कांग्रेसको निमन्त्रणामा नेपाल आएका भाजपा नेता चौथाइवाले राजनीतिक भेटघाटमा व्यस्त

काठमाडौँ — भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले सोमबार पनि राजनीतिक भेटघाट गरेका छन् । उनले सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई निवासमै पुगेर भेटवार्ता गरेका हुन् । 

कांग्रेसको निमन्त्रणामा नेपाल आएका भाजपा नेता चौथाइवाले राजनीतिक भेटघाटमा व्यस्त

कांग्रेसको निमन्त्रणामा चार दिने भ्रमणका लागि नेपाल आएका चौथाइवालेले आइतबार नै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटेका थिए । देउवा प्रधानमन्त्री भएपछि नेपालको आएका उनी नै पहिलो उच्चस्तरीय भारतीय नेता हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको निकटस्थ मानिएका चौथाइवालाको भ्रमणलाई त्यसैले पनि महत्त्वका साथ हेरिएको छ ।

यसअघि उनी ०७७ मंसिर तेस्रो साता नेपाल भ्रमणमा आएका थिए । तर, त्यसबेला उनको भ्रमणको संयोजन एमालेका नेता विष्णु पौडेलले गरेका थिए । आठ महिनाको अन्तरालमा पुनः नेपाल आएका चौथाइवालेको राजनीतिक भेटघाटले नेपाल–भारत सम्बन्धका विषयमा नयाँ धारणा विकास हुन सक्ने जानकारहरु बताउँछन् । सोमबारका भेटघाटका क्रममा चौथाइवालेले ट्वीट गर्दै नेपाल–भारत सम्बन्धका थुप्रै सकारात्मक विषयहरुमा छलफल भएको जानकारी दिएका छन् ।

चौथाइवालेसँग भेटवार्तापछि आइतबार प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र भाजपाका बीचमा आगामी दिनमा सुमधुर सम्बन्ध विकास हुने र त्यसले नेपाल–भारत सम्बन्धलाई थप उचाईमा पुर्‍याउन मद्दत पुग्ने बताएका थिए ।

यसपटक चौथाइवालेको नेपाल भ्रमणको संयोजन कांग्रेस सह–महामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले गरेका हुन् ।

‘अरु त्यस्तो खास कारण छैन । सभापतिज्यूसँगको भेटमा दुई पार्टीबीचको सम्बन्धलाई कसरी दुई देशको हितमा उपयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो,’ महतले भने, ‘उहाँलाई मैले नेपालको भ्रमणका लागि कांग्रेसका तर्फबाट निमन्त्रणा दिएको थिएँ । यही अवसरमा उहाँले अन्य राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि भेट्न चाहनुभएको हो ।’

देउवासँगको भेटवार्ताका क्रममा चौथाइवालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देशसमेत सुनाएका थिए ।

प्रकाशित : भाद्र ७, २०७८ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?