दार्चुला घटना छानबिन गर्न ५ सदस्यीय समिति गठन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दार्चुला घटना छानबिन गर्न ५ सदस्यीय समिति गठन

रासस

काठमाडौँ — सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । गृह मन्त्रीस्तरीय निर्णयअनुसार घटनाको स्थलगतरूपमा छानबिन गरी सत्यतथ्यसहित १० दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । 

छानबिन समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक पूरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहेका छन् ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठ, गृहसचिव महेश्वर न्यौपानेसहित तीनवटै सुरक्षा निकायका प्रमुखको सहभागितामा भएको बैठकमा कोभिड १९ रोकथाम तथा नियन्त्रणबारे छलफल भएको छ । बैठकमा खोप व्यवस्थापन तथा नयाँ भेरियन्टसहितको तेस्रो लहरको सम्भावनालाई दृष्टिगत गरी संक्रमण रोकथाम नियन्त्रण र उपचारका लागि तयारी अवस्थामा रहन तथा स्वास्थ्य संस्थाको सुदृढीकरण गर्न र स्वास्थ्य मापदण्डको पूर्ण पालनामा जोड दिइएको छ । बैठकले सबै सेवाप्रदायक निकायहरूमा सेवाग्राहीलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेरमात्र कार्यालयमा प्रवेश गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

प्रकाशित : श्रावण १७, २०७८ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस कार्यकर्ता तीन सातादेखि धर्नामा

रासस

काठमाडौँ — क्रियाशील सदस्यता वितरण र नवीकरणमा धाँधली भएको जनाउँदै कांग्रेस कार्यकर्ताहरू तीन सातादेखि धर्ना दिँदै आएका छन् । बारा र रौतहटका एक सयभन्दा बढी कार्यकर्ताहरू पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् । 

विवाद समाधानको माग गर्दै धर्नामा बस्दै आएका दुवै जिल्लाका कार्यकर्ताले मागको सुनवाई नभएसम्म धर्ना जारी राख्ने बताएका छन् । पार्टीको १३औँ महाधिवेशनमा सक्रिय रहेका कार्यकर्ताको सदस्यता नवीकरण गर्नुको सट्टा नयाँ व्यक्तिलाई सदस्यताको सिफारिस गरिएको पार्टीका नेता एवं संविधानसभा सदस्य रामअयोध्याप्रसाद यादवले बताएयो । 'वडाबाट नयाँ सदस्यताका लागि सिफारिस गरिएका व्यक्तिको नाम हटाएर अर्कैलाई सिफारिस गरिएको पाइयो', पार्टी कार्यालय सानेपामा विगत २२ दिनदेखि धर्नामा बस्दै आएका यादवले भने, 'फारममा एउटाको नाम छ, कम्प्युटरमा फरक व्यक्तिको नाम दर्ता भएको छ, यो त सरासर अवैधानिक काम हो ।'

बारा क्षेत्र नं २ मा ४४ वडामध्ये २२ वटा वडामा कार्यकर्ताले क्रियाशिल सदस्यस्यताको फारम नै नपाएको नेता यादवको गुनासो छ । 'फारममा कतिपयको नाममा टिपेक्स लगाएर अर्कैको नाम लेखेको सम्म गरेको पाइएको छ', उनले भने । पार्टीको शीर्ष नेतृत्वले विवाद समाधान गर्न आश्वासन दिएको यादवले बताए । पार्टीको अधिवेशनलाई ध्यान दिनुभन्दा संसदीय निर्वाचनको ख्याल गर्नुपर्नेमा उनले जोड दिए । संसदीय निर्वाचनमा बाराको चार वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा मात्र कांग्रेस विजयी भएको थियो । सो क्षेत्रबाट उमाकान्नत चौधरी निर्वाचित भएका थिए ।

बारासँगै रौतहटका कार्यकर्तासमेत सानेपामा अनशनमा बस्दै आएका छन् । रौतहट क्षेत्र नं १ का नेता बज्रकिशोर सिंह पार्टीमा पुराना कार्यकर्तालाई अन्याय भएको बताउँछन् । 'पार्टीको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा पुराना कार्यकर्तामाथि अन्याय भएको छ', अनशनमा भेटिएका उनले निराशा व्यक्त गर्दै भने, 'पार्टीमा प्रतिबद्ध र सिद्धान्त बुझेका कार्यकर्तालाई अपहेलना गर्ने काम भएको छ, त्रुटी नसच्याउँदासम्म हामी घर फर्किन्नौं ।' कतिपय ठाउँमा पार्टीको वडासभापतिले सदस्यता फारम नै नपाएको पूर्वस्वास्थ्य राज्यमन्त्री रहिसकेका सिंहले दुःखेसो गरे ।

विवाद उत्पन्न भएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फागुन ६ गते बसेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी रहेको समिति गठन गरेको थियो । समितिले बिहीबार थप परिमार्जनसहितको प्रतिवेदन बुझाइसकेको छ ।

सदस्यता विवाद मिलाउन कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीको बिहीबार बसेको बैठकले पार्टीको नेतृत्व तहलाई पाँच दिनको समय दिएको छ । विवाद समाधानका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल हुँदै आएको छ । कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका तय गरेको छ । कांग्रेसमा १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।

प्रकाशित : श्रावण १७, २०७८ २०:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×