वाग्मती प्रदेश एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन- समाचार - कान्तिपुर समाचार

वाग्मती प्रदेश एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

मुख्यमन्त्री बन्‍ने बाटो खुला
कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एमाले वाग्मती प्रदेशको संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएकी छन् । एमाले संसदीय दलको बैठकले शाक्यलाई प्रदेश संसदीय दलको नेतामा चयन गरेसँगै शाक्य मुख्यमन्त्री बन्‍ने बाटो खुलेको छ ।

मुख्यमन्त्री डोरमणी पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई दलको नेता बनाइएको हो ।

हटौंडास्थित प्रदेशसभा सचिवालयमा बसेको एमाले प्रदेश संसदीय दलको बैठकले शाक्यलाई सर्वसम्त रुपमा दलको नेतामा चयन गरेको एक सांसदले जानकारी दिए ।

वाग्मती प्रदेशमा एमालेको स्पष्ट बहुमत रहेको छ । प्रदेशमा एमालेका ५६ जना सांसद छन् । १ सय १० सदस्यीय प्रदेशसभामा एक स्थान रिक्त रहेको छ । एमाले सांसद पशुपति चौलागाईंको निधन भएको कारण रिक्त रहेको छ । बहुमतका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रकाशित : भाद्र २, २०७८ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्

उत्तरी गोरखाको ५ हजार मिटर उचाइमा जताततै पहिरो

चीनको सीमा गाउँपालिका चुमनुब्रीमा मानवीय क्षति नगरेकाले धेरै पहिरो चर्चामै आएनन्
तिब्बत जोड्न सेनाले चुमनुब्रीतिर खनिरहेको बाटोसमेत कैयौं ठाउँमा पहिरोले अवरुद्ध
अब्दुल्लाह मियाँ

काठमाडौँ — तिब्बतसँग सीमा जोडिएका उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका छेकम्पार, सामागाउँ र बिहीलगायतमा विगतका वर्षमा मनसुन अवधिमै पनि खासै वर्षा हुन्थेन । भारी वर्षा नहुने भएकाले माथिल्लो क्षेत्रमा बाढीपहिरोका घटना मनसुन अवधिमा विरलै हुन्थे ।

यो वर्ष असार सुरुमै हिमाली क्षेत्रतिर सोझिएको मनसुनी वर्षाले वर्षका धेरै दिन हिउँले ढाक्ने चुमनुब्रीका विभिन्न बस्तीमा ठूला–ठूला पहिरो खसेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल उच्च हिमाली क्षेत्रमा भएको भारी वर्षाले बस्ती र गोरेटो–घोडेटो बाटोसँगै खेतीयोग्य जमिन क्षतविक्षत गरेको बताउँछन् । उनका अनुसार गत असार पहिलो साता मनाङ र मुस्ताङमा भारी वर्षा भएकै बेला उत्तरी गोरखाको पनि अवस्था उस्तै थियो ।

गोरखाको उत्तरी क्षेत्रको चुम नुब्री गाउँपालिकाको ५ हजार मिटरको उचाईका विभिन्न स्थानमा गएको पहिरो । तस्बिरहरु : राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण

‘मनाङमा तटीय क्षेत्रका बस्तीहरू वर्षापछिको भेलबाढीले सोहोरेको देखिन्छ,’ पोखरेलले मंगलबार कान्तिपुरसित भने, ‘त्यही बेला उत्तरी गोरखामा परेको भारी वर्षाले विगतमा क्षति नगरेको स्थिर भागसमेत बगाएको छ, रूखबिरुवा भएको क्षेत्रसमेत पहिरोले कोतरेको छ । एक सयभन्दा बढी घरलाई क्षति पुर्‍याएको छ ।’ धूपी र अन्य प्रजातिका रूखबिरुवा भएको क्षेत्रमा समेत चुरेमा जस्तो माटो बगेको देखिएको उनले बताए ।

सिन्धुपाल्चोक र मनाङमा भेलबाढीले मानवीय क्षति बढी भएकाले चर्चा पनि धेरै भए । गोरखाका उत्तरी बस्तीमा पहिरोले मानवीय क्षति नगरेकाले त्यहाँको समस्या सतहमा नआएको हो । जिल्लाको सबभन्दा विकटको चुमनुब्री गाउँपालिकाका धेरै बस्तीमा पहिरो आएपछि प्राधिकरणको टोली भूगर्भविद्लाई लिएर करिब दुई साताअघि उक्त क्षेत्रको अध्ययनमा गएको थियो ।

उत्तरी गोरखामा मनसुनले निम्त्याएको पहिरो अध्ययन गरेर फर्किएका भूगर्भविद् रञ्जन दाहालले विगतमा खासै वर्षा नहुने ५ हजार मिटर र त्योभन्दा बढी उचाइका बस्तीमा यो वर्ष भारी वर्षाकै कारण कैयौं पहिरो आएको बताए । दाहालका अनुसार माइनस १२ डिग्री सेल्सियसससम्म तापक्रम रहने उत्तरी गोरखाका बस्तीमा यो वर्ष जेठ अन्तिमतिर ५ डिग्री सेल्सियससम्म तापक्रम पुगेको बताए ।

‘लामो समय हिउँले ढाक्ने ठाउँमा अप्रत्याशित हिसाबले हिउँ पग्लिएको छ, तिनै ठाउँमा वर्षापछि माटो बगेको (सोयल इरोजन) छ,’ उनले भने, ‘हिमाली बस्ती सामागाउँसम्मै डेब्रिजहरू देखिन्छ, माथिल्लो क्षेत्रबाट हिलो मिसिएको धमिलो पानी बुढीगण्डकीमा बगिरहेको छ ।’ लार्केभन्ज्याङतिरबाट पनि धमिलो पानी बगेको छ । ‘विगतमा हामीले हिउँ पर्ने–जम्ने क्षेत्रमा पानी पर्दैन भनेर पढ्यौं, यो वर्षको मनसुनको चरित्र हेर्ने हो भने हिमाली क्षेत्रतिरै भारी वर्षा भएको देखिन्छ,’ दाहालले भने, ‘माथिल्लो तटीय क्षेत्रमा भारी वर्षा भयो भने त्यहाँको भूगोलले थेग्न नसक्ने पुष्टि भएको छ, अब त्यहाँका संरचना बनाउँदा एकदमै ख्याल गर्नुपर्ने हुन्छ ।’

गोरखाका ११ स्थानीय तहमध्ये सडकले नछोएको चुमनुब्री गाउँपालिका मात्र हो । उक्त गाउँपालिकामा साबिकका ७ वटा गाविस पर्छन् । आरुघाटमाथिको धार्चे गाउँपालिकामा पर्ने यारुबगरमा पहिरोले उत्तरी क्षेत्र जोड्ने गोरेटो बाटो बगाएपछि चुमनुब्रीसँगको सम्पर्क टुटेको छ ।

चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङका अनुसार मनसुनपछिको पहिरोले १, ३ र ७ नम्बर वडाका बस्तीमा सबभन्दा बढी असर गरेको छ । प्राधिकरणको पहलमा गाउँपालिकाले ३ नम्बर वडाको फिलिममा खाद्यान्न ढुवानी गरेर त्यसमाथिका बस्तीमा पुर्‍याएको छ । ‘पहिरोले झोलुंगे र काठे पुल बगाएको छ,’ गुरुङले भने, ‘घोडेटो बाटोसमेत नहुँदा आउजाउ मात्र होइन खाद्यान्न ढुवानी हुन सकेको छैन ।’ चुमनुब्रीका सबै बस्तीमा ढुवानीको मुख्य साधन हेलिकप्टरबाहेक खच्चड हो । तिब्बतसँग जोड्न सेनाले चुमनुब्रीतिर खनिरहेको बाटोसमेत कैयौं स्थानमा पहिरोले अवरुद्ध पारेको छ । पर्यटकीय गन्तव्यसमेत रहेको चुमनुब्रीका बासिन्दालाई कोभिड–१९ सँगै पहिरोले गाह्रो पारेको छ ।

धेरै ठाउँ पहिरो गएको र अझै खस्ने सम्भावना भएकाले माथिल्लो क्षेत्रका बासिन्दा थप अन्योलमा परेको अध्यक्ष गुरुङ बताउँछन् । ‘कैयौं स्थानमा क्षतविक्षत भएका बाटा कहिले बन्ने हुन् कुनै ठेगान छैन,’ प्राधिकरणले तयार गरेको भिडियोमा उनले भनेका छन्, ‘जसले गर्दा तलमाथि ओहोरदोहोर गर्न सकस भएको छ ।’

प्राधिकरणका कार्यकारी प्रमुख पोखरेल विगतका वर्षमा सामान्य सास मात्र फेरेर बसेको हिमालय पर्वत शृंखला घोडा दौडिएझैं दौडिन थालेको आभास देखिने गरी हुन थालेको बताउँछन् ।

सिन्धुपाल्चोकको मेलम्चीसहित गोरखाको माथिल्लो क्षेत्र, मनाङ र मुस्ताङको हिमशृंखला क्षेत्रमा जलवायु परिवर्तनको असरस्वरूप यसपटक भेलबाढी देखिएको उनले बताए । जलवायु परिवर्तनका कारण वर्षाको चरित्र बदलिनुका साथै त्यसले निम्त्याउने विपद्को अवस्थामा समेत व्यापक बदलाव आएको उनको मत छ ।

अर्का भूगर्भविद् शिव बाँस्कोटा यस्तो विपद्को कारण पहिल्याउन वैज्ञानिक अध्ययन गर्नुपर्ने तर्क गर्छन् । उनले भने, ‘पानी पर्ने प्रणाली नै बदलिएको छ, हिमक्षेत्रमा के कति पानी परिरहेको छ भन्ने बुझ्नका लागि उच्च भागमा मापन केन्द्रहरू विस्तार गर्नु आवश्यक छ ।’

भूगोलविद् नरेन्द्रराज खनाल ३ हजार मिटरभन्दा उच्च भागमा पहिरोको संख्या र क्षेत्र बढ्नुमा जलवायु परिवर्तनले निम्त्याएको तापक्रम वृद्धि नै मुख्य हुन सक्ने देखिएकाले विस्तृत अध्ययन गर्नुपर्ने जिकिर गर्छन् । ‘वर्षाकै कारण धेरै पहिरो निम्तिएको देखिन्छ,’ उनले भने, ‘किन यस्तो भइरहेको छ, वैज्ञानिक अध्ययन आवश्यक छ ।’

वर्षालगायतको मापन गर्ने आधिकारिक र वैज्ञानिक निकाय जल तथा मौसम विज्ञान विभाग हो । विभागका महानिर्देशक सरजुकुमार वैद्य उच्च हिमाली भागमा वर्षाको अवस्था मापनका लागि केन्द्र राखिए पनि चलाउन नसकिएको बताउँछन् । उनले भने, ‘तिब्बतसँग जोडिएका क्षेत्रमा छिनछिनमा मौसम बदलिरहने र तापक्रमसमेत कम हुने, महँगो हुने र अब्जर्भ गर्न नसकिने हुँदा मापन स्टेसन राखे पनि चलाउन गाह्रो छ ।’

प्रकाशित : भाद्र २, २०७८ १५:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×