कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एमाले विभाजनः कांग्रेस र माओवादी केन्द्रलाई राजनीतिक लाभ

०५४ मा एमाले विभाजनको फाइदा कांग्रेस र माओवादीले लिएको थियो । ०५९ मा कांग्रेस विभाजनको फाइदा एमाले र माओवादीलाई भयो । ०६९ मा माओवादी विभाजनको फाइदा एमाले र कांग्रेसलाई भयो । ०७८ मा भएको एमालेको यो विभाजनको फाइदा अब कांग्रेस र माओवादी केन्द्रले उठाउने छ ।
मणि दाहाल

काठमाडौँ — २०५४ फागुन २१ गते राजधानीको राष्ट्रिय सभागृहमा अनेरास्ववियु वाग्मती अञ्चल समन्वय कमिटीले कार्यक्रम गरेको थियो । महाकाली सन्धिको विषयमा चुलिएको मतभेदपछि एमालेबाट विभाजित भएका माले महासचिव वामदेव गौतम पहिलो पटक सम्बोधन गर्दै भनेका थिए– ‘विभाजन र विद्रोहले कमजोर मात्रै पार्दैन । शक्ति र उर्जा पनि दिन्छ ।’ 

एमाले विभाजनः कांग्रेस र माओवादी केन्द्रलाई राजनीतिक लाभ

झर्झराउँदो पार्टी छोडेर आएका कार्यकर्ताहरूलाई उत्साह भर्दै गौतमले त्यस समयमा भारतको विपक्षी दल भारतीय जनता पार्टी (भाजपा) लाई उदाहरणको रुपमा प्रस्तुत गरेका थिए ।

‘भाजपा स्थापना हुने वित्तिकै दुई स्थान मात्रै जितेको थियो । हामी त्यति कमजोर पनि छैनौं । चुनावमा राम्रो गर्दछौं’ गौतमको भनाइ थियो । कार्यकर्ता र स्थानीय निकायमा निर्वाचित ठूलोपंक्ति लिएर माले गठन गरेका उनले दुई वर्षपछि २०५६ मा हुने प्रतिनिधिसभाको चुनावमा राम्रै प्रदर्शन गर्न अपेक्षा गरेका थिए । तर, भइदियो त्यसको ठिक विपरित, चुनावमा मालेले खाता पनि खोल्न सकेन । प्रतिनिधि सभामा शून्य भएपछि तत्कालिन मालेमा निराशा बढ्न थाल्यो । पार्टी कमजोर हुँदै गयो, गौतम २०५८ सालमा बिनासर्त एमालेमा फर्किए ।

एमाले र मालेको मत विभाजन हुँदा बहुदल पुनःस्थापनापछि कांग्रेस दोस्रोपटक बहुमतका साथ सत्तामा पुग्यो ।

तत्कालीन प्रतिनिधिसभाका २ सय ५ स्थान मध्ये कांग्रेसले १ सय ११ जित्यो । जबकी २०५१ को मध्यावधी निर्वाचनमा पहिलो दल बनेको एमाले १७ स्थान गुमाउँदै ७१ स्थानमा खुम्चियो । एमाले सग्लै रहँदा २०५४ सालमा भएको स्थानीय तहको चुनावमा त्यो दलले ५२ प्रतिशत मत प्राप्त गरेको थियो ।

२०५१ सालको मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारले ल्याएका कार्यक्रमहरूका आधारमा जनता माझ बढेको लोकप्रियताको कारण चुनाव जित्ने एमाले पंक्तिको आंकलन थियो । तर कांग्रेस ३७ प्रतिशत मतका साथ पहिलो दल बन्दा एमालेको मत निकै घट्यो । एमालेले साढे ३१ प्रतिशत मत प्राप्त गरेको थियो । त्यसैगरी नेकपा मालेले साढे ६ प्रतशित मत प्राप्त गरेको थियो । त्यसबेलाको एमाले र माले मतलाई जोड्ने हो भने आमनिर्वाचनमा एमालेले स्पष्ट बहुमत ल्याउन सक्ने सम्भावना थियो । एमाले उपाध्यक्ष गौतमले पनि सार्वजनिक कार्यक्रममा यो विषयलाई पटक–पटक स्वीकार्दै आएका छन् । त्यसबेला एमाले विभाजनको प्रत्यक्ष फाइदा कांग्रेसले प्राप्त गरेको थियो ।

त्यो बेलाको एमाले विभाजनको फाइदा चुनावी रुपमा कांग्रेसलाई भयो । तर संगठनात्मक रुपमा त्यसको लाभ सशस्त्र विद्रोह सुरु गरेको माओवादीले लियो । राष्ट्रियता र जनजिविकाको मुख्य मुद्दा उठाएर पार्टी विभाजन गरेका गौतम एमालेमा फर्किंदा धेरैजसो नेता मात्र लिएर आए । कार्यकर्ताहरू अधिकांस माओवादी संगठनमा लागेका थिए । सिपी मैनालीले सानो समूहको नेतृत्व गर्दै नेकपा मालेलाई अघि बढाएपनि एमाले फर्किने निर्णयबाट असन्तुष्ट रहेकाहरू माओवादीमा संगठित हुन पुगे ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य हिमाल शर्मा शहरी क्षेत्रमा माओवादीको संगठन विस्तार गर्नका लागि मालेका कार्यकर्ताको महत्वपूर्ण भूमिका भएको बताउँछन् । उनी मालेको विद्यार्थी संगठनबाट विद्रोह गरेर माओवादीमा गएका थिए ।

‘मालेबाट माओवादीमा जाने हाम्रो समूह पहिलो थियो । अखिलको ३३ सदस्यीय केन्द्रीय कमिटीबाट १६ जना माओवादी गएका थियौं । त्यसपछि नै अन्य साथीहरू एमाले र मालेबाट आउनु भएको हो,’ शर्माले भने, ‘एमाले र माले नै गाउँमा केन्द्रीत माओवादी संगठन शहरमा पनि विस्तार भयो । त्यसले जनयुद्धलाई नयाँ उचाईमा पुर्‍यायो ।’ राज्यबाट मारिएका वा वेपत्ता बनाएका माओवादीमा एमाले र माले पृष्ठभूमिका नेताहरू धेरै रहेको शर्माको दाबी छ ।

त्यसो त विभाजन र अन्तरकलको फाइदा अर्को दलले उठाउन सक्ने स्थिति बनेको यो मात्र पहिलोपटक होइन । हरेक मुलधारका दल यो नियतिबाट गुज्रेका छन् । बहुदलीय व्यवस्था पुनर्स्थापनापछि पहिलोपटक २०४८ मा भएको आमनिर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याएको थियो । आन्तरिक कलहका कारण त्यसलाई जोगाउन सकेन ।

कांग्रेस भित्र ‘चौहत्तरे’ र ‘छत्तिसे’ को स्थिति देखापर्‍यो । त्यसैले २०५१ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभाको विघटन गरे । २०५१ साल कार्तिकमा भएको मध्यावधी निर्वाचनमा एमाले ठूलो दल हुनुमा टकनपुर समझदारीको विषय जति महत्त्वपूर्ण थियो, कांग्रेसभित्रको अन्तर विरोधले पनि त्यतिको भूमिका खेलेको थियो ।

अन्तरकहलको कारण बहुमत गुमाएको कांग्रेस २०५६ मा पुग्दा सम्हालिएको थियो । कांग्रेस कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेद्वार घोषणा गर्दै लडेको थियो । यो चुनावमा एमाले र माले विभाजनले पनि सहयोग पुगेको थियो ।

शान्ति प्रक्रियामार्फत मुलधारको राजनीतिमा आएपछि माओवादीको नियती पनि कांग्रेस र एमालेकै जस्तो भयो । २०६४को पहिलो संविधानसभा निर्वाचनमा माओवादी आफ्नै एजेण्डा मात्र नभई पार्टीको एकढिक्का भएको कारण पनि अत्यधिक सिट जितेर पहिलो पार्टी बनेको थियो । तर, पहिलो संविधानको कार्याकाल सकिंदै गर्दा माओवादीमा विभाजन आयो । मोहन वैद्य, नेत्रविक्रम चन्द, रामबहादुर थापा बादलसहितको समूह पुष्पकमल दाहालसँग अलग्गिएका थिए ।

२०७० मा भएको दोस्रो संविधानसभाको चुनावमा माओवादी निकै तल खुम्चियो । माओवादी विभाजनको फाइदा कांग्रेस र एमालेले लिए । तत्कालिन माओवादीलाई संविधान दिन नसकेको मुद्दा मात्र होइन, पार्टी भित्रको विभाजनले पनि माओवादीलाई दोस्रो संविधानसभा चुनाव भारी परेको थियो । २०७४ को चुनावमा भने एमाले र माओवादीको चुनावी गठबन्धनका कारण दुवै दलले विगतमा गुमेको आफ्नो शक्ति पुनः फिर्ता ल्याए । एमाले पहिलो दल बन्यो, माओवादी सम्मानजनक सिटका साथ प्रतिनिधिसभामा उपस्थित भयो ।

२०५४ सालको एमाले विभाजनमा कांग्रेस र माओवादीले फाइदा उठाएको देखिन्छ । त्यसको २४ वर्षपछि एमाले फेरि विभाजित भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोगमा नयाँ दल गठनका लागि दिएको निवेदनमा बुधबार सनाखत भएको छ । योसँगै एमाले विभाजनको प्रक्रिया पुरा भएको छ ।

अब फेरि एमालेको विभाजनले कसलाई कति फाइदा घाटा हुने हो त्यसको राजनीतिक वृत्तमा चर्चा सुरु भइसकेको छ । माओवादी केन्द्रका नेता राम कार्की तत्कालीन रुपमा फाइदा घाटा भएपनि एमाले विभाजनले दीर्घकालीन रुपमा कम्युनिस्ट आन्दोलन विघटनतर्फ जाने बताउँछन् ।

‘तत्कालीन रुपमा कसैलाई फाइदा वा बेफाइदा भन्ने होला । तर, नेपालमा कम्युनिस्ट आन्दोलन विघटनमा जान खोजिरहेको छ । त्यसैको एउटा अभिव्यक्ति हो । समग्रमा कम्युनिस्ट आन्दोलनलाई जोगाउने स्वाभाविक रुपमा नयाँ ढंगले सोच्ने हो भने नयाँ ढंगले सोच्नुपर्ने हुन्छ,’ कार्कीले भने, ‘अहिलेको फाइदा स्वाभाविक रुपमा कांग्रेसलाई हुने देखिन्छ । ऊ गणितीय फाइदामा जान्छ । कम्युनिस्टहरुमा जुन प्रकारका तिक्तताहरू बढेको छन् त्यसले गर्दा सहज रुपमा मिल्ने कुरा हुँदैन । अरुले जिते जितोस यसलाई हराउँछु भनेर लाग्छन् ।’

तर, धेरैकुरा नेपालले निर्माण गरेको नयाँ दलले कस्तो संगठनात्मक आकार लिन्छ त्यसमा पनि भरपर्छ । अहिले नेपाल करिब २० प्रतिशतको मात्र हाराहारिमा केन्द्रीय सदस्य र सांसदहरू लिएर नयाँ दल गठन गरेका छन् । नेपाललाई लामो समयदेखि साथ दिइरहेका दोस्रो पुस्ताका नेताहरूले साथ छोडेर एमालेमै बसेका छन् ।

त्यसैले अब एमालेको विभाजनले कस्तो आकार र कसलाई कति फाइदा हुन्छ त्यसको लेखाजोखा यसैवर्षको अन्त्यबाट हुने स्थानीय निकायको चुनावले एउटा संकेत दिनसक्छ ।

नर्थ वेस्ट कलेक्टिभका राजनीतिशास्त्री भाष्कर गौतम फाइदा घाटाको कुरा समयले देखाउने बताउँछन् । इतिहासमा भएका घटना जस्तो अहिले पनि विभाजनपछि त्यस्तै नतिजा नआउने उनको बुझाई छ ।

‘पार्टीका संस्थापक नेता यो समयमा आएर किन फुट्नुपर्‍यो ? पार्टी अहिलेसम्म कसरी चलिरहेको थियो र आन्तरिक समस्या के थियो भन्ने पक्ष महत्त्वपूर्ण हो,’ गौतमले भने, ‘इतिहासको भएका एकै प्रकृतिका घटनाका परिणाम एउटै हुँदैनन् भन्ने कुरा बिर्सिनु हुँदैन ।’

२०५४ साल र अहिलेको परिस्थिति फरक रहेको उनी बताउँछन् । ‘एउटा कम्युनिस्ट पार्टीले युद्ध गरिरहेको अवस्था थियो । लोकतान्त्रिक व्यवस्थाभित्र कम्युनिस्ट पार्टी कसरी सञ्चालन हुन्छ भन्ने विषयको परीक्षण हुन बाँकी नै थियो । अहिलेसम्म हेर्दा नेपालका कम्युनिस्ट पार्टीको मूल लडाईँ बहुदलीय व्यवस्थाको विरुद्धमा रहेन । त्यसैले अहिलेको बहस हिजोको ढर्राबाट बाहिर निस्कन आवश्यक छ,’ उनले भने ।

उनले अहिले बदलिएको र कम्युनिस्ट पार्टीलाई हेर्ने दृष्टिकोण पनि फेरिएको बताए । ‘यो बीचमा कम्युनिस्ट पार्टीले धेरैवटा चुनाव लडेको र आन्दोलनमा सहकार्य गरेको देखिन्छ । यही व्यवस्थाभित्र केही गर्न खोजेको अवस्था हो । तर, दुई तिहाइ बहुमत ल्याउँदा पनि पार्टी र देशको सही रुपमा नेतृत्व गर्न नसकेको अवस्थामा पार्टी फुटेको हो,’ गौतमले भने, ‘यो हिजोको सन्दर्भभन्दा धेरै नै फरक अवस्था हो । त्यसैले संस्थापन पक्षको बाहिर बसेर पार्टी बन्दैन भन्ने भाष्य नै गलत हो ।’

२०७४ सालको आमनिर्वाचनमा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन र पछि एकता हुँदा नेकपाले करिब दुई तिहाइ स्थान जितेको थियो । सात प्रदेश मध्ये ६ प्रदेशमा बहुमतको सरकार बनाउन सफल भएको थियो । गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाको कारण विभाजित भएपछि र एमालेभित्रको आन्तरद्वन्द्वको कारण केन्द्रमा मात्रै नभएर गण्डकी र लुम्बिनी प्रदेशको सरकार समेत गुमाएको छ । त्यसैगरी एमाले पूर्ण बहुमत रहेको वाग्मती र प्रदेश नम्बर एकको सरकार के हुन्छ भन्न सक्ने अवस्था छैन । गत निर्वाचनमा एमाले र कांग्रेसको समानुपातिकतर्फ केही हजार मात्रै फरक रहेको थियो ।

जसरी लोकतान्त्रिक व्यवस्थामाथि प्रहार भएको छ त्यसलाई लिएर आफूलाई सच्चाउने हो र गठबन्धनलाई कायम राख्ने हो अहिलेको सत्तामा रहेको शक्तिले नै चुनाव जित्ने गौतमले बताए । ‘गठबन्धनमा आपसी मतभेद भयो र नयाँ प्रकारको ध्रुविकरण भयो र समिकरण बदलियो भने मात्रै फरक चुनावी परिणाम आउने हो,’ गौतमले भने, ‘गठबन्धन कायम रह्यो भने माधवकुमार नेपाल नेतृत्वको दलले चुनावमा राम्रो गर्छ ।’


प्रकाशित : भाद्र ९, २०७८ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?