अवैध बन्दुक छ्यापछ्याप्ती

स्थानीय प्रशासनको आग्रहलाई अटेर गर्दै राखिएका अवैध हतियारले ज्यान लिँदै
माधव अर्याल

पाल्पा — स्याल धपाउन पड्काएको भरुवा बन्दुकबाट गत शनिबार ३५ वर्षीय धनबहादुर लम्तरीले ज्यान गुमाए । रिब्दीकोट–६ ठिमुरेको तल्लोतालमा ५६ वर्षीय बाबु कर्णबहादुर लम्तरीले पड्काएको बन्दुकको छर्रा लागेर उनको मृत्यु भएको हो । घरदेखि सय मिटरनजिकै मकैबारीमा आएको स्याललाई हानेको गोली छोरालाई लागेको कर्णबहादुरले प्रहरीसमक्ष बयान दिएका छन् । 

अवैध बन्दुक छ्यापछ्याप्ती

अनुमतिबेगर बन्दुक राख्न पाइँदैन । तर यस्ता बन्दुकका कारण पाल्पामा तीन वर्षमा ५ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । पूर्वखोला–२ जल्पाका ४३ वर्षीय वीरबहादुर सारुले गोली हानेर आत्महत्या

गरेका थिए । घरमा रहेको बन्दुकले आफैंलाई हानेको दाजुले जाहेरी दिएपछि खुलेको थियो । त्यस्तै, ६ महिनाअघि भरुवा बन्दुक पड्केर रिब्दीकोट–८ फेक रानीवन चिलाउनेपानीमा १३ वर्षीय लक्ष्मण छहरीको ज्यान गएको थियो ।

डीएसपी रामेश्वर त्वातीका अनुसार साथीहरूसँग रैनादेवी छहरा–४ मा सिकार खेल्न गएका बेला आफैंले बोकेको बन्दुक पड्केर उनको मृत्यु भएको हो । समूहमा गएका उनीहरू मृग, कालिज मार्न गएको प्रहरीमा बयान छ ।

तिनाउ–६ मस्याममा बलबहादुर लम्तरीले बाँदर ठानेर गोली चलाउँदा ६२ वर्षीय धनबहादुर थापाको मृत्यु भएको थियो । यसअघि जिल्लाको पूर्वखोला–६ हेक्लाङमा पनि बाँदरलाई गोली हान्दा मान्छेको मृत्यु भएको थियो ।

यसअघि पनि भरुवा बन्दुक पड्केर, पड्काएर र जंगली जनावरलाई हान्दा मान्छेलाई लागेका घटना धेरै छन् । अझै अवैध हातहतियार गाउँमा प्रशस्त रहेको डीएसपी त्वाती बताउँछन् । ‘छरछिमेकबाट होस् वा सुराकीबाट थाहा पाउनासाथ भरुवा बन्दुक बरामद गर्ने गरेका छौं,’ उनले भने, ‘जानकारी पाएसम्म हामीले छाडेका छैनौं ।’ प्रहरीको तीन वर्षको तथ्यांकअनुसार ११ जनाभन्दा बढी भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।

बगनासकाली–४ महछापका २१ वर्षीय प्रेमबहादुर कनौजेलाई प्रहरीले दुई भरुवा बन्दुकसहित पक्राउ गरेको थियो । उनले लुकाइराखेको एक र अर्को बनाउँदै गरेको अवस्थाको बन्दुक प्रहरीले बरामद गरेको थियो । बगनासकाली–३ तल्लो सिञ्चास बस्ने हीराबहादुर सारुले तीन थान भरुवा घरमै लुकाएर राखेको फेला परेको थियो ।

निस्दी–३ झिरुवास मोहरियामा लालबहादुर विकलाई भरुवा बन्दुक र विभिन्न खरखजानासहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको घरबाट भरुवा र बन्दुक बनाउने फलामको चाप आठ, फलामको सिलिङकडी, फलामको ट्रेगरगार्ड, ट्रेगर, फलामको छर्रा, फलामको स्क्रुप, प्लास्टिकभित्र रहेको बारुद पनि बरामद भएको थियो ।

रैनादेवी छहरा–६ जुठापौवाका तिलक रास्कोटी र भुवनपोखरी छचुवाका गनबहादुर कुमाललाई पनि प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको थियो । कुमालको घरबाट बारुद १ सय ५० ग्राम, १८ वटा पटका, १ सय ९० ग्राम गन्धक र ५९ वटा छर्रा पनि बरामद भएको थियो ।

भुवनपोखरीकै भोजबहादुर खाम्चा र दीपेन्द्र खाम्चालाई भरुवा बन्दुक, बारुद, ढुंगाको छर्रा, केपसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । गोठमा राखेको भरुवा भेटिएपछि रामपुर–२ का हाकिमबहादुर थापा पक्राउ परे । गत वर्ष मात्र नौ स्थानमा भरुवा बन्दुकसहित स्थानीयवासी पक्राउ परेका थिए ।

प्रकाशित : भाद्र १, २०७८ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?