लुम्बिनीमा सत्ता संकट : अदालतको आदेश पर्खंदै दलहरू- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुम्बिनीमा सत्ता संकट : अदालतको आदेश पर्खंदै दलहरू

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशमा सुरु भएको सत्ता परिवर्तनको खेल अदालतको आदेशमा अल्झिएको छ । पदमुक्त भएका सांसद पुनर्बहालीको माग गर्दै अदालत गएपछि सत्तापक्ष र विपक्षी गठबन्धन अदालतको आदेश पर्खेर बसेका हुन् । लुम्बिनी प्रदेशका पदमुक्त पाँच सदस्य पुनर्बहालीको मागसहित अदालत गएका छन् । 

सरकार पक्ष पदमुक्त भएका माओवादी केन्द्र र जसपाका सदस्यलाई पुनर्बहाली गराएर सरकार बचाउने कसरतमा छ भने विपक्षी गठबन्धन जसरी पनि सरकारमा जाने दाउमा छ । कांग्रेस मुख्य सचेतक फकरुद्दिन खानले प्रदेश प्रमुखलाई सरकार अल्पमतमा रहेको र अवैध भएको जानकारी गराए पनि तत्काल अविश्वासको प्रस्ताव नल्याएको बताए । ‘दुई–तीन दिन अझै कुर्छौं । मुख्यमन्त्रीबाट आफैं राजीनामा होस् भन्ने चाहेका छौं,’ उनले भने । माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले सांसदहरू अदालत गए पनि पुनर्बहाली हुने सम्भावना नभएको दाबी गरे । ‘यसैउसै विपक्षी गठबन्धनको सरकार बन्छ,’ उनले भने, ‘त्यसैले अहिले नहतारिएका हौं ।’

एमाले प्रवेश गरेका माओवादी केन्द्रका दुई सांसद मात्रै पुनर्बहाली भए पनि माओवादी केन्द्र रोजेकी विमलाकुमारी खत्री वलीलाई तानेर आफ्नो बहुमत पुर्‍याउने सरकारको योजना छ । सरकारका प्रवक्ता वैजनाथ चौधरीले अदालत गएका सांसदको टुंगो नलाग्दासम्म विश्वासको मत लिने र आफ्नो वैधता प्रस्तुत नगर्ने बताए । ‘हामी अदालतप्रति पूर्ण विश्वस्त छौं । सभामुखले जबर्जस्ती पदमुक्त गरेका सांसदको पुनर्बहाली हुनेछ । सरकारको पनि बहुमत पुग्नेछ,’ उनले भने ।

सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका सदस्य दधिराम न्यौपाने र दिनेश पन्थीलाई हटाउनुपर्ने कारण सोधेको छ । एमाले प्रवेश गरेको भन्दै प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका न्यौपाने र पन्थीले आफूहरूलाई बिनाकारण हटाइएको भन्दै पुनर्बहालीको मागसहित सर्वोच्चमा निवेदन दिएका थिए । आइतबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले उनीहरूलाई हटाउनुको कारण माग्नुका साथै भदौ ८ मा दुवै पक्षलाई बोलाएको निवेदकका कानुन व्यवसायी ईश्वरी भट्टराईले बताए ।

न्यौपाने र पन्थीले आफूहरूलाई नेपालको संविधान र नेकपा माओवादी केन्द्र संसदीय दलको विधानविपरीत हटाइएको भन्दै साउन ७ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए । माओवादी केन्द्रको पत्रका आधारमा सभामुख पूर्णबहादुर घर्तीले चैत २३ मा उनीहरूलाई निलम्बन गर्दै पद रिक्त भएको जानकारी दिएका थिए । तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको संयुक्त घोषणापत्रका आधारमा निर्वाचनमा लडेकाले एमाले प्रवेश गरेको भनेर हटाउन नमिल्ने निवेदकहरूको जिकिर छ ।

लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टीका पदमुक्त ३ प्रदेशसभा सदस्य पनि पुनर्बहालीको मागसहित अदालत गएका छन् । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएपछि पदमुक्त भएका प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे, कल्पना पाण्डे लम्साल र विजयबहादुर यादवले आइतबार सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन् । साउन १५ मा पदमुक्त उनीहरूले पुनर्बहाली र प्रदेशसभा सचिवालय, सभामुख एवं पार्टी अध्यक्षविरुद्ध अवहेलनासम्बन्धी निवेदन दर्ता गराएको भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका पाण्डेले बताए । यो निवेदनमाथि अदालतले साउन १९ का लागि पेसी तोकेको छ ।

यसअघि जसपाले उनीहरूलाई पार्टीको सदस्यबाट निष्कासन गरेपछि वैशाख १६ मा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले उनीहरूलाई पदमुक्त गरेका थिए । पदमुक्त भएका सदस्यलाई अदालतले पुनर्बहाली गरेको थियो । उक्त मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ । यो मुद्दाको पेसी भने भदौ १७ गतेका लागि तोकिएको छ ।

प्रकाशित : श्रावण १८, २०७८ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्

पानी परेको थिएन, पहिरो खसिरह्यो : अध्यक्ष शेर्पा

कान्तिपुर संवाददाता

काठमाडौँ — डेढ महिनाको अवधिमा मेलम्ची खोलामा दोस्रो पटक आइतबार आएको भीषण बाढीले हेलम्बु–मेलम्ची किनारको करिब ४० किमि क्षेत्रलाई थप तहसनहस बनाएको छ । बाढीले बस्ती, मोटरेबल पुल, सडक र खेतीयोग्य जमिन बगाएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका क्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा ।

खोला छेउछाउ बस्दै आएका बासिन्दा झन् जोखिममा परेका छन् । बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गरेर फर्किएका हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाको भनाइ :

शनिबार बेलुका बाढी सुरु भयो । आइतबार बिहानै स्थानीयसँग फोनमा कुराकानी गर्दा आकाश खुलेको खबर पाएँ । पहिरो प्रभावित क्षेत्रमा जान गृह मन्त्रालयमा समन्वयका लागि प्रयास गरें । तर प्रक्रिया पूरा गरुन्जेल मौसमले साथ नदिने देखियो ।

म, सञ्चारकर्मी सुदर्शन आचार्य र स्थानीय समीर तामाङ आफैं जोखिम मोलेर प्रभावित क्षेत्रतर्फ जान तयारी गर्‍यौं । हिमाली भेगको नयाँ स्थानमा जानुपर्ने भएकाले के होला भन्ने विचार आयो र केहीबेर छलफल पनि गर्‍यौं । हेलिकप्टर पाइलट सुरज थापाले जे भए पनि होला भन्दै जाने निर्णय गरे ।

बिहान ७ बजे हेलिकप्टरमा हेलम्बुको हिमाली भेगमा लाग्यौं । काठमाडौंबाट करिब २० मिनेटपछि हेलम्बु गाउँपालिका–१ को समतलस्थल नजिकै पुग्यौं । वरिपरि डाँडा र खोंचमा समतलस्थल भएकाले हेलिकप्टर ल्यान्ड गर्न केही असजिलो भयो । पहिरो सुरु भएको स्थान माटो, बालुवा र गेगरले भरिएको समतल देखिन्थ्यो । त्यसको छेउबाट पहिरो जान थालेको रहेछ ।

बाढीपछि मेलम्ची बजारबाट दोलालघाटतर्फ लागेको इन्द्रावती । तस्बिर सौजन्य : सुदर्शन आचार्य

डाँडाकाँडा र रूख छल्दै पाइलट थापाले त्यही समतल स्थलमा हेलिकप्टर ल्यान्ड गर्ने निर्णय गरे । तर उक्त स्थान हिलो माटोले बनेकाले खतरा हुने अनुमान गर्न थाल्यौं । सोच्दासोच्दै हेलिकप्टरमा हामी खोंचमा घुमिरहेका थियौं । थापाले पहिरो चलेको भन्दा निकै टाढा कुनामा हेलिकप्टर राख्ने निर्णय गरे । उनले केही हुँदैन हिलो रहेछ भने थाहा भइहाल्छ बचाउन सकिन्छ भन्दै ल्यान्ड गर्ने तयारी गरे । मौसम सफा भएकाले अरू समस्या थिएन । तर असार १ गतेको विनाशकारी पहिरो पनि त्यहीँबाट सुरु भएकाले डर लागिरहेको थियो । तर उक्त स्थान बगर जस्तो रहेको हेलिकप्टर ल्यान्ड गरेपछि थाहा भयो । केही राहत महसुस भयो । त्यस समतल भूमिलाई भ्रेमाथाङ भन्ने गरिन्छ । स्थानीय ह्योल्मो भाषामा भेमाको अर्थ बालुवा र थाङको अर्थ समतल भूमि हो । भ्रेमाथाङ मेलम्ची खानेपानीको मुहान पनि हो ।

मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्सबाट करिब २० किलोमिटर उत्तरमा पर्ने हेलम्बु–१ भ्रेमाथाङस्थित पहिरो सुरु भएको ठाउँ । तस्बिर सौजन्य : सुदर्शन आचार्य

भ्रेमाथाङको कुनामा हेलिकप्टर ल्यान्ड भएपछि हामी पहिरो चलेको स्थानतिर पैदल लाग्यौं । भ्रेमाथाङको उत्तरतर्फको दुई कुनाबाट साना–साना खोला बगेका छन् । ती खोला र हिम पहाडबाट बगेको झर्नाले सोरेर ल्याएको कमेरे माटो, गेगर र साना–साना ढुंगाले भ्रेमाथाङ बनेको रहेछ । ठाउँ–ठाउँबाट माटो र गेगर बगेको देखिन्थ्यो । देब्रेतर्फको खोलाबाट धमिलो पानी आइरहेको थियो । दाहिने खोलाबाट बगेको पानी भने सङ्लो थियो । समतल स्थानबाटै बगिरहेको खोला मेलम्ची आयोजनाको स्रोत हो ।

भ्रेमाथाङको कुनाबाट हिँड्दै पहिरो स्थल छेउसम्म पुग्न आधा घण्टाभन्दा बढी लाग्यो । समतल भूमिमा लगातार पहिरो गइरहेको थियो । पानी परेको थिएन । खोला धेरै ठूलो पनि थिएन तर पनि जमिन चिरिएर बग्ने क्रम रोकिएको थिएन । ठूला–ठूला चिरा परेर ढुंगा, माटो खोलामा मिसिँदै थियो । समतल भागको सतहभन्दा खोला बगेको स्थान झन्डै ५० मिटर तल देखिन्थ्यो । माटो मिसिएर खोलाले बगाउन सकेको थिएन । खोला केहीबेर रोकिएर माटोलाई धकेल्दै बग्थ्यो ।

पहिरोको उद्मगस्थललाई रोक्ने वा रोकिने सम्भावना कल्पना गर्न नसकिने देख्यौं । पहिरो सुरु भएको समतल भूमि वर्षौंसम्म थुप्रेको माटो, ढुंगा र बालुवाबाट बनेको अनुमान लगाउन सकिन्छ । बाढीपहिरो अझै एक महिना रोकिँदैन भन्ने अनुमान गर्न सकिन्छ । समतल भागजति चिराचिरा परेको छ । त्यो सबै बग्ने हो भने तटीय क्षेत्रमा अझ धेरै क्षति हुन सक्छ । काठमाडौं फर्कने बेला हेलिकप्टरलाई खोला बगेको दिशामा उडाइयो । पहाड र खोंचबाट उड्दा जति खतरा थियो, चिराचिरा परेर ठूलो भूभाग मेलम्ची खोलामा मिसिएको त्यतिकै डरलाग्दो देखिन्थ्यो ।

(ऋषिराम पौडेलसँगको कुराकानीमा आधारित)

प्रकाशित : श्रावण १८, २०७८ ०७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×