१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

ओलीले अध्यक्षबाट राजीनामा दिए पार्टी एकता हुन्छ : झाँक्री 

'प्रधानमन्त्री ओलीको स्वेच्छाचारी, निरंकुश कदमले संविधान र व्यवस्थामाथि जुन प्रहार गर्नुभयो त्यसलाई आजको समाजले बालुवाटारबाट बालकोटको बार्दलीमा पुर्‍याउनु थियो र पुर्‍यायो'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्री पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएकी छन् । पार्टी र कम्युनिस्ट आन्दोलनलाई अहिलेको अवस्थामा पुर्‍याउने मुख्य जिम्मेवार अध्यक्ष ओली भएको भन्दै सांसद झाँक्रीले राजीनामा गर्न भनेकी हुन् । 

ओलीले अध्यक्षबाट राजीनामा दिए पार्टी एकता हुन्छ : झाँक्री 

पार्टी एकताका लागि माधवकुमार नेपाल पक्षले १० बुँदे प्रस्ताव मानेर जान नसक्ने झाँक्रीको भनाइ थियो । एमाले विवाद समाधान गर्न गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको थियो । अध्यक्ष ओली पक्ष र कार्यदलमा रहेका नेपाल पक्षका नेताहरूले उक्त सहमति मानेर जानुपर्ने बताइरहेका छन् भने नेता नेपालले त्यो मान्न नसकिने अडानमा छन् ।

नेपाल निकट अनेरास्ववियुले शनिबार आयोजना गरेको अखिल फोर्सको भेलामा झाँक्रीले केपी ओलीलाई अध्यक्ष मानेर एमालेमा बस्न नसकिने बताइन् । 'यो कम्युनिस्ट आन्दोलन धरासयी गर्ने तपाईं राजीनामा गर्ने चेस्टा गर्नुहुन्छ कि गर्नुहुन्न ?,' उनको प्रश्न थियो ।

संसद् र संविधान जोगाउनका लागि नेपाल पक्षले गरेको विद्रोहले वैधता पाएको अवस्थामा मुलुकको राजनीतिलाई अहिलेको अवस्थामा पुर्‍याउने ओली बाहिरिनुपर्ने झाँक्रीको भनाइ थियो । 'आज हामीले गरेको विद्रोहले वैधता प्राप्त गरेको छ,' उनले भनिन्, 'राजनीतिलाई यो अवस्थामा पुर्‍याउने पात्रहरूले राजनीतिबाट बाहिर भएको अवस्थामा पार्टी एकता हुन्छ ।'

एमालेको नवौं महाधिवेशनबाट ओली पार्टी नेतृत्वमा आएयता संगठनले सही किसिमले काम गर्न नसकेको झाँक्रीको भनाइ थियो । आफ्नै जिन्दगीमा, आफ्नै मिहिनेतले प्राप्त गरेको दुई तिहाइको सरकारलाई ढलाउनमा ओलीले प्रधानमन्त्रीका रूपमा चालेका कदम दोषी रहेको उनको भनाइ थियो ।

पार्टी एकता हुनका लागि सबैबीच समान धारणा हुनुपर्ने झाँक्रीले अडान राखिन् । 'समान धारणा नबन्दासम्म सँगै हिँड्ने अवस्था बन्दैन,' उनले भनिन्, '२०७७ पुस ५ र २०७८ जेठ ८ मा संसद् विघटन भयो । त्यसलाई हामीले प्रतिगमन भनिरहेका छौं, उहाँहरू जनादेश प्राप्त गर्न भनिरहनुभएको छ ।'

संसद् विघटनलाई प्रतिगमन र जनादेश भनेर एकता हुन नसक्ने उनको भनाइ थियो । एकताका लागि गठित कार्यदलमा रहेका नेताहरूलाई यस विषयमा कुरा गर्न उनले आग्रह गरिन् । 'प्रतिगमन हो भने प्रतिगमनकारीलाई शिरमा राखेर जान्छौ कि के गर्छौ ? प्रतिगमन होइन भने किन सर्वोच्चसम्म पुगेका छौं ?,' कार्यदलमा रहेका नेताहरू भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्तलगायतलाई उनको प्रश्न थियो ।

झाँक्रीले आफू पार्टी एकताविरोधी नभएको भन्दै परिस्थितिमा के परिवर्तन आएको हो र पार्टी एकता गर्न लागेको हो भनेर प्रश्न गरेकी छन् । 'म पार्टी एकताविरोधी होइन । पार्टी एकता चाहने मान्छे हो । अहिले पार्टी एकताको कुरा गर्नेहरूले एक्लाएक्लै पार्टी गठन गर्दा त्यसमा सहभागी नहुने मान्छे हो,' उनले भनिन्, 'राजनीतिमा के फेरबदल आयो, परिस्थितिमा के परिवर्तन आयो र उहाँहरूमा के परिवर्तन आयो ?'

प्रतिनिधिसभा पुनःस्थापना लागेको एमालेको नेपाल पक्षलाई ओली पक्षले गलत सावित गर्न खोजिरहेको झाँक्रीको भनाइ थियो । असार २७ मा भएको १० बुँदे सहमतिले अहिलेको राजनीतिक परिस्थितिको जवाफ नदिने उनले बताइन् । 'हामीलाई गलत सावित गर्न खोज्दै हुनुहुन्छ ?,' उनले भनिन् । पार्टी भित्रको विवाद दुई नेताको व्यक्तिगत लडाइँ नभएको भन्दै विधि, पद्धति र विचारमा भएको फरकपनले आएको उनको भनाइ थियो । 'गाला जोडेरमात्रै पार्टी एकता हुँदैन । एजेन्डामा कसले कुरा गर्दैछ भन्ने महत्वपूर्ण हो । सैद्धान्तिक, राजनीतिक, नैतिक रूपमा को खडा भएको छ भन्ने महत्वपूर्ण हो,' उनले भनिन् ।

केपी ओली नेतृत्वको दुई तिहाइको सरकार आफूहरूले विश्वासको मत नदिएर नढलेको झाँक्रीको दाबी थियो । ओलीले वैशाख २७ गते विश्वासको मत लिँदा नेपाल पक्षका २८ सांसद संसद्‍ बैठकमा अनुपस्थित भएका थिए ।

'दुई तिहाईको सरकार गिराउने कुरा हामीले विश्वासको मत नहालेर हो ? काम गर्न नदिएर बालुवाटारबाट बालकोटको बार्दलीमा पुग्नुभएको हो ?,' उनले भनिन्, 'तत्कालीन प्रधानमन्त्री ओलीलाई आज यो अवस्थामा पुर्‍याउनका लागि विरोधीले काम गरेन भन्ने बाह्य कुरा हो । उहाँको वास्तविक अन्तरनिहीत स्वेच्छाचारी, निरंकुश कदमले संविधान र व्यवस्थामाथि जुन प्रहार गर्नुभयो त्यसलाई आजको समाजले बालुवाटारबाट बार्दलीमा पुर्‍याउनु थियो र पुर्‍यायो ।'

प्रकाशित : श्रावण १६, २०७८ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?