कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

महामारीका फ्रन्टलाइनर : जसले मुस्ताङमा खोप तारेर जेनेभासम्म चर्चा पाए

बर्खामा उर्लिएको छाप्ताङबाट खोप तार्न लालबहादुर रोक्काले लगाएको जुक्तिले उनी चर्चित भए । डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले उनको प्रशंसा गर्दै जेनेभाबाट ट्वीट गरे । तर यो वाहवाहीबारे रोक्का भने निकै दिनसम्म बेखबर थिए ।
देवेन्द्र भट्टराई

काठमाडौँ — हिमालपारिको जिल्ला मुस्ताङको कोबाङस्थित स्वास्थ्य चौकीमा स्वास्थ्य सहायक काम गर्दै आएका २३ वर्षे लालबहादुर रोक्का रातारात ‘भाइरल’ बने । त्यो पनि जेनेभासम्म । यसको कारण एउटै थियो– लेते र कोबाङबीचको छाप्ताङ खोला बाढीले उर्लिएपछि रोक्काले कोभिड खोपका बट्टा तार्न अपनाएको उपाय ।

महामारीका फ्रन्टलाइनर : जसले मुस्ताङमा खोप तारेर जेनेभासम्म चर्चा पाए

खोलापारि थासाङ गाउँपालिकाका चालक गगन विक हातमा कोभिसिल्ड खोपको ‘सिलप्याक’ लिएर उभिएका थिए, खोलावारि रोक्का । हिउँदमा सुक्खा रहने खोला भए पनि असार १ गते बिहान छाप्ताङ पूरै बौलाएको थियो । असार १ मै कोभिसिल्ड खोपको दोस्रो डोज दिइने भनेर कोबाङ र टुकुचेका गाउँघरमा सूचना पुगिसकेको थियो ।


त्यो बिहान गाउँघरबाट खोपको दोस्रो डोज लगाउन भनेर ५५ वर्षमाथिका गाउँलेलाई स्वास्थ्य चौकीमा बोलाइएको थियो । घण्टौं हिँडेर गाउँलेहरू चौकीमा आउने क्रममा थिए,’ आइतबार काठमाडौंमा भेटिएका रोक्काले सुनाए, ‘त्यही बेला ठूलो पानी परेर बाढी उर्लियो । आफूसँग बर्सादी नभएकाले चौकीमा भेटिएको पुरानो पीपीई लगाएर म छाप्ताङ खोला पुगेको थिएँ । साथमा टुकुचे स्वास्थ्य चौकीका अहेव सविन खत्री पनि थिए । उता लेतेबाट खोप बोकेर गगन विक खोलापारि आइपुगेका थिए । अनि मैले उपाय लगाएर खोला किनारमा भेटिएको फलामे डन्डीमा अड्याएर खोप रहेको बक्स वारपार गराएको थिएँ ।’

काठमाडौंबाट पोखरा हुँदै जोमसोम आएको ‘कोभिसिल्ड’ मध्ये कोबाङका लागि ६४ र टुकुचेका लागि ४३ डोज ल्याउने जिम्मा रोक्का र खत्रीले पाएका थिए । यसरी, बर्खामाझ उर्लिएको स्थानीय पहाडी खोलापारिबाट खोप आफ्नो स्वास्थ्य चौकीसम्म ल्याउनैपर्ने बाध्यतामाझ रोक्काले लगाएको जुक्तिले उनलाई देश–विदेशमै चिनायो ।

कतिसम्म भने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले उनको ‘सहयोगी जुक्ति’ को प्रशंसा गर्दै जेनेभाबाट ट्वीट गरेका थिए । तर यो वाहवाहीबारे निकै दिनसम्म रोक्का भने बेखबर थिए । घरघरमा गएर संक्रमित हेर्ने वा अक्सिजन सिलिन्डर पुर्‍याउन जाने काममै उनी व्यस्त भइरहेका हुन्थे । ‘उता कोबाङ स्वास्थ्य चौकीमा सौरी, सिरकोम जस्ता टाढाका गाउँ (कालीगण्डकीपारि) बाट बुबाआमाहरू भेला भइसकेका थिए । तर खोप भने आइपुगेको थिएन,’ रोक्काले सुनाए, ‘त्यसरी मुस्किलले खोपलाई खोला तारेको दृश्य साथी सविन खत्रीले मोबाइलमा खिचेका रहेछन् । पछि स्थानीय टुकुचे स्वास्थ्य चौकीमा काम गर्ने एन्जेला थकालीले टिकटकमा राखेपछि पो त्यो भाइरल भएको रहेछ । त्यही भिडियोलाई गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पनि राखेपछि त्यसले अझै चर्चा पायो अनि मात्रै मैले थाहा पाएँ ।’

मुस्किलको घडीमा रोक्काले देखाएको ‘जोखिमको सहयोगी कामलाई’ सम्मान गर्दै बारबरा फाउन्डेसनले शनिबार मात्रै १ लाख रुपैयाँ राशिसहित पुरस्कृत गर्न काठमाडौं बोलाएको थियो । भिडियो भाइरल भएपछि टेकु अस्पतालबाट स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. झलक गौतमले रोक्कालाई फोनमै बधाई दिएछन् । ‘केही सहयोग चाहिएमा भन्नू,’ भनेर आडभरोस दिलाएछन् । त्यसपछि पोखरा, काठमाडौंतिरबाट पनि फोन आइरह्यो । पश्चिम रुकुमको सानीभेरी गाउँपालिका–११ का उनकी आमा शशिलीले पनि गाउँमै छोराले गरेको कामबारे थाहा पाइछन् । भारतको सिमलामा स्याउ टिप्न गएका बाबु जगवीरले पनि छोराको तरक्की पत्तो पाएछन् । कोबाङमा करार जागिरे बनेपछि अविवाहित रोक्का अहिलेसम्म रुकुम भने फर्कन पाएका छैनन् । कारण– कहिले कोरोनाले गाँज्यो, कहिले मुस्ताङको पहिरोले बाटो अड्कायो । यसरी चर्चित बनेका रोक्काको संघर्षको कथा भने अलग छ ।

सुर्खेतबाट स्वास्थ्य सहायक (एचए) पढाइ पूरा गरेपछि ३ वर्षअघि जागिर खोज्न उनी काठमाडौं आए । लोक सेवा आयोगको परीक्षा दिन आएका उनी कुनै उपाय नलागेपछि एक दिन फेसबुकमा देखिएको विज्ञापन हेरेर मुस्ताङको कोबाङस्थित स्वास्थ्य चौकी पुगेका हुन् । त्यही सूचनाका भरमा भिडेर उनले २०७६ फगुनदेखि स्वास्थ्य सहायकका रूपमा करारको जागिरे जिन्दगी सुरु गरे । बाबु जगवीर रोक्का र अरू दुई भाइ ज्यालादारी काम गर्न भारत पस्ने गरेका रोक्काले बताए । गाउँमा आमा र सानो भाइ मात्रै बस्छन् ।

बारबरा फाउन्डेसनबाट पुरस्कृत भएपछि आइतबार मात्रै उनले सिमलामा स्याउ टिपिरहेका बाबुलाई खुसीको खबर सुनाए । अनि रुकुम घरैमा बसेकी आमालाई पनि खुसी बाँडे । ‘छाप्ताङ खोला पुगेपछि म अलमलिएको थिएँ, खोला तर्न पनि सकिने अवस्थै थिएन । पारिपट्टि खोप लिएर साथी उभिएका थिए । तर अचानक जुक्ति आयो र त्यसले काम गर्‍यो,’ खुसी हुँदै रोक्काले भने ।

प्रकाशित : श्रावण १८, २०७८ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?