निधि, कोइराला र सिंहबीच भेटवार्ता- समाचार - कान्तिपुर समाचार

निधि, कोइराला र सिंहबीच भेटवार्ता

रासस

काठमाडौँ — नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले शनिबार भेटवार्ता गरेका छन् । कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिएसँगै पार्टीमा प्रभावशाली मानिनुहुने उनीहरूको भेटलाई कांग्रेसवृत्तमा अर्थपूर्णरूपमा हेरिएको छ ।


नेता सिंहको निवास चाक्सिबारीमा भएको भेटमा उनीहरूबीच मुलुकको राष्ट्रिय राजनीति र कांग्रेस आसन्न महाधिवेशनलगायत विषयमा छलफल भएको नेता सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिए । उनीहरूबीच संवैधानिक बाध्यतालाई समेत ख्याल गरेर आसन्न महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नुपर्ने, प्रधानमन्त्री शेरबहादुर देउवाले भनेजस्तै सबै नागरिकलाई यथाशीघ्र कोरोनाविरुद्धको खोप दिलाउन सरकारले ध्यान दिनुपर्नेलगायत विषयमा छलफल भएको थियो ।

कांग्रेसका संस्थापक नेताहरू विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका सुपुत्र उनीहरू तीनै जनाले आगामी महाविधेशनका लागि पार्टीको केन्द्रीय सभापतिमा दाबी गर्दै आएका छन् । यसअघि पनि उनीहरूले एकअर्काको निवासमा पालैपालो भेटवार्ता गरेका थिए ।

प्रकाशित : श्रावण १६, २०७८ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्

टोकियो ओलम्पिक : १९ स्वर्णसहित चीन शीर्ष स्थानमा

रासस

काठमाडौँ — जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन १९ स्वर्ण पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । 

पदक तालिका : रोयटर्स

चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कांस्य पदक प्राप्त गरेको छ । जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले १७ स्वर्ण, चार रजत र सात कांस्य पदक प्राप्त गरेको छ भने अमेरिकाले १६ स्वर्ण, १७ रजत र ११ कांस्य प्राप्त गर्न सफल भएको छ । यस्तै १० स्वर्ण, १४ रजत र १० कास्य पदक प्राप्त गर्दै रूस ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ ।

यसैगरी अस्ट्रेलिया १० स्वर्ण, ३ रजत र १२ कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । बेलायत सात स्वर्ण, नौ रजत र नौ कांस्यसहित छैटौँ, दक्षिण कोरिया पाँच स्वर्ण, चार रजत र ६ कांस्यका साथ सातौँ, नेदरल्यान्ड्स तीन स्वर्ण, सात रजत र पाँच कास्य जित्दै आठौँ, फ्रान्स तीन स्वर्ण, पाँच रजत र ६ कांस्यका साथ नवौँ तथा जर्मनी तीन स्वर्ण, चार रजत र नौ कांस्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ७० देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आ-आफ्नो खेलमा प्रतिस्पर्धा गरेका थिए ।

पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिएका छन्। परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रि स्टाइल, सिंहले १०० मिटर फ्रि स्टाइल तथा चौधरीले १०० मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : श्रावण १६, २०७८ ०८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×