कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बाढीले मेलम्चीको पानी आउने मिति सर्‍यो

बाढीको त्रास कायमै रहेकाले असोजपछि मात्र काम सुरु गरिने
दीपेन्द्र विष्ट

काठमाडौँ — मेलम्ची खोलामा आइतबार राति आएको बाढीले निर्माणाधीन सडक संरचना बगाएपछि मेलम्ची खानेपानी सम्पन्न हुने मिति थप अनिश्चित बनेको छ । हेलम्बुको क्युल क्षेत्रमा निर्माण भइरहेको करिब २ किमि सडक पछिल्लो बाढीका कारण क्षतिग्रस्त बनाएपछि मेलम्चीको पानी काठमाडौं पुर्‍याउने लक्ष्य प्रभावित भएको मेलम्ची खानेपानी आयोजना प्रमुख रामकुमार श्रेष्ठले जनाए ।

बाढीले मेलम्चीको पानी आउने मिति सर्‍यो

‘आयोजनालाई त खास क्षति पुर्‍याएको छैन,’ उनले भने, ‘तर हेलम्बु गाउँपालिकासँग समन्वय गरेर निर्माण भइरहेको बाटो ध्वस्त भयो । अब वर्षापछि मात्र काम सञ्चालन गर्ने कि भन्ने सोचाइमा पुगेका छौं,’ उनले भने । श्रेष्ठले प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिलाई बाढीबाट मेलम्ची खानेपानी आयोजनामा पुगेको क्षतिबारे जानकारीसमेत दिइसकेको बताए । आइतबार बसेको विकास समिति बैठकले मेलम्चीको थिल्लो क्षेत्रको भौगर्भिक अवस्थाको अध्ययन गरिदिन एसियाली विकास बैंक (एडीबी) लाई पत्राचारसमेत गरेको छ । ‘माघसम्म पानी ल्याउन हामीले कार्ययोजना बनाएका थियौं तर अब त्यो पनि पूरा नहुने भयो,’ उनले भने ।

यसअघि आयोजनाले असोज ७ गतेभित्र पहुँच मार्गको कार्य प्रारम्भ गर्ने, असोज १५ भित्र हेडवर्क्स क्षेत्रको ढुंगा, गिट्टी, बालुवा र माटो हटाउने, कात्तिक १५ भित्र अम्बाथान पोर्टल खुला टनेलको निरीक्षण गर्ने, पुसभित्र कफर ड्याम निर्माण सम्पन्न गरी माघ ७ भित्र पानी पथान्तरण गर्ने कार्ययोजना सरकारलाई बुझाएको थियो । असार १ मा मेलम्चीमा आएको बाढीले बजारदेखि हेडवर्क्ससम्मको करिब २१ किमिमध्येको ८ किमि सडक संरचना पूरै बगाएकाले त्यो रुटमा गाडी सञ्चालन हुन सकेका छैनन् ।

‘केही स्थानमा त सडक नामो निसान छैन,’ प्रमुख श्रेष्ठले भने, ‘तत्काल करिब ३० करोड रुपैयाँ सरकारले सडक निर्माणका लागि दिएमा सुरुङमा पानी हाल्न सकिन्थ्यो । सधैं बाढी आयो भने कसरी अघि बढ्ने भन्नेबारे छलफल गरिराखेका छौं ।’ पहिलोपटकको बाढीले आयोजनामा १ अर्ब ८८ करोड रुपैयाँ बराबरको क्षति पुगेको उनले जनाए ।

‘निर्माण सामग्री हेलिकप्टरबाट लग्ने कि भन्नेबारे पनि छलफल भइरहेको थियो । त्यो पनि अब नहुने भयो,’ उनले भने । सडक मार्गबाटै हेडवर्क्ससम्म सामग्री पुर्‍याउन मेलम्चीको पानीको सतह नघटेसम्म समस्या हुने भन्दै उनले कामदार पठाउनसमेत नसकिने जनाए । ‘त्यो क्षेत्रमा कामदारलाई कहाँ राख्ने भन्नेसमेत टुंगो लगाउन गाह्रो छ,’ उनले भने, ‘पहिलेका संरचना कुनै बाँकी छैनन् । अझै बाढी आउने आशंका उस्तै छ ।’ असार १ देखि भदौ अन्तिमसम्म आयोजनाका भौतिक संरचना मर्मत गर्ने भन्दै सुरुङमा पानी पथान्तरण नगर्ने निर्णय गरेको थियो ।

बाढीले बारम्बार परियोजना प्रभावित भएकाले मेलम्चीको पानी कहिलेसम्म काठमाडौं आउला भन्नेमा आयोजनाका अधिकारी नै अन्योलमा छन् । ‘हेडवर्क्स (बाँध), सुरुङ, सडक, पुललगायत मुहानको संरचना क्षतविक्षत अवस्थामा छ,’ मेलम्चीका एक अधिकारीले कान्तिपुरसँग भने, ‘सडक निर्माण भए एउटा खाका तयार हुन्थ्यो । सडक नै छैन । पानी यही मितिमा आउँछ भन्न निकै गाह्रो छ ।’ आयोजनाको पहलले मात्र केही नहुने भन्दै उनले राष्ट्रियस्तरबाट सोच्नुपर्ने बताए । अस्थायी रूपमा पानी पथान्तरण गर्न पनि तत्काल भौतिक तथा पूर्वाधार मन्त्रालय, नदी नियन्त्रणमा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सहयोग गर्नुपर्ने आयोजना प्रमुख श्रेष्ठको धारणा छ ।

प्रकाशित : श्रावण २१, २०७८ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?