१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ : दलहरू आन्तरिक र द्विपक्षीय छलफलमा

आजै गठबन्धनको बैठक बस्दै 
जयसिंह महरा

काठमाडौँ — सरकार गठन भएको १९ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकिरहेका बेला सत्ता गठबन्धनकारी दलहरू द्विपक्षीय र आन्तरिक छलफलमा व्यस्त भएका छन् ।

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ : दलहरू आन्तरिक र द्विपक्षीय छलफलमा

गठबन्धनको बैठक आइतबार बस्ने तयारी भइरहेको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । ‘मन्त्रालयको टुंगो लगाउनका आज गठबन्धनको बैठक बस्ने तयारी भइरहेको छ,’ उनले भने ।

आइतबार गठबन्धनको बैठक पहिले माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयका अनुसार सरकारमा सहभागिता, न्यूनतम साझा कार्यक्रम, लुम्बिनी प्रदेशमा जारी राजनीतिक उतारचढावबारे छलफल हुने बताइएको छ । त्यस्तै, साउन २० गतेदेखि बस्न लागेको केन्द्रीय कमिटी बैठकका एजेन्डा पनि तय कार्यसूची छ ।

पार्टीको स्थायी कमिटी बैठक पहिले अध्यक्ष दाहालले आइतबार एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका थिए । भेटमा सरकारमा सहभागिता र एमालेमा जारी विवादबारे छलफल भएको बताइएको छ ।

विषेशगरी एमालेको माधवकुमार नेपाल समूहलाई सरकारमा ल्याउने कसरतका कारण मन्त्रिपरिषद् विस्तारमा केही विलम्ब भएको हो । मन्त्रालयको भागबण्डा र न्यूनतम साझा कार्यक्रम तय गर्न पनि बाँकी छ ।

मन्त्रिपरिषद् बिस्तार ढिलाइमा जसपाको विवाद पनि कारण बनेको थियो । जसपाको आधिकारिकता निर्वाचन आयोगले यादव पक्षलाई दिएसँगै उक्त विवाद समाधान भएको छ । जसपाको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत दलको नेता पनि चयन गरिसकेको छ । अब जसपा कति मन्त्रालय पाउने र कस–कसलाई पठाउने भन्ने छलफलमा जुटेको छ ।

जसपाका नेता मोहम्मद इस्तियाक राईले गठबन्धनको बैठकले मन्त्रालयको संख्या टुंगो लगाएपछि पार्टीले मन्त्रीको चयन गर्ने बताए । त्यसका लागि बाबुराम भट्टराई, अशोक राई र अध्यक्ष यादवलाई जिम्मेवारी पनि दिइसकिएको छ । ‘पहिला कति र कुन मन्त्रालय भन्ने तय भएपछि जसपाले मन्त्री चयन गर्नेछ,’ उनले भने, ‘चुनावी सरकार हो । डेलिभर गर्न सक्नेलाई समावेशी र समानुपातिक रूपमा प्रतिनिधित्व गराउने भन्ने पार्टीभित्र छलफल भइरहेको छ ।’

असार २९ गते प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, ऊर्जामन्त्री पम्फा भुसाल, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अर्थमन्त्री जनार्दन शर्माले शपथ लिएका थिए । त्यसपछि प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए ।

राजनीतिक दलहरूभित्र मन्त्री हुने आकांक्षीको संख्या पनि अध्यधिक छ । त्यसैले कसलाई मन्त्री बनाउने भन्ने निर्णय गर्न सबै पार्टीको शीर्ष नेतृत्वलाई सकस परिरहेको छ । गठबन्धनको बैठक बस्न लागे पनि आजै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना भने न्यून छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले मन्त्री बन्न खोज्ने सांसदहरूका कारण आफू तनावमा रहेको सार्वजनिक अभिव्यक्ति नै दिइसकेका छन् ।

मन्त्रालयको भागबण्डाको जिम्मेवारी गठबन्धनका शीर्ष नेताहरूले लिएका छन् भने न्यूनतम साझा कार्यक्रम बनाउनका लागि दोस्रो तहका नेताहरूलाई जिम्मेवारी दिइएको छ ।

न्यूनतम साझा कार्यक्रम तय गर्ने कार्यदलमा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, रमेश लेखक र मिनेन्द्र रिजाल रहेका छन् । उक्त कार्यदलमा माओवादीबाट देवप्रसाद गुरुङ र वर्षमान पुन रहेका छन् भने जसपाबाट महिन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ छन् ।

कार्यदलमा न्यूनतम साझा कार्यक्रम तय गर्नका लागि निरन्तर छलफल भइरहेको र छिट्टै एउटा टुंगोमा पुग्ने कांग्रेस महामन्त्री खड्काले जानकारी दिए । उनले सकेसम्म दिनदिनै कार्यदलको बैठक बसेर न्यूनतम साझा कार्यक्रमका लागि छलफल भइरहेको जानकारी दिए । कार्यदलमा जसपाले विगतमा उठाउँदै आएका माग, ओली सरकारले गरेका नियुक्ति, सरकारका प्राथमिकतालगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रकाशित : श्रावण १७, २०७८ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?