कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

मेलम्ची आयोजना प्रमुखविहीन 

दीपेन्द्र विष्ट

काठमाडौँ — सरकारले विकल्प नै तयार नगरिकन राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना प्रमुख रामकुमार श्रेष्ठलाई सरुवा गरेको छ । खानेपानी मन्त्रालय स्रोतका अनुसार प्रमुख एवं सहसचिव श्रेष्ठलाई गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको सचिवमा सरुवा गरेको हो । केही दिन अघि बसेको मन्त्रिपरिषद बैठक श्रेष्ठलाई सरुवा गरेको हो । 

मेलम्ची आयोजना प्रमुखविहीन 

‘बाढी बगाएर आयोजना अलपत्र अवस्थामा छ, विकल्प नै नदिइकन प्रमुखको सरुवा गरेको छ,’ स्रोतले भन्यो, ‘सरकारले समन्वय गरेर, चाँडो मेलम्चीको काम अगाडि बढाउन पर्नेमा प्रमुख नै सरुवा गर्दा पुरै आयोजनालाई असर पर्‍यो ।’

असार १ गते मेलम्चीमा आएको बाढीले बगाएका सरचनाको चाँडो निर्माण गरेर माघभित्र उपत्यका पानी ल्याउने प्रमुख श्रेष्ठले सरकारलाई कार्ययोजना बुझाएका थिए । तर, एकाएक सरुवा गर्दा आयोजना अन्योलग्रस्त अवस्थामा पुगेको छ ।

श्रेष्ठले विभिन्न चरणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिचाइँ तथा ऊर्जा मन्त्रालयलगायत मन्त्रालयसँग समन्वय गर्दै आएका थिए । ‘राष्ट्रिय गौरवको आयोजना बुझ्न नै ६ महिना भन्दा बढी लाग्छ,’ मेलम्ची आयोजनाका एक अधिकारीले कान्तिपुरसँग भने, ‘६/६ महिनामै प्रमुख परिवर्तन हुन्छ,अनि आयोजनाको काम कसरी अगाडि बढ्छ ? सचिवज्यूले यसमा अडान लिनु पर्ने हो, अडान लिएको जस्तो देखिएन, जसले सरुवा गरे अहिले त सरुवा गर्नेबेला होइन, सहयोग गरेर प्रोत्साहन गर्नु पर्ने हो, उल्टै नराम्रो सन्देश गयो ।’

मेलम्ची कहाँबाट कसरी सुरु गर्ने भनेर अन्योलता छाएको बेला विकल्प नै तयार नगरी सरुवा गर्दा सरकारको क्षमतामाथि नै प्रश्न उठेको ती अधिकारीले बताए । करिब ६ महिनाअघि सहसचिव श्रेष्ठलाई खानेपानी मन्त्रालय अन्तर्गतकै साना खानेपानी आयोजनाबाट मेलम्ची आयोजनाको प्रमुख बनाएको हो । श्रेष्ठले पनि आफ्नो सरुवा गण्डकी प्रदेशमा भएको जानकारी दिए ।

‘सरकारले जता खटायो उतै जानुपर्छ, मलाई नि गण्डकी प्रदेशमा सरुवा गरेको छ, भने जानकारी पाएँ अब उतै जान्छु’ उनले भने, ‘ कर्मचारीलाई जता सरकारले खटायो उतै जानुपर्छ ।’ खानेपानी मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले सरुवा भएको सुनेको मात्र भन्दै लिखितरुपमा पत्र नआएको जानकारी दिए । ‘हालसम्म पत्र आएको छैन, सरुवा भएको हो भन्ने आधार केही पनि छैन,’ उनले भने । हाल उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएका छन् ।

प्रकाशित : श्रावण २५, २०७८ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?