२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

दाहालले भने, ‘मनाङको अवस्था देखेर मन दुख्यो’

अवरूद्ध सडक र विद्युत् छिट्टै सञ्चालन हुने आश्वासन
आश गुरुङ

लमजुङ — बाढीपहिरो गएको २ महिनापछि पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितको टोली हिमाली जिल्ला मनाङ पुगेको छ ।

दाहालले भने, ‘मनाङको अवस्था देखेर मन दुख्यो’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसहितको टोलीलाई साथ लिएर शनिबार मनाङ पुगेका दाहालले मनाङको स्थिति हेरेर ‘मन दुखेको’ बताएका छन् । ‘बाढीपहिरोले यतिसाह्रै गरेछ भन्ने जानकारी यही आएर थाहा पाइयो । साह्रै मन दुखेको छ,’ चामेमा आयोजित छलफलमा उनले भने, ‘यो दुःख हामी धेरै हेर्न सक्दैनौं । जतिसक्दो चाँडो बाटो निर्माण हुन्छ ।’

जेठ १४ र ३१ गतेको बाढीपहिरोपछि मनाङ सडक सञ्जाल विच्छेद छ । मनाङमा विद्युत् सेवा पनि अवरुद्ध छ । विद्युत् सेवा अवरुद्ध हुँदा टेलिफोन तथा मोबाइल सेवासमेतमा समस्या छ । ‘हामी जनताका सबै समस्यालाई छिटो समाधान गर्न खोज्दै छौं । अहिले ५ दलीय गठबन्धनको सरकार छ । हामीमाथि विश्वास गर्नुहोला । हामी छिट्टै सडक बनाउँछौं, छिट्टै बिजुली बाल्छौं ।’

दाहाल र मन्त्री भुसालसहित प्रतिनिधिसभा सदस्य माओवादी केन्द्रका नेता देव गुरुङ, गुरुङ–पत्नी एवं संविधानसभा सदस्य यशोदा सुवेदी गुरुङ, पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङ, ऊर्जा सचिव देवेन्द्र कार्की, राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, सडक विभागका महानिर्देशक अर्जुन थापा, नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत हितेन्द्र शाक्य, ऊर्जा मन्त्रालयका सहसचिव कलानिधि पौडेलसहित १७ जनाको टोली नेपाली सेनाको हेलिकप्टरबाट मनाङ पुगेको थियो ।

सुरुमा मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङ पुगेको टोलीले अध्यक्ष कान्छा घलेलगायत जनप्रतिनिधि र स्थानीयसँग छलफल गरेको थियो । सदरमुकाम चामेमा प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने, गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहितका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेको थियो । ‘हामी यहाँको बाटो छिट्टै बनाउँछौं । विद्युत्को समस्या पनि छिट्टै समाधान गर्छौं,’ आश्वासन दिँदै ऊर्जामन्त्री भुसालले भनिन् । भत्किएका भौतिक संरचना निर्माणमा पनि सरकारले सहयोग गर्ने उनले बताइन् ।

नासों गाउँपालिका–९, दानक्युमा गाउँपालिका अध्यक्ष चन्द्र घलेसहितका जनप्रतिनिधि र स्थानीयसँग टोलीले छलफल गरेको छ । टोलीले निर्माणाधीन माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत् आयोजनाका चिनियाँ निर्माण कम्पनी तथा हिमताल हाइड्रोपावर कम्पनीका अधिकारीसँग पनि छलफल गरेको थियो । ‘टोली जिल्लाको वस्तुस्थिति बुझेर फर्क्यो । यसले मनाङको लाइफलाइनमा रहेको सडक छिट्टै बन्छ भन्नेमा विश्वस्त छौं,’ प्रमुख जिल्ला अधिकारी लामिछानेले भने ।

मनाङमा जेठ १४ र ३१ मा गएको बाढीपहिरोका कारण सडक अवरुद्ध छ । बेंसीसहरबाट मनाङको नासों–१, तालडाँडासम्म मात्रै सवारी सञ्चालनमा आएको छ । लघु जलविद्युत्हरू बगाउँदा विद्युत् अवरुद्ध छ । सडकमा बेलिब्रिज, गोरेटो तथा घोडेटोका झोलुंगे पुल बगाएको छ । हाल हेलिकप्टरमार्फत खाद्यान्नलगायत सामग्री ढुवानी भइरहेको छ । बाढीपहिरोका कारण एक हजार बढी विस्थापित भएका थिए । ७० घरमा पूर्ण क्षति पुग्नुका साथै २ सय बढी घरमा क्षति पुगेको मनाङ प्रशासनले जनाएको छ ।

प्रकाशित : श्रावण २३, २०७८ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?