेको हो । प्रहरीले घटनास्थलमा उद्धार जारी राखे पनि साँझसम्म नभेटिएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् ।

पूर्वी नवलपरासीकै कावासोतीको पत्थर खोलाको बाढीले गोरसतीमा रहेको झोलुंगे पुल बगाएको छ । दुई वर्षअघि निर्माण गरिएको पुल बगाएको हो । सिँचाइका लागि बनाइएको बाँध र पुल बगाएको छ । ४२ लाख रुपैयाँको लागतमा उक्त पुल निर्माण गरिएको थियो । बाढी कावासोती–१७ को त्रिभुवन बाल माविमा पस्दा बालबालिकाका लागि १५ लाख रुपैयाँमा खरिद गरिएका खेलकुद र अध्ययन सामग्री बगाएको प्रध्यानाध्यापक दीपक घिमिरेले बताए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतको १८ लाख रुपैयाँको २ कोठे भवन निर्माणका लागि राखिएका ५० बोरा सिमेन्ट भिजेको छ भने छड बगाएर लगेको छ ।

राजमार्ग अवरुद्ध

गैंडाकोटको थुम्सी जंगलमा निर्माण गरिएको डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गमा यातायात आवागमन अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार थुम्सीको २३ स्मृति पुलको डाइभर्सन बिहीबार राति ८ बजे बगाएको हो ।

डाइभर्सन बगाउँदा राजमार्ग हुँदै पूर्वपश्चिम हिँडेका सयौं गाडी कावासोती, गैंडाकोट र चितवनमा रोकिएका छन् । वर्षा थामिए शनिबार साँझसम्म डाइभर्सन निर्माण हुन सक्ने प्रहरीले जनाएको छ । राजमार्ग विस्तारका क्रममा डाइभर्सन निर्माण गरिएको थियो । यस्तै दाउन्नेका ठाउँठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध छ ।

रातुको बाढी पस्दा ९ सय घर जलमग्न

लगातारको वर्षापछि महोत्तरीको रातु नदीमा आएको बाढी बस्ती पस्दा बलवा–४ को तिलगढ बस्तीका नौ सय घर ९ सय डुबानमा परेका छन् । बाँध भत्काएर बाढी बस्तीमा पसेको तिलगढका लक्ष्मण मण्डलले बताए । रातुमा आएको बाढीले बर्सेनि उक्त बस्ती प्रभावित हुने गरेको छ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले डुबानमा परेको बस्तीका जोखिममा रहेकालाई सुरक्षित स्थानमा सार्न प्रहरी, सशस्त्र र सेनाको टोली खटिएको बताएका छन् । रातुको बाढीले बर्दिवास–३ स्थित खोलाछेउको धान खेत पनि कटान सुरु गरेको छ । झन्डै १० कट्टा खेत खोलाले बगाइसकेको स्थानीय डोरमणि पौडेलले बताए । वर्षा भइरहे जलेश्वरसमेत डुबानमा पर्ने देखिएकाले सुरक्षा सतर्कता अपनाइएको छ ।

खोलाले बगाएर बेपत्ता, पहिरोले तीन घर पुरिए

सिन्धुलीको गोलन्जोर–२ बितिजोर ५० वर्षीय पुण्यबहादुर कार्की बितिजोर खोलाले बगाएर बेपत्ता छन् । कृषि औजार लिएर घर फर्किंदै गरेका उनलाई शुक्रबार साँझ तर्दै गर्दा खोलाले बगाएको स्थानीय डन्डबहादुर कार्कीले बताए । कमलामाई–११ फिटिङमा शुक्रबार बिहानै खसेको पहिरोले तीन घर पुरिएका छन् । सँगै जोडिएका अन्य ९ घर उच्च जोखिममा छन् । स्थानीय भीममाया वाइवाले भनिन्, ‘ओत लाग्ने त्रिपालसमेत छैन । पहिरो खसिरहेको छ, घरतिर जान सकिँदैन, कहाँ बस्ने के खाने केही थाहा छैन ।’ वाइवाकै बाबु चक्रबहादुरका दुई घर पहिरोले पुरेको छ । ‘लत्ताकपडा, अन्नपात केही झिक्न पाइएन,’ चक्रबहादुरले भने । पहिरो खस्दा लडेका रूख प्रहरीले काटेर हटाइदिएको छ । कमलामाई–७ एकपाखेमा पनि पहिरोले दुई घर जोखिममा परेका छन् । सिन्धुलीमाडी–चकमके सडकसमेत बगाउने गरी खसेको पहिरो घर नजिक पुगेको छ । वडा ४ को चिसापानी झोरामा समेत पहिरो खस्दा ४ घर जोखिममा छन् । अविरल वर्षापछि कमला, मरिण र चँदाहा खोलामा आएको बाढीले धानखेत कटान गरेको छ ।

कैलालीका सयौं घर डुबानमा, कर्णाली कटानले बस्ती जोखिममा

लगातारको वर्षाले कैलालीको दक्षिणपूर्वी भजनी नगरका बस्तीहरू डुबानमा परेका छन् । नगरप्रमुख शेरबहादुर चौधरीले सयौं घर डुबानमा परेको बताए । चुरेबाट दक्षिण बग्ने काडा, पथरैया र मोहना नदीमा आएको बाढी बस्तीमा पसेपछि तटीय क्षेत्रका बस्ती डुबानमा परेको हो । यस्तै जानकी गाउँपालिकामा करिब डेढ सय घर डुबानमा परेको अध्यक्ष प्रदीपकुमार चौधरीले बताए । उनका अनुसार वडा ४ मा करिब ८० घर र वडा ७ मा ५८ घर डुबानमा परेका छन् । स्थानीय गंगाराम चौधरीका अनुसार भजनी–२, ३, ५, ६ र ८ नम्बर वडाका करिब ५ सय घर डुबानमा परेका छन् ।

कैलालीको भजनी नगरपालिकामा बाढी बस्तीमा पसेपछि डुबानमा परेको क्षेत्र । तस्बिर सौजन्य : गंगाराम चौधरी

कर्णाली नदीको बहाव बढेर निरन्तर भइरहेको कटानले टीकापुरका ५, ७, ८ र ९ नम्बर वडाका बस्ती उच्च जोखिममा छन् । नदीमा जलस्तर बढेसँगै टीकापुर–५ शाहीपुरमा बनाइएको तटबन्ध भत्काउँदै लगेपछि कर्णाली नदी गाउँ पस्ने जोखिम बढेको छ । स्थानीय नैनसिंह थापाका अनुसार कर्णाली नदी बस्ती पसे धनजनको क्षति निकै अवस्था छ । टीकापुरको दक्षिणी भाग वडा ५, ७, ८ र ९ मा बढी जोखिम रहेकाले सतर्क रहन सूचना दिइएको टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घ ठकुल्लाले बताएका छन् ।

कर्णाली नदी नियन्त्रणका लागि टीकापुरको शाहीपुरमा एक वर्षअघि मात्र तटबन्ध बनाइएको थियो । कर्णालीले शाहीपुरमा कटान तीव्र बनाएपछि केही दिनअघि मात्रै सेना, प्रहरी र स्थानीयले परम्परागत तरिकाले नदी नियन्त्रणको प्रयास गरेका थिए । रानी जमरा कुलरिया सिँचाइ आयोजनाका इन्जिनियर निर्मल दाहालले भने, ‘पहिला कोठियातिरको भँगालोमा ६० प्रतिशत र टीकापुरतर्फको भँगालोमा ४० प्रतिशत पानी आउने हो, अहिले यसको उल्टो भएको छ ।’ यहाँका स्थानीय तहले नदीजन्य पदार्थ झिक्ने ठेक्का दिएपछि करिब ३० फिटसम्म खनेकाले कटान तीव्र भएर नदी गाउँ पस्ने खतरा बढेको स्थानीय सम थापाले बताए ।

दोदा र मोहनाको बाढी दर्जन बस्तीमा

चुरे क्षेत्रमा भएको अविरल वर्षापछि विभिन्न नदीमा आएको बाढीले कञ्चनपुरको दक्षिणी क्षेत्रका डेढ सय बढी परिवार विस्थापित भएका छन् । चुरे क्षेत्रबाट बग्ने आधा दर्जन नदीमा आएको बाढीले किनारका बस्तीहरू डुबानमा परेका हुन् । प्रहरीका अनुसार पुनर्वास–५ को सिमरी र वडा १० को पचगडियाको बस्ती डुबानमा परेका छन् । सिमरीमा ६० घर डुबानमा परेका छन् । ‘अहिले पनि घरभित्र तीन/चार फिट पानी भरिएको छ,’ इलाका प्रहरी कार्यालय पुनर्वासका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले भने, ‘सिमरीको पूरै बस्ती डुबानमा परेको छ ।’ दोदा नदीमा आएको बाढी बिहीबार रातिदेखि बस्ती पस्न थालेको हो । बाढीले हुलाकीलगायत अन्य सडकसमेत कटान गरेको छ । उक्त क्षेत्रका विस्थापितलाई विद्यालयमा राखिएको छ । चुरे क्षेत्रमा फेरि वर्षा भएर बाढी आएमा ठूलो क्षति हुन सक्ने प्रहरीले जनाएको छ । दोदा नदीकै बाढीका कारण लालझाडी गाउँपालिका २ र ३ को नन्द गाउँ, कन्ज, कसुजा र जाई पनि डुबानमा परेको छ । उक्त क्षेत्रमा पनि ६० बढी परिवार विस्थापित भएका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका– ५ सिमरीमा डुबानमा परेका घर । तस्बिर सौजन्य : धनबहादुर विक

बेलौरी–५ को रामनगर क्षेत्रमा पनि दोदा नदीको बाढीले ठूलो क्षति गरेको छ । बाढीले जमिन कटानसँगै दर्जनौं घरहरूसमेत डुबानमा परेका छन् । मोहना नदीको बाढीले कृष्णपुरको राजघाट र कैलालीको गेटा जोड्ने सडक अवरुद्ध भएको छ । वनहरा नदीको कटानले शुक्लाफाँटा–१० सिगास टोलको सुकुम्बासी बस्ती उच्च जोखिममा छ । ‘चुरेबाट बग्ने सबै नदीहरूमा बाढी आएर डुबान र कटानको समस्या देखिएको छ,’ झलारीस्थित सशस्त्र प्रहरीको ३५ नं. गणका एसपी वीरेन्द्र ऐरले भने, ‘थुप्रै बस्तीहरू सुरक्षित स्थानमा सारेका छौं ।’ वनहरा र मछेली नदी किनारको बस्तीलाई बिहीबार राति नै सुरक्षित स्थानमा सारिएको बताए । वर्षाका कारण महाकाली नदीमा पनि जलस्तर बढेको छ । यही बेला भारतले धौलीगंगाको बाँध पनि खोल नदीको जलस्तर बढेको छ । शुक्रबार दिउँसो महाकालीको बगरमा ९ जना मलामी बाढीमा परेका थिए । उनीहरूको उद्धार गरिएको एसपी ऐरले बताए ।

-नवीन पौडेल (परासी), सन्जु पौडेल (रूपन्देही), मनोज पौडेल (कपिलवस्तु), ठाकुरसिंह थारू (बाँके), दुर्गालाल केसी (दाङ), नारायण शर्मा (पूर्वी नवलपरासी), राजकुमार कार्की (सिन्धुली), सुनिता बराल (महोत्तरी), गणेश चौधरी (टीकापुर) र भवानी भट्ट (कञ्चनपुर)

प्रकाशित : भाद्र १२, २०७८ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?