नेपालको बटमलाइन ‘हस्ताक्षरसहितको समान अध्यक्ष’

एकताका लागि विघटित कार्यदलका सदस्यहरुले दौडधुप बढाइरहेका बेला ओली र नेपालबीच आरोप–प्रत्यारोप

काठमाडौँ — एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका सबै निर्णय र पत्राचारमा अध्यक्ष केपी ओलीसँगै आफ्नो पनि हस्ताक्षरलाई एकताका लागि ‘बटमलाइन’ बनाएका छन् । दोस्रो वा अर्को अध्यक्षको प्रस्तावसहित एकताका लागि दोस्रो तहका नेताहरूले दौडधुप जारी राखेका बेला नेपालले निकट नेताहरूमार्फत आफ्नो ‘बटमलाइन’ बाहिर ल्याएका हुन् ।

नेपालको बटमलाइन ‘हस्ताक्षरसहितको समान अध्यक्ष’

दोस्रो अध्यक्षमा ‘कन्भिन्स’ गर्न शनिबार विघटित कार्यदलका सदस्यहरू भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए । त्यसअघि विघटित कार्यदलका सदस्यहरूबीच एमाले संसदीय दलको कार्यालयमा छलफल भएको थियो । ‘कार्यदलले तयार गरेको दसबुँदे सहमति र दुई अध्यक्षको व्यवस्थालाई आधार बनाएर एकता गर्नुपर्छ भन्ने सन्दर्भमा शनिबार पनि कार्यदलका सदस्यबीच छलफल भयो, यद्यपि माधव नेपाल त्यसका लागि तयार हुनुभएको छैन,’ विघटित कार्यदलका सदस्य विष्टले भने, ‘हामीले उहाँलाई पार्टी एकताबाहेक अर्को विकल्प छैन भनेर सुझाव दिएका छौं ।’

अर्का एक नेताका अनुसार नेपालले ओलीका पछिल्ला अभिव्यक्तिले एकताको वातावरण थप बिगारेको बताएका थिए । ‘केपी ओलीका पछिल्ला अभिव्यक्तिले विश्वासको वातावरण पैदा भएको छैन, दसबुँदेका सन्दर्भमा पनि मेरा अझै रिजर्भेसन छन्,’ नेपालले भनेका थिए, ‘दोस्रो अध्यक्षमा मेरो रुचि छैन । ओलीलाई अध्यक्ष मान्न कठिन छ किनभने उनी विश्वासिला पात्र हैनन् ।’ त्यसपछि कार्यदलका सदस्यहरूले एकताको विकल्प नभएको दोहोर्‍याएका थिए । ‘शतप्रतिशत आफ्ना मात्रै कुरा हुँदैन, एकतामा कसले के छोड्ने, कसले के छोड्ने नै हो, तपाईंले मान्नुपर्छ भन्यौं, उहाँले दोस्रो अध्यक्षमा मेरो रुचि छैन भन्नुभयो,’ उनले भने ।

नेपालले दोस्रो अध्यक्षमा आफ्नो रुचि नभएको भन्दै झलनाथ खनाल वा दोस्रो पुस्ताका अरू कोही नेतालाई बनाउन सुझाव दिएका छन् । ओली पक्षका नेताहरूले भने सबै कागजातमा दुई जनाको हस्ताक्षर रहने गरी नेपाललाई अधिकार दिन कठिन हुने बताएका छन् । ‘एक त महाधिवेशनमा हार्नुभएको, त्यसमाथि अनुशासन तोड्नुभएको छ, उहाँ खास कारबाहीमा पर्नुपर्ने व्यक्ति हो, तैपनि एकता हुन्छ भने दोस्रो अध्यक्ष बनाएर जाऔं भनिएको हो तर उहाँले समान हैसियतको अध्यक्ष खोज्नुभयो,’ ओलीनिकट एक नेताले भने, ‘दोस्रो अध्यक्ष भनेपछि कसरी समान हैसियत हुन्छ र ?’

ओली पक्षबाट दोस्रो अध्यक्षको प्रस्ताव आए पनि शुक्रबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा महासचिव ईश्वर पाखरेलले नेपाललाई दोस्रो अध्यक्ष दिन नसकिने बताएका थिए । तर ओलीनिकट नेता पुथ्वीसुब्बा गुरुङले नेपालले समान अध्यक्षको हैसियत आफैंले नमागेको बताए । ‘विभिन्न मिडियामा आए पनि उहाँको मुखबाट समान हैसियतको अध्यक्ष चाहियो भनेको सुनिएको छैन,’ उनले भने, ‘विकल्पहरूमाथि माधव कमरेडसँग कुराकानी भइरहेकै छ । जे गर्दा सहमति हुन्छ, त्यही गर्ने भन्ने छ ।’

साउन ६ मा ओलीनिकट नेता सुवास नेम्वाङ र विष्णु पौडेलले दुई अध्यक्षसहित सम्मानजनक रूपमा एकता प्रक्रिया टुंग्याउने प्रस्ताव नेपालसमक्ष राखेका थिए । नेपाल ओली समूहसँग दूरी बनाएर सत्ता गठबन्धनका नेताहरूसँग पनि छलफलमा छन् । गठबन्धनका अन्य दलले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

ओलीले एकताका लागि धेरै दिन पर्खिन नसक्ने बताइसकेका छन् । उनले एक/दुई दिनमा एकता टुंग्याउन आफूनिकट नेताहरूलाई निर्देशन दिएका थिए । सोहीअनुसार उनीनिकट नेता नेम्वाङले बिहीबार र पौडेलले शुक्रबार नेपालसँग छलफल गरेका थिए । एकताको प्रयत्नका लागि भन्दै विघटित कार्यदलका सदस्यहरूले शनिबार बोलाइएको स्थायी कमिटी बैठक स्थगित गर्न अध्यक्ष ओलीलाई सुझाव दिएका थिए । उनीहरूको सुझावअनुसार ओलीले बैठक आइतबारसम्मका लागि स्थगित गरेका छन् तर आइतबारको बैठकमा पनि नेपाल समूह सहभागी नहुने भएको छ ।

स्थायी कमिटी सदस्य नेम्वाङले भने नेपाल पक्षका सदस्यहरूको आग्रहमा बैठक स्थगित गरिएको बताए । आफूहरूले पार्टी एकतालाई अर्जुनदृष्टिमा राखेर काम गरिरहेको र कसैलाई बाहिर नराख्ने दाबी गरे । ‘औपचारिक रूपमा हाम्रा अध्यक्षले पार्टीको बैठकमा उहाँहरूलाई आममाफीको घोषणा गर्छौं भन्नुभएको छ, उहाँहरूलाई आउनुस् भनेर आग्रह गर्नुभएको छ,’ उनले भने । अध्यक्ष ओलीले नेपाललाई ठाउँ छैन भन्नुभएको छ नि ? भन्ने प्रश्नको जवाफमा उनले अध्यक्ष ओलीकै निर्देशन र अनुमतिमा एकताको प्रयास भइरहेको बताए । नेताहरूका अभिव्यक्ति भने दुवैतिर ‘धूवाँधार’ भएको नेम्वाङले टिप्पणी गरे ।

नेपाल समूहका अर्का एक नेताले अहिले ओली र नेपालबीच सबैभन्दा ठूलो विश्वासको संकट रहेको बताए । ‘एकले अर्कालाई विश्वास गर्दैनन्, यस्तोमा एकता कठिन छ, माधव कमरेडले ओलीबाट बचन पूरा हुन्छ भन्ने विश्वास गर्नुभएको छैन,’ ती नेताले भने, ‘उहाँहरूबीच सहकार्यको होइन, निषेधको राजनीति चलेको छ ।’

नेपाल पक्षकी सांसद रामकुमारी झाँक्रीले विवाद समाधान गर्न बनाइएको कार्यदल गलत दिशामा गइरहेको बताइन् । ओलीले अध्यक्षबाट राजीनामा दिएमात्रै पार्टी एकता हुने उनको भनाइ छ । ‘ओलीको अध्यक्षतामा केन्द्रीय कमिटी बैठक भइरहँदा, मैले यो कम्युनिस्ट आन्दोलन धराशायी पार्ने प्रमुख पात्र पार्टी अध्यक्ष तपाईं हो भन्दै गर्दा, उहाँले आत्मालोचित भएर पार्टी अध्यक्षबाट राजीनामा दिने चेष्टा गर्नुहुन्छ कि गर्नुहुन्न ? त्यो गर्नुहुन्न भने हामी त्यो कमिटीको सदस्य बन्छौं कि बन्दैनौं ?’ उनले प्रश्न गरिन् ।

एकातिर एकता प्रयास, अर्कोतिर आरोप–प्रत्यारोप

दोस्रो र तेस्रो तहका नेताहरू विभिन्न विकल्पसहित एकताको दौडधुपमा लागिरहेका बेला एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भने शीतयुद्ध जारी छ । दुवै जना समूहगत बैठक र भेलामा व्यस्त छन् ।

प्रतिनिधिसभा पुनःस्थापना र विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले असार २८ मा परमादेश जारी गरेपछि प्रधानमन्त्रीबाट पदमुक्त भएका ओली नेता नेपालमाथि खनिँदै आएका छन् । जवाफी टिप्पणीमा नेपालले पनि ओलीको नियतमाथि प्रश्न उठाएका छन् ।

एमालेको काठमाडौं जिल्ला कमिटी बैठकमा शनिबार ओलीले नेपाललाई देशद्रोही करार गर्दै पार्टीमा ठाउँ नभएको उद्घोष गरे । ‘अब माधव नेपालजस्ता आन्दोलनविरोधी, देशद्रोहीलाई कुनै ठाउँ छैन पार्टीमा, जसले वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा विश्वासको मत नदिने र दक्षिणपन्थी सरकार गठन गर्ने,’ उनले भने, ‘त्यो सरकारलाई समर्थनका लागि पछाडिको ढोकाबाट लुसुक्क छिरेर बेइमानी तरिकाले ह्वीप क्रस गरेर भोट दिन जाने । यस्ता प्रतिक्रियावादीका मतियारलाई ठाउँ छैन पार्टीमा ।’

नेता नेपालले पनि शनिबार अखिल फोर्सले गरेको भेलालाई सम्बोधन गर्दै जालझेल र षड्यन्त्र गरेर फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न अध्यक्ष ओलीलाई चेतावनी दिए । ‘यो प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस अब कसैले नगरोस्, फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षड्यन्त्र कसैले नगरोस्, अब जे हुनेछ, पारदर्शी ढंगले हुनेछ,’ उनले भने ।

प्रकाशित : श्रावण १७, २०७८ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?