कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

आठमहिने छोरीसहित दम्पती मृत

कोरोना परीक्षणमा नेगेटिभ आएका दाजु साउदी उडे भने पोजिटिभ आएका रविन निराश भएर घर फर्किएका थिए 
अर्जुन राजवंशी

बिर्तामोड — रविन विश्वकर्मा दाजु चेतराजसँगै वैदेशिक रोजगारीका लागि साउदी अरब जान भनेर साउन अन्तिम साता घरबाट बिदा भएर काठमाडौं गएका थिए । वैदेशिक रोजगारीमा जाने सबै प्रक्रिया पूरा भएपछि साउन ३१ मा दाजुभाइले कोरोना परीक्षण गराए । दाजु चेतराजको नेगेटिभ र रविनको पोजिटिभ रिपोर्ट आयो ।

आठमहिने छोरीसहित दम्पती मृत

चेतराज भोलिपल्टै साउदी उडे, जान नपाउने भएपछि रविन गत मंगलबार जहाजबाट झापाको कनकाई–१ स्थित घर फर्किए । होम आइसोलेसनमा बसे । कोरोना संक्रमण भएको रिपोर्ट आए पनि उनको अवस्था सामान्य नै थियो । तर संक्रमणका कारण उनी जान नपाएको खुलेपछि घरमा आफन्त र गाउँलेको आउजाउ बन्द भयो ।

घरमा ३४ वर्षीय रविन, २९ वर्षीया श्रीमती मुना र ८ महिनाकी छोरी रुविना थिए । दुई दिनयता मुना पनि सामान्य बिसन्चो थिइन् । आइतबार बिहान रविनले खसीको मासु ल्याए । मुनाले पकाइन् । बिहान ११ बजेतिर उनीहरूले खाना खाए । दिनभरि घरमै बसे । बेलुका–बिहानकै मासुभात खाए । पानी परिरहेको थियो । नजिकै रहेकी काकीले पनि उनीहरूलाई ध्यान दिइनन् । सोमबार बिहान ८ बजेसम्म भतिजा रविन, बुहारी मुना र नातिनी रुविनाको आवाज नसुनेपछि काकी पम्फा विश्वकर्माले उनीहरूलाई बोलाउन थालिन् । घरको ढोका भित्रबाट लगाइएको थियो । निकैबेर बोलाउँदा पनि कसैको आवाज नआएपछि उनको मनमा चिसो पस्यो । छिमेकीलाई बोलाएर झ्यालबाट चिहाउन लगाइन् । भित्र तीनै जना झुन्डिएको अवस्थामा देखिए । प्रहरी आएर शव बाहिर निकाल्यो ।

रविन काठमाडौंबाट फर्किएको भोलिपल्ट झापा र मोरङका १५ जना युवक खोज्दै उनको घर आइपुगेका थिए । ती सबै वैदेशिक रोजगारीका लागि जाने तयारीमा थिए । रविनले दुबई र जर्मनी पठाइदिने भन्दै न्यूनतम ७० हजारदेखि एक लाखभन्दा बढीका दरले उनीहरूबाट पैसा लिएका थिए । हल्दिबारी–१ गोल्धापका राजकुमार निरौलाका अनुसार उनीसहितको टोलीलाई रविनले अगस्ट १९ (भदौ ३) मा दुबई पठाइदिने बचन दिएका थिए । दुबई जाने मिति नजिकिइसक्दासमेत कुनै खबर नआएपछि निरौलासहितको टोली खोजी गर्दै उनको घर पुगेको थियो । ‘घर पुगेपछि थाहा भयो उनलाई कोरोना पोजिटिभ भएको रहेछ । उनले हामीलाई ७ दिन पर्खिन आग्रह गरे,’ निरौलाले भने, ‘७ दिनपछि रिपोर्ट नेगेटिभ आउँछ होला अनि तपाईंहरू सबैको काम गरिदिन्छु भनेर हामीलाई भनेका थिए ।’

विश्वकर्मालाई आफूहरुले तीन हजार रुपैयाँको फलफूल र औषधि किनेर दिएको निरौलाले सुनाए । दुबई जान भनेर विश्वकर्मालाई आफ्नो, भिनाजु र अर्का एक साथीसहित तीन जनाको ७० हजारका दरले २ लाख १० हजार रुपैयाँ बुझाएको उनले बताए । गत बुधबारपछि रविनको घरमा दैनिक ५–६ जना युवक भेट्न आउने गरेको देखिएको छिमेकीले पनि बताएका छन् । ‘४–५ दिनदेखि लगातार मान्छेहरू आउँथे । कसैले कहिले विदेश पठाउने भन्थे, कसैले मेरो पैसा फिर्ता गर भनेर जान्थे,’ काकी पम्फाले भनिन् । रविनले तीन जना साथीसँग मिलेर मान्छे विदेश पठाउने काम गर्ने गरेको उनले बताइन् । ‘३०–४० जनासँग पैसा उठाएको छ भन्ने सुनिन्थ्यो । त्यत्रो पैसा के गर्‍यो हामीलाई केही थाहा भएन,’ उनले भनिन्, ‘व्यवहार बिग्रिएपछि थाम्न नसकेर यस्तो घटनाको बाटो रोजेको हो कि । नसोचेको घटना भयो ।’ घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष आचार्यले बताए ।

चार सन्तानसहित महिला बेपत्ता

ताप्लेजुङ– फक्ताङलुङ गाउँपालिका–४ इखावुकी एक महिला चार सन्तानसहित १३ दिनदेखि बेपत्ता छिन् । प्रहरीका अनुसार ३० वर्षीया सिर्जना लिम्बू राई साउन २६ को दिउँसोदेखि बेपत्ता भएको भन्दै उनका ससुरा तेजबहादुर राईले खोजतलासका लागि निवेदन दिएका छन् । सिर्जनासँगै ११ वर्षकी प्रमिशा, ९ वर्षकी मञ्जिल, ७ वर्षका सौजन्य र ५ वर्षकी जता राई बेपत्ता छन् ।

बलात्कारपछि हत्या आरोपित पक्राउ

पोखरा– सुस्त मनस्थितिकी किशोरीको बलात्कार र हत्या गरेको आरोपमा स्याङ्जाको हरिनास–६ चालिसेका ४५ वर्षीय खड्गबहादुर खवास पक्राउ परेका छन् । घटनाको १४ महिनापछि पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार सार्वजनिक गरेको हो ।

खवासले मादी–१० मकैखोला बस्ने १७ वर्षीया कोपिला परियारको बलात्कारपछि हत्या स्विकारेको प्रहरीको भनाइ छ । कोपिलाको शव सडेगलेको अवस्थामा २०७७ असार २५ मा मादी–११ मुखियाशेरको पातीघारीमा फेला परेको थियो । जनकल्याण माविको भवन बनाउने कामदारको रूपमा खवास गतवर्ष मकैखोला पुगेका थिए ।

प्रकाशित : भाद्र ८, २०७८ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?