नेपालमा सम्भावनाको कमी छैन : अग्रवाल 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताएका छन् । 'कान्तिपुर इकोनोमिक समिट, २०२१' को पहिलो सत्र 'पैसा कहाँ छ ?' सेसनको वक्ता उनले कृषि, सूचना प्रविधि, पर्यटन, पूर्वाधार र म्यानिफ्याक्चरिङको क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताए । 

नेपालमा सम्भावनाको कमी छैन : अग्रवाल 

नेपालका कुनै पनि क्षेत्रमा लगानी गर्दा पनि त्यसको प्रतिफल राम्रो प्राप्त हुने अग्रवालको भनाइ थियो ।

कृषि क्षेत्रमा लगानी गर्दा पर्याप्त उत्पादन हुने र नाफा कमाउने सम्भावना रहेको उनले बताए । नेपालमा वर्षेनी अर्बौंको कृषि उत्पादन आयात गरिरहेकाले पनि यसको आन्तरिक र बाह्य बजार रहेको उनको धारणा थियो । कृषिमा प्रविधिको प्रयोग गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । कृषि नीतिमा परिवर्तन ल्याएर प्रविधिको प्रयोग गरी लगानी गरेमा सम्भावना प्रचुर रहेको उनले बताए ।

सूचना प्रविधिको क्षेत्रमा पनि नेपालमा त्यति धेरै काम नभएकाले लगानीको राम्रो सम्भावना रहेको अग्रवालले बताए ।

म्यानिफ्याक्चरिङको क्षेत्रमा सम्भावना हुनुको कारण नेपाल विश्वका दुई ठूला अर्थतन्त्र रहेका चीन र भारतको बीचमा अवस्थित हुनु रहेको पनि उनको भनाइ थियो । 'म्यानिफ्याक्चरिङको क्षेत्रमा ठूलो सम्भावना छ । भारत र चीनको बीचमा नेपाल हुनुको फाइदा हामी लिन सक्छौं,' उनले भने ।

नेपालमा लगानी गरेर विश्वका यी दुई ठूला बजारमा निर्यातको सम्भावना रहेको अग्रवालले बताए । उनले त्यसमा रहेका बाधा फुकाउनका लागि सरकारले भूमिका खेल्नुपर्ने सुझाव दिए ।

लगानीमा रहेका चुनौतीको सरकारले सम्बोधन गर्नुपर्ने अग्रवालको भनाइ छ ।

सार्वजनिक निजी साझेदारी (पीपीपी)को अवधारणा आइरहेको र त्यसलाई कार्यान्वयनमा लगेर गएमा लगानी बढ्ने र त्यसबाट प्राप्त हुने प्रतिफल पनि राम्रो हुने अग्रवालको बुझाइ थियो ।

पीपीपी अवधारणा संघीय निकायमा मात्रै नभएर स्थानीय र प्रदेश स्तरमा पनि लगेर सबैतिर लगानीको वातावरण बनाउन सकिने उनले बताए ।

त्यस्तै, पुँजी बजारमा पनि राम्रो सम्भावना रहेको अग्रवालले बताए ।

समग्रमा लगानीका क्षेत्रलाई सही दिशामा लगेमा नेपालमा लगानीको सम्भावना प्रचुर रहेको अग्रवालको भनाइ थियो ।

भिडियोः

प्रकाशित : श्रावण ३१, २०७८ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?