कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

खोप लगाउन जाँदा डुंगा पल्टियो : एकको मृत्यु, तीन बेपत्ता

टीकापुर, वीरेन्द्रनगर — कैलालीको मोहन्याल गाउँपालिका–३ रागाकी २२ वर्षीया धनसरी सलामी आइतबार बिहानै २४ दिनका छोरालाई खोप लगाउन स्वास्थ्य चौकी हिँडिन् । उनीसँगै गाउँका दुई महिला पनि पछि लागे । खोप लगाउन उनीहरू डुंगामा कर्णाली तरेर सुर्खेतको चौकुने गाउँपालिका–४ बिजौरास्थित स्वास्थ्य चौकी पुग्नुपर्ने थियो । आफ्नो पालिकामा खोप केन्द्र निकै टाढा पर्ने भएकाले उनीहरू सुर्खेतको बिजौरामा खोप लगाउन हिँडेका थिए ।

उनीहरू सधैंजस्तै कर्णाली तर्नका लागि डुंगा चढे, गाउँकै अरू ७ जना पहिल्यै डुंगामा थिए । अलिकति अघि बढ्नेबित्तिकै कर्णालीको उर्लंदो भेलमा अचानक डुंगा पल्टियो । नदीमा हेलिएर २२ वर्षीया धनसरीको मृत्यु भएको छ । २० वर्षीया पार्वती थापा, २२ वर्षीया उर्मिला सलामी र उनको १० दिनको बच्चा बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डुंगामा रहेका १० जनामध्ये दुई बालबालिका घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य चार यात्रु भने पौडिएर जोगिएका छन् ।

घाइते ४ महिने शिशु सुशान्त आलेमगर र मृतक धनसरीका छोरा कर्णको सुर्खेतको बिजौरा स्वास्थ्य चौकीमा उपचार भइरहेको मोहन्याल गाउँपालिकामा रहेको सुगरखाल प्रहरी चौकीका सई राजेन्द्र कुमालले बताए । घटनामा परेका सबै मोहन्याल गाउँपालिका–३ रागाका हुन् । उनीहरू सबै जना बालबालिकालाई नियमित खोपका लागि सुर्खेतको बिजौरा स्वास्थ्य चौकी जान लागेका थिए ।

उनीहरूको घरबाट कर्णालीमा डुंगा तरेर बिजौरा स्वास्थ्य चौकी जान करिब आधा घण्टा लाग्ने र कर्णालीमा रहेको झोलुंगे पुलबाट जाँदा करिब ३ घण्टा लाग्ने भएकाले चाँडो पुग्न डुंगाबाट गएको हुन सक्ने प्रहरी नायब निरीक्षक कुमालले बताए । मोहन्याल–३ को स्वास्थ्य चौकी फलेबिसौनामा छ । उनीहरूको घरबाट फलेबिसौनाको स्वास्थ्य चौकी आउन–जान दुई दिन लाग्छ । सुगरखालस्थित रहेको प्रहरी चौकीबाट घटनास्थल पुग्न करिब ५ घण्टा लागेको सई कुमालले बताए । ‘हामीलाई झोलुंगे पुल तरेर सुर्खेत हुँदै मोटरसाइकलबाट घटनास्थल पुग्न ५ घण्टा लाग्यो,’ कुमालले भने, ‘बेपत्ताको खोजी गरिरहेका छौं ।’

उक्त ठाउँमा स्थानीय दीपेन्द्र आलेमगर र विनोद सिंजाली मगरले काठको डुंगा चलाउने गरेका छन् । आइतबार बिहान पनि उनीहरूले यात्रुलाई कर्णाली तारेका थिए । डुंगा दुर्घटनालगत्तै आलेमगर र सिंजालीले नै गाउँलेको उद्धार गरेका थिए । धनसरीको शव पनि उनीहरूले नै नदीको कैलालीतर्फको किनारबाट निकालेका हुन् । मोहन्याल गाउँपालिकाको सबैभन्दा विकट रागाका बासिन्दा पञ्जीकरणबाहेक अन्य कामका लागि कर्णाली नदी जोखिमपूर्ण रूपमा तरेर सुर्खेतको चौकुने आउने गर्छन् । कर्णालीमा डुंगा पल्टिएर ज्यान गुमेको यो पहिलो घटना होइन । पुल अपायक हुँदा डुंगाको यात्रा गर्नुपर्ने बाध्यताका कारण बर्सेनि अकालमा मृत्युका घटना हुने गरेका छन् ।

प्रकाशित : श्रावण १८, २०७८ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?