२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

मेलम्ची बाढीले फेरि विध्वंस 

हेलम्बु र मेलम्चीको ग्याल्थुम जोड्ने झोलुंगे पुलसहित कम्तीमा १२ घर बगे
ऋषिराम पौड्याल

सिन्धुपाल्चोक, काठमाडौं — डेढ महिनाको अवधिमा मेलम्ची खोलामा दोस्रो पटक आइतबार आएको भीषण बाढीले हेलम्बु–मेलम्ची किनारको करिब ४० किमि क्षेत्रलाई थप तहसनहस बनाएको छ । बाढीले बस्ती, मोटरेबल पुल, सडक र खेतीयोग्य जमिन बगाएको छ । खोला छेउछाउ बस्दै आएका बासिन्दा झन् जोखिममा परेका छन् ।

मेलम्ची बाढीले फेरि विध्वंस 

बाढीले चनौटेस्थित मेलम्ची खोलामाथिको मोटरेबल पुल (रातोपुल) बगाउँदा हेलम्बुसँगको यातायात सम्बन्ध पूर्णरूपमा विच्छेद भएको छ । हेलम्बु गाउँपालिकाका किउल, शेर्माथाङ, मेलम्चीघ्याङ, तार्केघ्याङ, तिम्बु, सर्कथली, घ्याङ्गुललगायतका बस्ती पुग्न यो पुल एकमात्र सहारा थियो । मेलम्ची खानेपानी आयोजनाको मुहानमा फेरि क्षति गरेको छ । बाढीले मुख्य बस्ती रहेका हेलम्बुको तिम्बुदेखि बोल्दे, किउल, गणेशेबगर, चनौटे, पाल्चोक, ग्याल्थुम, तालामाराङ हुँदै मेलम्ची बजार आसपासका क्षेत्रको ठूलो भाग कट्टान गरेको छ । यहाँका बजार र खेतीयोग्य जमिन गरी २० किलोमिटर क्षेत्र बगरमा परिणत भएको छ । गत असार १ मा आएको बाढीले बचेका भौतिक संरचनालाई थप क्षति गरेको छ ।

हेलम्बु गाउँपालिका–१ स्थित सेमेसिदाङ हिमशृंखलाको काख भ्रेमाथाङ बगरबाट सुरु भएको पहिरोले पुरिएको मेलम्ची खोला थुनिँदै, खोलिँदै गरेर शनिबार राति र आइतबार आएको बाढीले हेलम्बु र मेलम्चीको ग्याल्थुम जोड्ने झोलुंगे पुलसहित १२ वटाभन्दा बढी घर बगाएको छ । ग्याल्थुम बजारका ४० घरसहित तिम्बु, चनौटे र मेलम्ची बजारका बासिन्दा जोखिममा परेका छन् ।

हेलम्बु क्षेत्र जान गोरेटोसमेत छैन । बाढीको सतह बढिरहेकाले तत्काल वैकल्पिक मार्ग बनाउन सक्ने सम्भावना देखिँदैन । पुल नहुँदा यहाँको करिब १० किलोमिटर आसपासका बासिन्दा चारदेखि पाँच घण्टाभन्दा बढी समय जंगलको गोरेटो हिँडेर मात्रै गाउँ आउजाउ गर्न सक्छन् ।

असारमा आएको बाढीबाट विस्थापितको व्यवस्थापन नहुँदै अर्को समस्या थपिएको स्थानीयले बताएका छन् । असारको बाढीले बगाएका नेपाली र विदेशी गरी २० जना अझै बेपत्ता छन् । एक नेपाली र तीन विदेशी मृत फेला परेका थिए । मेलम्ची र हेलम्बुका तीन सयभन्दा बढी परिवार विस्थापित भएका थिए । मेलम्चीदेखि हेलम्बुको नाकोतेसम्मका चारवटा मोटरेबल तथा ७ वटा झोलुंगे पुल असारकै बाढीले बगाएको थियो ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आइतबारको बाढीले थप क्षति गरेकाले चिसापानी हुँदै कुटुम्साङ र घोप्टेघ्याङबाट अर्को वैकल्पिक सडकका लागि अध्ययन गर्नुपर्ने बताए । गाउँपालिका कार्यालय जाने बाटोसमेत नभएको उनले बताए । अध्यक्ष शेर्पाले आइतबार काठमाडौंमा गृहमन्त्री बालकृष्ण खाँडसँग भेटेर तटीय क्षेत्रको बस्ती सार्नुको विकल्प नभएको जानकारी गराएका छन् ।

हेलिकप्टरबाट पहिरो सुरु भएको ठाउँ पुगेर फर्केका अध्यक्ष शेर्पाले भने, ‘अझै एक महिनाभन्दा बढी समय लगातार लेदो माटो बगेर आइरहने अवस्था देखिएको छ ।’ उनले पुल बगेकाले आवतजावतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । ‘मानवीय संकट आउने खतरा छ,’ उनले भने, ‘प्रसूति, वृद्धवृद्धा र बिरामीलाई अस्पताल पुर्‍याउन हेलिकप्टरको भर पर्नुपर्ने भएको छ ।’

गहिरो मेलम्ची खोला ढुंगा, माटो र बालुवाले पुरिएर बस्तीको सतहमा आइपुगेको छ । खोलाकिनार फराकिलो बनाउँदै बाढीले तराईको समथल भूमिजस्तै बनाएको छ । असारको बाढीबाट क्षति नभएका घरहरू शनिबार र आइतबारको बाढीले बगाएको छ । हेलिकप्टरमा पहिरोको उद्गमस्थल पुगेका सञ्चारकर्मी सुदर्शन आचार्यका अनुसार भ्रेमाथाङको बगर विस्तारै बगिरहेको छ । ‘लेदोसहितको बाढी रोकिएको छैन,’ उनले भने, ‘अब तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा पुनर्वास गराउनुको विकल्प छैन ।’

माथिल्लो पहाडी भूभागको ठूलो क्षेत्र भासिएको जानकारी उनले दिए । थुप्रिएको माटो मात्रै भएकाले कुनै पनि बेला बग्न सक्ने सम्भावना उनले औंल्याए । पहिलो बाढीपछि भूगर्भविद् रविनराज निरौलाले भ्रेमाथाङको २५ प्रतिशत भागमात्र पहिरोले बगाएको जानकारी गराएका थिए । बाँकी ७५ प्रतिशत भाग पहिरोमा परिणत हुन सक्ने त्यतिबेला नै अनुमान गरिएको थियो ।

तटीय क्षेत्रका स्थानीयमा थप त्रास

दोस्रो पटकको बाढीबाट हेलम्बु–मेलम्ची तल्लो तटीय क्षेत्रका बासिन्दा थप त्रासमा परेका छन् । मेलम्ची बजारमा बाढी पसेको छ भने खोलाको सतह घटेपछि घर फर्कने तयारीमा रहेकाहरू थप पीडामा परेका छन् । स्थानीय अगुवा सागर श्रेष्ठका अनुसार बाढी बजारतर्फ आएकाले थप क्षति हुने देखिएको छ । ‘खोला बढिरहेको छ, बचेका घर पनि पुरिने अवस्था आयो,’ उनले भने, ‘अब भगवान् भरोसा मात्र होला जस्तो छ ।’ बाढीले मेलम्ची एफएमको भवन बगाएको छ भने बजारनजिकैका संरचनालाई क्षति गरेको छ । बाढीले मेलम्ची र तल्लो भेगका बासिन्दालाई त्रसित बनाएको छ । मेलम्ची बचाउ अभियान चलाएका स्थानीय दोस्रो पटक पनि बाढीले क्षति गरेपछि निराश बनेका छन् ।

प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बाढीको सतह घटबढ हुने निश्चित नभएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताए । ‘सुरक्षाकर्मीलाई सबैतिर तयारी अवस्थामा रहन भनेका छौं,’ उनले थपे ।

यसैबीच बाढीपीडितले आइतबार मेलम्ची नगरपालिकामा उपस्थित भएर विरोध जनाएका छन् । समयमा खोलाको दिशा परिवर्तन नगराएको भन्दै उनीहरूले बजार बचाउन नगरपालिकाले नचाहेको बताए । मेलम्ची बजारका स्थानीयले नगरपालिकाका जनप्रतिनिधि विरुद्ध नाराजुलुससमेत गरेका थिए ।

प्रकाशित : श्रावण १८, २०७८ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?