कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

नयाँ दलले निर्वाचन आयोगबाट मान्यता पाएपछि मात्रै मन्त्रिपरिषद् विस्तार

काठमाडौँ — मन्त्रिपरिषद्‍ले पूर्णता पाउन अझै केही दिन लाग्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोग र संसद्‌मा माधवकुमार नेपाल नेतृत्वको नयाँ राजनीतिक दल दर्ताको प्रक्रिया सम्पन्न हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् ।

नयाँ दलले निर्वाचन आयोगबाट मान्यता पाएपछि मात्रै मन्त्रिपरिषद् विस्तार

देउवाले बिहीबार मन्त्रीपरिषद् विस्तार र सरकार सञ्चालनकै विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए ।

‘माधव नेपाल नेतृत्वको पार्टीको सनाखत भएकै दिन मन्त्रिपरिषद्‍लाई पूर्णता दिने समझदारी भएको छ ।अहिलेको परिस्थिति धेरै दिन राख्नु हुँदैन भन्ने गठबन्धनका नेताहरुबीच सल्लाह भयो,’ पुष्पकमल दाहालले एक पुस्तक विमोचन कार्यक्रममा भने ।

यस्तै कांग्रेस नेता मीन विश्वकर्माले माधव नेपाल नेतृत्वको दल दर्ताको प्रक्रिया पूरा हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताए । ‘उहाँहरुले दल दर्ताकालागि पेस गर्नुभएको छ, निर्वाचन आयोगबाट त्यसको प्रक्रिया टुंगिएपछि संसदमा पनि दर्ता हुन्छ । त्यसपछि मन्त्रीपरिषद् विस्तार हुने हो,’ उनले भने ।

निर्वाचन आयोगले नेपाल समूहले दिएको दल दर्ताको निवेदनमाथि अध्ययन गरिरहेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दलको विधान, विनियमावली, घोषणा–पत्र, चुनाव चिह्न लगायत कुराहरु संविधान र प्रचलित कानुन अनुकूल छ वा छैन ? अध्ययन गरेपछि पदाधिकारीको सनाखत गराइनेछ । र त्यसपछि मात्रै आयोगले दल दर्ताको निर्णय गर्नेछ । कानुनतः आयोगलाई यसरी अध्ययन गरी निर्णयका लागि ४५ दिनसम्मको समयावधि रहेको श्रेष्ठले जानकारी दिए । तर, त्योभन्दा अगावै गर्नलाई बाधा पर्ने छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार सम्हालेको ३७ दिन बितिसकेको छ । तर, अहिलेसम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । देउवाले ३० असारमा कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन तथा नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मालाई अर्थ र पुम्फा भुसाललाई ऊर्जामन्त्री नियुक्त गरेका थिए ।

महामारीका बेला स्वास्थ्यमन्त्री नै नभएको भन्दै आलोचना भएपछि उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका देउवाले गठबन्धनसम्बद्ध दलहरुको झमेलाका कारण मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन् । धेरैवटा मन्त्रालयमा राजनीतिक नेतृत्व नहुँदा सरकारले गति लिन सकेको छैन । नेपालको दल दर्ता भए सरकारको पक्षमा संसद्‌मा स्पष्ट बहुमत पुग्नेछ ।

प्रकाशित : भाद्र ३, २०७८ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?