भ्यागुतालाई भात



काठमाडौँ — जनैपूर्णिमाका दिन कोही जनै लगाउन व्यस्त हुन्छन् त कोही रक्षाबन्धन बाँध्न । तराई क्षेत्रमा राखी बान्ने चलन छ । नेवारी समुदायमा 'गुँपुन्हि' मनाइन्छ । काठमाडौं उपत्यकाका कृषकहरू भने भात बाेकेर खेततिर लाग्छन् । त्यहाँ भात मात्र हुँदैन, नौ थरी गेडागुडी पनि हुन्छन् । अनि उनीहरूका पाहुना हुन्छन्– भ्यागुता । पातमा भात र क्वाँटी पस्किदिएर किसानहरू भ्यागुतालाई स्वागत–सत्कार गर्छन् ।

कृषकका साथी हुन् भ्यागुता । बालीमा लाग्ने कीराफट्याङ्ग्रा खाइदिएर यिनले खेती सपारिदिन्छन् । भ्यागुताको महत्त्व पारस्थितिक प्रणालीमा पनि छ । त्यही प्रणालीअन्तर्गत भ्यागुता र किसानबीच सहयोग र सत्कारको यो शृंखला वर्षौंदेखि निरन्तर छ ।
काठमाडौं उपत्यकाको जनजीवन अघिल्लो पुस्तासम्म लगभग कृषिमै आश्रित थियो । सांस्कृतिक अध्येता सुमनविलास वज्राचार्य भ्यागुताले उपत्यकाका कृषकलाई ठूलो सहयोग गरेको बताउँछन् । उनका अनुसार भ्यागुता र कृषकको यही सम्बन्धसँग जोडिएको एउटा किंवदन्ती पनि छ । किंवदन्ती यस्तो छ–
एक समय गाउँमा राक्षस आएपछि किसानहरू घरबाहिर निस्कन सकेनन् । खेतीपाती ठप्प भयो । कृषकहरूलाई खेतमा नदेखेपछि भ्यागुतालाई खसखस पर्यो । बुझ्दै जाँदा उसले गाउँमा नरभक्षी राक्षस आएकाले किसान घरमै थुनिएको र त्रासले बाहिर निस्कन नसकेको थाहा पायो । उसलाई चिन्ता पर्यो– अब कृषकहरूलाई कसरी यो समस्याबाट निकाल्ने ।
त्यही बेला उसले नजिकैबाट राक्षस हिँडिरहेको देख्छ । किसानलाई नभेटेपछि राक्षस भोकले आकुलव्याकुल हुन्छ । भ्यागुताले उसलाई जिस्काउँदै भन्छ– राक्षस मलाई खान्छस् त ? आफूलाई जिस्क्याएको थाहा पाएपछि राक्षसले उसलाई लखेट्न थाल्छ । भ्यागुतो उफ्रँदै खेतको दलदलतिर लाग्छ । पछ्याउँदै गएको राक्षस त्यही दलदलमा फस्छ । त्यहाँबाट उम्कन सक्दैन । राक्षस कब्जामा परेपछि भ्यागुतो गाउँ जान्छ र किसानलाई खुसीको खबर सुनाउँछ ।
कृषकहरू आफ्नो प्राण बचाइदिने भ्यागुताप्रति कृतज्ञ हुन्छन् । त्यही खुसीमा भ्यागुतालाई भात, क्वाँटीलगायत मिष्टान्न खुवाउँछन् । त्यही समयदेखि हरेक श्रावणशुक्ल पूर्णिमाका दिन उपत्यकाका कृषकले भ्यागुतालाई खाना खुवाउने गरेको यो किंवदन्ती प्रचलनमा बसेको हो ।
नेवार समुदायले यो पर्वलाई 'ब्यांजा नकेगु' भन्छन् । नेवार संस्कृतिका जानकार मल्ल के सुन्दरका अनुसार नेवारी भाषामा 'ब्याँ' को अर्थ भ्यागुता, 'जा' भनेको भात र नकेगु भनेको खुवाउने हो । भ्यागुताको सम्मानमा यो पर्व मनाइने गरिएको उनले बताए । यो पर्व यही दिन किन मनाइन्छ त ? उनले भने, 'प्रायः हाम्रा परम्पराहरू कि संक्रान्ति, पूर्णिमा, अष्टमी वा एकादशीका दिन मनाइने गरिन्छ । त्यस बेला पुण्य प्राप्ति हुने सम्झिएर पूर्णिमाको दिन मनाउन थालेको हुनुपर्छ ।' उनले यो पर्व भ्यागुताप्रतिको सम्मान मात्रै नभएर प्रकृति र पारिस्थितिक प्रणाली संरक्षणका लागि पनि महत्त्वपूर्ण रहेको बताए ।
भ्यागुता उभयचर प्रजाति हो । यिनीहरू हिउँदमा निष्क्रिय हु्न्छन् । हिउँद याममा निष्क्रिय भएर बस्ने प्रक्रिया नै सुषुप्तता (हाइबरनेसन) हो । जब गर्मीयाम सुरु हुन्छ तब तापक्रम पनि बढ्न थाल्छ । पानी पर्न थालेपछि उनीहरु बाहिर निस्कन्छन् । मनसुन सुरु भएसँगै यिनीहरुको प्रजनन प्रक्रिया पनि सुरु हुन्छ । बाली लगाउने मनसुनको समयमा हो । यस बेला यिनीहरूलाई चाहिने आहारा प्रशस्त हुन्छ ।
गत वर्ष गरिएको अनुसन्धानले काठमाडौं उपत्यकाभित्र १० प्रजातिका भ्यागुता देखाएको थियो । तर उपत्यकामा सडक विस्तारका कारण भ्यागुताहरूको वासस्थान र जीवनचक्र प्रभावित हुँदै गएको अनुसन्धानहरूले देखाउन थालेका छन् ।
भ्यागुता पृथ्वीमा २५० मिलियन वर्षअघिदेखि छन् । यिनीहरूलाई प्राकृतिक सूचकका रूपमा समेत लिइन्छ । भ्यागुता पृथ्वीमा नहुने हो भने जताततै किराको प्रकोप बढ्छ । । वासस्थान विनाश, रासायनिक प्रदूषणका कारण भ्यागुता लोप हुने अवस्थामा छन् । खेतमा रासायनिक मलको प्रयोग गर्दा यिनको संख्या घट्दो छ ।
गत वर्ष ग्लोबल इकोलोजी एण्ड कन्जरभेसन जर्नलमा प्रकाशित आलेखले काठमाडौं उपत्यकामा सडक विस्तारसँगै भ्यागुता पनि खतरामा पुगेको देखाएको थियो । उक्त अध्ययनले अध्ययनले ग्रामीण क्षेत्रमा ९ प्रजाति, सहरोन्मुख क्षेत्रमा ६ र सहरी क्षेत्रमा ५ प्रजातिका भ्यागुता भेटिएको देखाएको थियो ।
एमोल्पस फोरमसुस, नानवराना लेइबिग्गी र पोलिपडेट्स म्यागुलेट्स ग्रामीण भेगका वन क्षेत्रमा भेटिएको अध्ययनले देखाएको छ । सन् २००४मा प्रकाशित 'नेपालका उभयचरहरू' नामक किताबमा उपत्यकामा ११ प्रजातिका भ्यागुता भेटिएको बताइए पनि उक्त अनुसन्धानमा १० वटा प्रजाति मात्रै भेटिएको देखाएको थियो । यसअघि उपत्यकामा अभिलेख राखिएका 'दत्ताफेरनस माइक्रोटिमप्यानियम' र 'ओमबेराना सिकिमेन्सिस' प्रजातिको भ्यागुता पछिल्ला अध्ययनमा भेटिएका छैनन् ।
नेपालमा ६ वटा परिवारका ५५ प्रजातिका भ्यागुता पाइन्छन् । तीमध्ये काठमाडौंमा १२ प्रजाति पाइने यसअघिका अनुसन्धानहरुले देखाएका छन् ।
प्रकाशित : भाद्र ६, २०७८ १३:३१

























