मेलम्चीमा एक्कासि बाढी : तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेलम्चीमा एक्कासि बाढी : तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह

उपेन्द्रराज पाण्डेय

काठमाडौँ — शनिबार साँझ एक्कासि मेलम्ची नदीमा पानीको बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएका कारण एक्कासि बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ ।

तस्बिर : दिनेश ज्योतिको भिडियोबाट स्क्रिनग्र्याब

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार अहिले चनौटे बजारको बीच भागबाट नदी बगिरहेको छ । यसअघि असार १ गतेको बाढीले क्षति पुर्याएको भागबाट नै नदी बगेको प्रमुख जिल्ला अधिकारी पोखरेलले कान्तिपुरलाई बताए । उनले भने, ‘अहिले चनौटे बजारबाट नदी बगिरहेको छ । चनौटेबाट अहिले बाढी ग्याल्थुमसम्म पुगेको भन्ने खबर हामीले सुरक्षाकर्मीबाट पाएका छौँ ।’

त्यस्तै प्रजिअ पोखरेलले मेलम्ची बजारसम्मका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन खबर गरिसकेको र सबै ठाउँमा सुरक्षाकर्मीलाई अलर्ट अवस्थामा राखिएको पनि बताए ।

यसअघिको बाढीका कारण तटीय क्षेत्रमा स्थानीय नबसेका कारण मानवीय क्षति भने नहुने उनको भनाइ छ । ‘माथिल्लो भेगमा पहिरो गएर नदी थुनिएर एक्कासि बग्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ । भोलि बिहानसम्म के भएको हो भन्ने कुरा सबै थाहा होला,’ उनले भने ।

यसअघिको बाढीले हेलम्बु, मेलम्चीलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति भएको थियो ।

प्रकाशित : श्रावण १६, २०७८ २३:०१
प्रतिक्रिया
पठाउनुहोस्

रंग, साहित्य र बजारमा नगरकोटी

‘के पुस्तक कागज मात्रै हो र ? लेखकको सोच र सिर्जनाको कुनै मूल्य हुँदैन ?’
‘ब्ल्याकले इनडेफिनिट (अनिश्चित) चिजहरुको प्रतिनिधित्व गर्छजस्तो लाग्छ । अज्ञात, अज्ञेय, रहस्य, अँध्यारा गल्लीहरुप्रतिको मेरो रुचिका कारण पनि म कालो मन पराउँछु ।’
१७ पाठकलाई नगरकोटीको ‘बर्थडे सरप्राइज’
उपेन्द्रराज पाण्डेय

लेखक कुमार नगरकोटीलाई कालो रंग मन पर्छ । त्यसैले उनी कालै कुर्ता (नगरकोटीले प्राय: लगाउने वस्त्र), कालै मास्क लगाउँछन् । उनलाई कालो यति मन पर्छ कि मोबाइलदेखि कानमा लगाउने टपसम्म पनि कालै हुन्छ । 

मनोवैज्ञानिक कार्ल गुस्ताभ युङ्ग रंगलाई ‘अवचेतनको मूल भाषा’ मान्छन् । त्यसैले व्यक्तिपिच्छे रंगप्रतिको रुचि र बुझाइ फरक हुनसक्छ । कसैलाई रातो रंग मन पर्न सक्छ, कसैलाई कालो । पेन्टिङमा मात्र होइन, कथा, कविता उपन्यासजस्ता साहित्यका अन्य विधामा पनि रंगको प्रयोग विशेष रुपमा गरिएको हुन्छ । कुमार नगरकोटी पुस्तकको कभरदेखि कन्टेन्टसम्मै रंगको प्रयोग गरिरहेका हुन्छन् । उनका कृतिको विषयबस्तुसँग सम्बिन्धत रंग पुस्तककै कभरमा पनि भेटिन्छन् । कभरभन्दा बढी अझ विषयबस्तुमा उनले रंगको प्रयोग गरेका हुन्छन् ।

नगरकोटी आफ्नो रंगमोह र प्रयोगबारे भन्छन्, ‘हरेक सिर्जनामा रंग आउँछ । म पात्रहरुको कपडाको कलरमा खासै ध्यान दिँदिनँ । म कपडाका बारेमा निरक्षरजस्तै छु । महिलाका कपडाबारे लेख्नु परे त मलाई समस्या नै पर्छ । म नीलो रंग खासै प्रयोग गर्दिनँ । हरेक लेखकमा ‘सेन्स अफ् कलर’ हुन सक्छ । जस्तो कि नयनराज पाण्डेको ‘उलार’ को रंग ‘ग्रे’ हुनसक्छ । नेपालगन्जको फुङ्ग उडेको मौसम र तुवाँलो लागेको नेपालगन्जलाई देखाउनुपर्दा त्यसमा ग्रे कलर प्रयोग भएको हुन सक्छ ।’

आफूले उपन्यास र कथामा कालो र संस्मरणमा भने पहेँलो रंगको प्रयोग गर्ने बताउँछन् नगरकोटी । त्यसो त उनी सहरलाई पनि रंगको चश्माले हेर्छन् । उनी भन्छन्, ‘काठमाडौंको रंग ग्रे (खरानी रंग), पोखराको ‘नीलो’ र भक्तपुरको ‘मट्यौली’ हो ।’ सहरले बोक्ने यी रंगले त्यस सहरको परिचयमात्रै बताउँदैन, त्यहाँको जीवनशैली र रहनसहन पनि झल्काउँछ ।

खरानी कालो र सेतोबीचको रंग हो । मानिसको स्वभाव छ कि हरेक चिज कि कालो वा सेतोमा खोज्ने । तर, केही पनि कुरा कालो र सेतोमा खोज्न कठिन हुन्छ भन्छन् नगरकोटी । खरानी कालो र सेतोबीच सन्तुलन ल्याउने रंग भएकाले काठमाडौंसँग मेल खाने उनको तर्क छ । रंगसँग आत्मीयता भएकै कारण उनका कृतिमा रंग हावी भएर आउने गर्छ ।

कालै रंग किन ?

म कपडामात्रै होइन, मास्क पनि कालै लगाउँछु । मलाई डिफाइन गर्ने कलर ब्ल्याक र येल्लो नै हो । ब्ल्याकले मोर डिफाइन हुन्छुजस्तो लाग्छ मलाई । ब्ल्याकले इनडेफिनिट (अनिश्चित) चिजहरुको प्रतिनिधित्व गर्छजस्तो लाग्छ । अज्ञात, अज्ञेय, रहस्य, अँध्यारा गल्लीहरुप्रतिको मेरो रुचिका कारण पनि म कालो मन पराउँछु । त्यस्तै रंग पनि म साहित्यमा प्रयोग गरिरहेको हुन्छु । क्यारेक्टर बिल्डअपमा डायलगदेखि रंगको प्रयोगसम्म मानव जीवनको अस्तित्व रहस्यमयी छ । मिस्ट्रीप्रतिकै रुचि र जिज्ञासा भएका कारण म आफ्ना सिर्जनामा जोखिम मोलिरहेको हुन्छु । जीवन अनप्रेडिक्टेबल भएका कारण मलाई कालो मन पर्छ ।

‘आई लभ जोगीपना’

‘पहेँलोचाहिँ जोगीको रंग हो । आई लभ जोगिज । जोगी भनेर परम्परागत जोगीकै भेष धारण गरेर हिँड्नेहरुभन्दा पनि मुक्त आत्माप्रतिको मेरो प्रेम हो । मुक्त मान्छेहरुप्रतिको मेरो प्रेम हो । कर्पोरेट जोगी र साधुको कुरा गरेको होइन मैले । जोगीपना भनेको मनको कुरा हो । चाहे त्यो बैंकर नै किन नहोस् त्यसमा जोगीपना हुन सक्छ । वादबाट मुक्त, देशबाट मुक्त, राजनीतिबाट मुक्त, धर्मबाट मुक्त मानिसमा जोगीपना पाउन सकिन्छ । हरेक चिजलाई समभावबाट हेर्न सक्नु पर्छ । स्प्रिचुअली अवेकन (अध्यात्मिक रुपमा जागृत) मानिसमा जोगीपना पाइन्छ, त्यो रिक्सा चलाउने मानिस पनि हुन सक्छ, घाटमा मुर्दा जलाउने मानिस पनि हुन सक्छ ।’

उनका संस्मरण र कवितामा प्राय: जोगीपना देखिन्छ । उनी भन्छन्,

‘कवितामा जतिसक्दो आत्मीय, श्रद्धायुक्त र मुक्त मानिसका रुपमा प्रस्तुत हुन चाहन्छु । मोर मुलायम, मोर हार्दिक, त्यसैकारणले ‘अक्षरगन्ज’ धेरैले मन पराए । वाक्यहरु पनि सरल त्यसै कारणले । ‘विरुपाक्ष’ कविता सुन्ने मान्छेले ‘मिस्टिका’ पढ्दा गाली गर्न सक्छ । कथामा एकदमै क्रुर भएर अनेक प्रयोग गरिबस्छु । सामाजिक यथार्थवादले साहित्य ध्वस्त पारियो भन्ने गरिन्छ । मेरो लेखनमा नगरकोटीपना त हुन्छ नै । तर, फिक्सनमा म सोसल रियालिज्म भन्नेमा छैन । ननफिक्सनमा त सबै चिज मैले खुल्लमखुल्ला भनेको छु त ।

‘फिक्सन डिजाइनर’

नगरकोटीले आफूले पुस्तक लेखेकोभन्दा पनि डिजाइन गरेको भन्न रुचाउँछन् । त्यसैले आफूलाई ‘फिक्सन डिजाइनर’ नै मान्छन् । उनी भन्छन्, ‘आई डु नट राइट बुक्स, आई कम्पोज देम ।’ उनका लागि पुस्तक लेखन संगीत कम्पोज गरेझैं नै हो । उनी भन्छन्, ‘म त सधैं डिजाइन गर्छु । ‘कल्पग्रन्थ’मा मेरै डिजाइन छ ।’

नगरकोटी कविता, संस्मरणमा आत्मीय, मानवीय, प्रेमील देखिए पनि उपन्यास र कथाहरुमा ‘क्रुर’ देखिन्छन् । उनी उपन्यास र कथामा बढी एक्सपेरिमेन्ट अर्थात् डिजाइन गर्न मन पराउँछन् । उनले भुईंचालोले भत्काउनुपूर्व नै धरहराको बेसमेन्ट बनाएर (मिस्टिकामा) बिराला उडाए । साहित्यमा नौलो प्रयोगलाई नै उनी डिजाइन भन्न रुचाउँछन् ।

पात्रका नाम ‘विचित्र’

कुमार नगरकोटीका पात्रहरु पाठकको मन मस्तिष्कमा पछिसम्म केही पात्रका नाम नै त्यस्तै हुन्छन् भने केही पात्रका अजिबोगरिब जीवनशैली र क्रियाकलाप हुन्छन् । उपन्यास र कथामा सामाजिक यथार्थवादबाट बाहिर निस्किएर कलम चलाउने नगरकोटीका पात्रका नाम विचित्र मात्रै हुँदैनन्, उनीहरुका क्रियाकलाप पनि उस्तै अनौठो खालका हुन्छन् । साहित्यकारका नामदेखि विभिन्न साहित्यकारका कृतिका पात्रलाई जोडेर उनले पात्र बनाएका छन् ।

‘घाटमाण्डु’ मा रहेका पात्रहरु मेयर खालिद शान्तनु मुराकामी, पाउलो घटोत्कच, सिमोन द पाञ्चाली प्लाथ, वकासुर गिन्सबर्ग, हुन वा ‘ज्ञ’ का लिप्स्टिका वा सम्भोगसमसेर राणा वा तथागत स्वप्नदर्शी, नगरकोटीले नाममा प्रयोग गरेका छन् । पात्रका नामबारे नगरकोटी भन्छन्, ‘म पात्रहरुको अनौठो अनौठो नाम राख्न रुचाउँछु । म प्राय: मेरा पात्रलाई हाम्रो समाजमा प्रचलनमा नरहेका नाम राखिदिन्छु । पाठकले ती पात्रको क्यारेक्टरस्टिक्स त भेट्लान् तर त्यही नाम गरेका क्यारेक्टरचाहिँ भेट्न मुस्किल नै होला ।’ आफूलाई प्रत्येक नयाँ कथा र उपन्यासका लागि पात्रहरुको ‘न्वारन’ गर्न निकै कठिन हुने उनी बताउँछन् ।

उपन्यासिका ‘ज्ञ’ की एक पात्रको नामको लिप्स्टिका कसरी राखियो ? पात्रकै जवाफ यस्तो छ :

‘खासमा ड्याडीको लिप्स्टिकको व्यवसाय थियो । उहाँ लिप्स्टिकको सप्लायर हुनुहुन्थ्यो । लिप्स्टिकसित ड्याडीको डीप लभ थियो । लिप्स्टिकको डिजाइन उहाँ आफै गर्नुहुन्थ्यो । ममीले छाडेर गएपछि ड्याडी लिप्स्टिक प्रेमी बन्नुभयो । संसारका हरेक प्रेमीले प्रेमिकालाई दिने उपहार लिप्स्टिक हुनुपर्छ भनी ड्याडी ठान्नुहुन्थ्यो । वास्तवमा ड्याडी प्रेमीहरुका लागि लिपस्टिक बनाउनुहुन्थ्यो । आफ्नो नाम प्रेमीहरुमाझ अमर रहोस् भनी ड्याडीले मेरो नाम लिप्स्टिका राखिदिनुभएको हो ।(‘ज्ञ’, पृष्ठ ११६)

‘कल्पग्रन्थ’मा के छ त खास ?

सामाजिक सञ्जालमा ‘कल्पग्रन्थ’को मूल्य र संस्करणलाई लिएर भइरहेका टिकाटिप्पणीहरु अझै सेलाएका छैनन् । निकै लामो समय खर्चिएर मिहेनतपूर्वक लेखेको पुस्तक भएकाले मूल्य मात्रै हेर्न नहुने उनी बताउँछन् । उनी कागजको पेज गनेर मूल्य हेर्नुभन्दा पनि सर्जकको सिर्जनाको मोललाई हेर्न सुझाउँछन् ।

‘कल्पग्रन्थ’मा विभिन्न विधागत ६३ कथा छन् । एउटा कन्सेप्चुअल स्टोरी छ । याे कन्सेप्टमा आधारित कथा हो । कथा सुरु हुनुभन्दा पनि प्रकाशकले सम्पादकलाई पत्र लेखेको छ । अरु कथा इनहाउस इडिटरले सम्पादन गरे पनि यो कथालाई चाहिँ तपाईंले हेरिदिनुपर्‍यो भनेर एक जना सम्पादकलाई अनुरोध गरिएको छ ।

कथालाई सम्पादकको काँटछाँटसहित नै प्रस्तुत नै गरिएको छ । सम्पादकले सम्पादन गरेकै भर्सनको ५० पेजको कथा छ । अल्जाइमर रोगले ग्रसित एक पात्रले ननस्टप बोलिराको छ । उसले एउटै कुरा दोहोर्‍याइरहेको हुन्छ । केही कुरा उसले आपत्तिजनक मानिएका शब्द पनि प्रयोग गरेको हुन्छ । सम्पादकले त्यसमा ‘घोर आपत्तिजनक शब्द, नगरकोटी भन्दैमा जे पनि लेख्न पाइन्छ ?’ भनेर टिप्पणी गरेको कुरा पनि त्यहीँ जस्ताको त्यस्तै राखिएको छ । ५० पेजको यो कथा तयार पार्न झन्डै तीन महिना लागेको नगरकोटी बताउँछन् । यो कथा पढ्दा पाठक रोमाञ्चित हुने नगरकोटीको विश्वास छ ।

त्यस्तै कल्पग्रन्थमा १५ वटा ग्रे–स्टोरी छन् । यी सबै प्रयोगात्मक र रहस्यमयी कथाहरु हुन् । जसमा लामा छोटा दुवै प्रकृतिका कथा रहेका छन् । त्यस्तै पोस्टकार्ड स्टोरी ३०–३२ वटा छन् । यी कथा पोस्टकार्डकै रुपमा हुन्छन् । हुलाक टिकट र छापसमेत राखेर प्रेषक र प्रापकको ठेगानासहित रोचक शैलीमा कथा प्रस्तुत गरिएको नगरकोटी बताउँछन् । पोस्टकार्ड स्टोरीमा आ–आफ्ना क्षेत्रमा सफल कहलिएका ३२ जना महिलाको कथा समेटिएको उनी बताउँछन् । यी कथामा नगरकोटीकै शब्दमा ‘जोगीपना’ पाउन सकिन्छ ।

त्यस्तै ‘कल्पग्रन्थ’मा ६ वटा स्क्रिनप्लेकै रुपमा कथा छन् । यसरी पनि कथा भन्न सकिने रहेछ भनेर आफूले फरक शैलीमा कथा प्रस्तुत गरेको नगरोकोटी बताउँछन् । त्यस्तै ट्रान्सलेसन र आफ्नै अनुभवलाई समेटेर केही कथा ‘ट्रान्सक्रिएटेड स्टोरी’ का रुपमा प्रस्तुत गरिएको छ ।

इन्स्टलेसन स्टोरीअन्तर्गत १० वटा कथाहरु छन् । यसमा चाहिँ परम्परागत कथावाचन शैलीभन्दा फरक शैलीमा प्रस्तुत गरिएको छ । ओम्नीसाइन्स (सर्वज्ञाता) न्यारेटरको प्रयोग छैन यसमा । यसमा न्यारेटरले जे देख्छ त्यही कुरा मात्र प्रस्तुत गरिएको छ । जसमा पात्रले के सोच्छ भन्दा पनि के गर्छ भन्ने कुरा देखाइएको छ ।

कल्पग्रन्थमा सबैभन्दा नयाँ प्रयोग ‘टाइपोग्राफिक’ कथा भएको नगरकोटी दावी गर्छन् । नेपाली साहित्यमा टाइपोग्राफिक कथा सम्भवत: पहिलो प्रयोग भएको ठान्छन् उनी । २५० पेजको एउटै कथा लेख्न आफूलाई ५ महिना लागेको उनी बताउँछन् ।

‘सर्जकको सोच र सिर्जनाको मूल्य हो’

सुरुमा नगरकोटीले बुकहिल पब्लिकेसन्सका भुपेन्द्र खड्कालाई आफ्नो नयाँ कृति चाहिँ विशेष तरिकाले प्रकाशन होस् भन्ने चाहेको सुनाए । नगरकोटीको ‘विशेष तरिका’ विशेष नै होला भन्ने लागेर भुपेन्द्रले ‘दाइको सपना साकार हुन्छ’ भने ।

पछिल्लो पुस्तक सीमित संस्करण छाप्ने योजना नगरकोटीकै हो । सुरुमा ५ सय ५५ प्रति मात्रै छाप्ने उनको योजना थियो– दोस्रो संस्करण ननिकाल्ने, किताबको साइज पनि रोयल साइजमा बक्ससहितको हार्डकभर पुस्तक । ‘यस्तो पुस्तक किन्ने मानिसले स्पेसल अनुभव गरोस् भन्ने नै हौ । म पाठकले आफूलाई विशेष महसुस गराओस् भन्ने चाहन्थेँ,’ नगरकोटी भन्छन् ।

सन् २०२० सम्म आइपुग्छ भन्ने ठानेर पहिले पुस्तकको मूल्य २०२० राख्ने भनिए पनि २०२१ मा प्रकाशित हुने भएपछि मूल्य २०२१ राख्ने निर्णय भयो । केहीले अहिले सामाजिक सञ्जालमा मजाक पनि गरिरहेका छन्, ‘विक्रम संवत्अनुसार २०७१ राखेको भए त अलि फाइदा हुन्थ्यो नि !’ तर नगरकोटी भने यसमा फाइदा बेफाइदा भन्दा पनि पाठकले के पढ्न पाउँदैछ भन्ने कुरा हेर्नुपर्ने बताउँछन् । प्रकाशकले ५५५ प्रति त निकै थोरै हुने र त्यो पुस्तक त्यत्तिकै बिकीहाल्ने भन्दै प्रि–बुकिङको कन्सेप्ट अगाडि सारे । नेपाली बजारमा पहिलो पटक प्रि–बुकिङमार्फत पुस्तक प्रकाशन गर्ने आइडिया नगरकोटीलाई मन पर्‍यो । अर्डर जति हुन्छ त्यति नै पुस्तक प्रकाशन गर्ने र दोस्रो संस्करण ननिकाल्ने भएपछि नगरकोटी राजी भए ।

‘कल्पग्रन्थले पुस्तक पसलमा ठाउँ ओगटेर बस्दैन । ब्युटिफुल ह्यापनिङ होस्, उत्सव होस्, सेलिब्रेसन होस् । यसमा प्रकाशनदेखि पुस्तक हात पार्ने बेलासम्म पाठक आफै संलग्न हुनेछन्,’ नगरकोटी भन्छन् ।

यसलाई पाठक, लेखक र प्रकाशक तीनै पक्षबाट हेर्नुपर्ने नगरकोटी बताउँछन् । लेखक र प्रकाशकको बीचमा सधैँजसो एउटा अविश्वासको वातावरण सिर्जना हुने कारणले पनि प्रि–बुकिङ कन्सेप्ट राम्रो भएको उनको मत छ । ‘कुनै लेखकलाई तपाईंको पुस्तक कति बिक्री भयो त नि भनेर सोध्नुस् न, जवाफ आउँछ : खै प्रकाशकले २ हजार बिक्यो भन्थ्यो, होला त नि । लेखकले सधैँ आफू प्रकाशकबाट ठगिएछु कि भन्ने महसुस गरेको अवस्था छ,’ नगरकोटी भन्छन् । तर, कति प्रति बुकिङ भयो भन्ने छर्लङ्ग हुने भएपछि लेखक र प्रकाशकबीचको द्वन्द्व घट्ने उनी विश्वास गर्छन् ।

पुस्तकको बजार अनुमान गर्न नसकिने भएकाले प्रकाशकलाई पनि फाइदा पुग्ने नगरकोटी बताउँछन्, ‘यो लेखक त चलेकै हो । यसको त ५ हजार प्रति किताब छाप्यो भने बिक्री हुन्छ भनेर प्रकाशकले पुस्तक छाप्छन् तर २ हजार पनि बिक्दैन । त्यस्तो अवस्थामा जति अर्डर आयो त्यति छाप्ने गर्‍यो भने प्रकाशकले घाटा बेहोर्नुपर्दैन ।’

कुनै पनि पुस्तकको पेजलाई लिएर मूल्यको विवाद गर्नुनपर्ने नगरकोटी बताउँछन् । ‘जेजस्तो अवस्थामा पनि दोस्रो संस्करण नआउने भएकाले पाठकले आफूलाई विशेष नै महसुस गर्छन् भन्ने हो । एउटा पुस्तकको पेज कति छ ? मूल्य कति छ ? भन्ने कुरा मेरा लागि गौण विषय हो । के पुस्तक कागज मात्रै हो र ? लेखकको सोच र सिर्जनाको कुनै मूल्य हुँदैन ? राइटरको क्रियटिभिटीको मूल्यलाई कागजको मूल्यले नजरअन्दाज गर्न मिल्दैन,’ नगरकोटी प्रश्न गर्छन् ।

नरगकोटीको ‘कल्पग्रन्थ’ नपढे पाठकले के गुमाउँछन् त ? नगरकोटीको जवाफ सिधा छ, ‘आई हेट नगरकोटी भन्ने थुप्रै छन् । त्यो त राम्रो कुरा हो नि । त्यो त उसको इन्टेलेक्चुअल स्टेटमेन्ट हो । आई हेट नगरकोटी भन्नु उसको बौद्धिक पाटो हो । कम्तीमा त्यो भन्नका लागि पनि उसले धेरै पढेको छ नि त । हामीले फरक विचारको सम्मान गर्नैपर्छ ।’

१७ पाठकलाई नगरकोटीको ‘बर्थडे सरप्राइज’

बुधबार, मंसिर १७ गते । नगरकोटीको जन्मदिन हो । उनले यसपटकको जन्मदिनमा १७ जना पाठकलाई ‘कल्पग्रन्थ’ उपहार दिने घोषणा गरेका छन् । प्रिमियम संस्करण मात्रै आउने भएकाले पुस्तक पाउने ती १७ जना पाठकले आफूलाई विशेष महसुस गर्छन् भन्ने विश्वास नगरकोटीको छ ।

‘१७ जना प्यासनेट बुक लभरलाई झोलासहित उपहारका रुपमा ढोकैमा किताब पठाउन मैले प्रकाशकलाई अनुरोध गरेको छु । ताकि मेरो बर्थडे गिफ्टका रुपमा कल्पग्रन्थ पाएर उनीहरु खुसी होऊन्,’ नगरकोटी भन्छन् ।

प्रकाशित : मंसिर १७, २०७७ ११:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×