कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

खोप प्रमाणीकरण जिल्ला र प्रदेशबाटै

५० बेडभन्दा माथिका जुनसुकै सरकारी अस्पतालबाट प्रमाणीकरण गर्न सकिने
'क्यूआर कोडसहितको प्रमाण पत्र भदौदेखि'
मकर श्रेष्ठ

काठमाडौँ — वैदेशिक रोजगारीमा जान चाहनेले खोप लगाएको प्रमाणीकरण जिल्ला र प्रदेश स्तरबाटै गर्न मिल्ने भएको छ । सरकारले खोप लगाएको प्रमाणीकरण काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मिनभवन, पाटन अस्पताल र बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा मात्रै गर्ने व्यवस्था गरेको थियो ।

खोप प्रमाणीकरण जिल्ला र प्रदेशबाटै

मन्त्रालयको सचिवस्तरीय निर्णयबाट खोप लगाएको प्रमाणीकरण गर्न चार अस्पताल मात्रै जानुपर्ने बाध्यताबाट मुक्त गर्न ५० बेड क्षमताभन्दा माथिका जुनसुकै सरकारी अस्पतालमा गर्न सकिने व्यवस्था गरेको हो । ‘अब खोप लगाएको प्रमाणीकरण गर्न काठमाडौंमा घण्टौं लाइन बसिरहनु पर्दैन,’ स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले भने,‘जिल्ला, प्रदेश र संघको ५० बेडभन्दा माथिका सरकारी अस्पतालमा खोप लगाएको प्रमाणीकरण गर्ने अधिकार दिइसकेको छ । यो सेवा सोमबारदेखि नै सुरु हुन्छ ।’ निर्णय कार्यान्वयन गर्न परिपत्र भइसकेको उनले बताए ।

सरकारले खोप लगाउने बित्तकै क्यूआर कोड बिनाको कार्ड दिने गरेको छ । जुन कार्डलाई अन्य मुलुकले मान्यता नदिएपछि प्रमाणीकरण गर्ने गरिएको छ । केही देशले प्रमाणीकरण पत्रलाई मात्रै अझै मान्यता दिएको छैन । कुवेतले खोप लगाएको प्रमाण क्यूआर कोर्डबाट नै थाहा हुने प्रणाली नभएको मुलुकका नागरिकलाई आफ्नो मुलुकमा प्रवेश दिएको छैन । काठमाडौंको भद्रकालीमा केही युवाले क्यूआर कोडसहितको कार्ड माग गर्दै प्रदर्शन समेत गरेका छन् ।

क्यूआर कोड भदौदेखि

स्वास्थ्य मन्त्रालयले क्यूआर कोडसहितको प्रमाणपत्र भदौ १ देखि जारी गर्ने भएको छ । ‘भदौ १ गतेदेखि खोप लगाउने बित्तिकै डाटा इन्ट्री गरेर क्यूआर कोडसहितको प्रमाण पत्र जारी गर्न प्राविधिक काम भइरहेको छ,’ पोखरेलले भने,‘इन्टरनेट र कम्प्युटर सुविधा आवश्यक पर्ने भएकोले अहिले स्रोत र जनशक्तिको व्यवस्थापन भइरहेको छ ।’ खोप लगाउने बित्तिकै क्यूआर कोड भएको प्रमाण पत्र दिन खोप लगाउनु अघि नै नाम दर्ता भएको हुनुपर्छ । सहरी क्षेत्रमा यो सहजै भएपनि ग्रामिण भेगमा समस्या पर्न सक्ने विभागले अनुमान गरेको छ । नयाँ व्यवस्था अनुसार कार्ड जारी गर्न प्रि–रजिस्ट्रेसन गर्ने, खोप लगाउन आएकै ठाउँमा कम्प्युटरमा नाम दर्ता गर्ने र इन्टरनेट, कम्प्युटरको सुविधा नभएको ठाउँमा रजिस्ट्ररमै नाम दर्ता गरेर पछि अपडेट गर्ने योजना अघि सारिएको छ ।

प्रकाशित : श्रावण १७, २०७८ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?