२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

जो देश छाड्न चाहन्छन्

देवेन्द्र भट्टराई

काठमाडौँ — ‘आई एम लुकिङ फर अ न्यु कन्ट्री !’
अफगानिस्तानमा तालिवानी शासन सुरु भएपछि पुलित्जर पुरस्कार विजेता अफगानी फोटो पत्रकार मसुद होसैनीले मंगलबार ट्वीट गर्दै भनेका छन्, ‘म एउटा नयाँ मुलुक खोजिरहेछु ।’

जो देश छाड्न चाहन्छन्

त्यसपछि मसुदलाई क्यानडा, अस्ट्रेलिया, फ्रान्स, अमेरिका, भारत, स्विट्जरल्यान्ड, पाकिस्तान, साउदी अरबलगायत मुलुकमा रहेका साथी तथा शुभेच्छुकले आफ्ना देशमा आउन अनुरोध गरेका छन् ।

सन् २०११ को डिसेम्बर ६ मा काबुलस्थित एक मस्जिदमा आत्मघाती बम विस्फोट गराइएपछि १२ वर्षीया बालिका तराना अकबरी आक्रान्त भएर चिच्याएको तस्बिरका लागि मसुदले प्रतिष्ठित पुलित्जर पाएका थिए । उक्त विस्फोटमा ७० जनाको निधन भएको थियो । त्यतिबेला उनी एएफपीको फोटो पत्रकार थिए ।

काबुलस्थित बेलायती दूतावासमा दोभाषेका रूपमा कार्यरत रहँदै आएका ३७ वर्षीय फरिद अहमद रहमानी एक सातायता लुकीछिपी आफन्तका घरमा बस्दै आएका छन् । नेपाली कामदार, गोर्खा सैनिकसमेतका लागि दोभाषेको काम गर्ने रहमानीले काबुलबाट फोनमा कान्तिपुरसँग भने, ‘काबुलमा रहेका कुनै पनि विदेशी नियोगमा काम गर्ने हामी अफगानी साना–ठूला सबै कर्मचारीहरू तालिवान समूहको ‘टार्गेट’ मा छौं । मसहित बेलायती दूतावासमा काम गर्ने २० जना हामी अफगानीले बेलायतमा शरण लिने भएका छौं ।’

नेपाली स्पष्ट बोल्ने रहमानीका भनाइमा, एक महिनाअघि आफूलाई लक्षित गरेर तालिवानी लडाकुले चलाएको गोली उनको पाखुरामा लागेर सख्त घाइते भएका थिए । स्थानीय अस्पतालमा उपचार गरेर घर पुगेपछि पनि काबुलका विदेशी नियोगमा काम गर्ने सबैलाई तालिवानी जासुसले खोजीनितीको घेरामा राखिरहेकै कारण उनी घर छाडेर अन्य लुकीछिपी बसिरहेका छन् ।

‘अहिले त मेरो फोटो लिएर तालिवानका मान्छेहरू मलाई खोज्दै हिँडिरहेका रहेछन्, हिजो मात्रै म बसेको पल्लो घरबाट एक जना साधारण अफगानी युवकलाई आँखामा पट्टी बाँधेर कतै लगिएको रहेछ,’ उनले भने, ‘बाहिरी मिडियामा र अन्तर्राष्ट्रिय जगत्मा तालिवान सरकारले सबैलाई ‘एम्नेस्टी’ दिने भनिए पनि भित्रभित्रै प्रतिरोधमा जाने, अपहरण गर्ने र बेपत्ता बनाउने काम गरिरहेको छ ।’

काबुलमा रहेका २० भन्दा बढी दूतावास, अन्तर्राष्ट्रिय संस्था, राष्ट्रसंघीय निकायमा कार्यरत एक हजारभन्दा बढी काबुलवासी अफगानी नागरिक जीवनरक्षाकै चरणमा रहेको अर्का एक पत्रकारले बताए । एक अन्तर्राष्ट्रिय न्युज एजेन्सीमा काम गर्ने ती पत्रकारका अनुसार, विदेशी लगानीमा चलेको सामान्य गैरसरकारी संस्थामा समेत विगतमा कार्यरत अफगानी नागरिकलाई तालिवानले ‘टार्गेट’ मा राखेको छ ।

पछिल्ला ५ वर्ष काबुलमा बसेर पत्रकारिता गरेका पत्रकार सुबेल भण्डारीका अनुसार, बाहिरी मिडियामा र अन्तर्राष्ट्रिय जगत्मा जे–जसरी सहज सत्ता हस्तान्तरण र जे–जति सहज राजनीतिक स्थितिको हवाला दिइएको छ, त्यो शून्यप्राय: नै छ । हाल बैंककमा रहेका भण्डारीले बुधबार मात्रै आफूलाई स्थानीय होटलमा लुकेर बसिरहेका १० नेपालीले जीवनरक्षाका लागि अनुरोध गरेको र अरू थुप्रै कूटनीतिक नियोगमा काम गर्ने अफगानी वा विदेशी मूलका साथीभाइले उद्धार–समन्वयमा आवाज उठाइदिन अनुरोध गरिरहेको बताए ।

उनले नेपाल सरकारले कन्सुलर सेवा वा काबुलमा रहेका नेपालीको दर्ता प्रक्रियाबारे कदम चाले पनि यो संकटको घडीमा उद्धार–समन्वयका लागि नेपालको कूटनीतिक निकायको प्रत्यक्ष उपस्थिति जरुरी रहेको सुझाव दिए । सम्पर्कमा आएका नेपाली पनि आफैं अनलाइन फर्म भर्न वा काठमाडौंमा खबर गर्नसमेत असमर्थ रहेका उनले जनाए । कुनै भिसा, कागजात नरहेका र लामो समयदेखि काम पनि नपाइरहेका ती नेपालीको हालत बुझ्नै पनि मुस्किल परिरहेको उनले सुनाए ।

लस एन्जल्स टाइम्सका लागि लेख्ने पत्रकार मार्कस यमका अनुसार, काबुल विमानस्थल नजिकैको सडकमा बसिरहेका सयौं महिला, बालबच्चालाई मंगलबार तालिवानी सेनाले गरेको दमन र हिंसाजन्य व्यवहारको बाहिरी मिडियामा त्यति रिपोर्ट हुनै पाएन । ‘तालिवानी पक्षबाट सुराकी र खुफियाको काम एकदमै बढेको देखिन्छ, कतिसम्म भने विगतमा सञ्चारमाध्यमको कार्यालय रहेका भवनमा पनि खोजतलास सुरु भएको छ,’ क्यानडामा शरण पाएपछि देश छाड्ने क्रममा रहेका अर्का एक पत्रकारले भने ।

प्रकाशित : भाद्र ३, २०७८ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?