विदेश जानेलाई खोप लगाउनै सास्ती

काठमाडौँ — दिउँसोको साढे एक बजेको छ । चर्को घाममा छाउनीस्थित विरेन्द्र सैनिक अस्पताल परिसरमा लामो लाइनमा उभिएका छन् मानिसहरु । कोही छाता ओढेर उभिएका थिए भने कोही हातमा पानीको बोतल समाएका । चर्को घामले घण्टौं बस्दा असिनपसिन देखिन्थे । कोभिडविरुद्धको खोप लगाउनका लागि घण्टौंदेखि उभिरहेका थिए उनीहरु ।

विदेश जानेलाई खोप लगाउनै सास्ती

सामाजिक दूरी कायम गरेको देखिँदैन । कोरानाबाट बच्न खोपका लागि लाइन बसेका उनीहरु आफै संक्रमित हुने जोखिममा देखिन्थे । भीड व्यवस्थापनमा कसैको चासो गएको देखिँदैन । न त टोकन नै बाँडिएको थियो । खोपका लागि मानिसहरु अस्पतालको गेटदेखि ४ सय मिटरसम्म लाइनमा उभिरहेका थिए । कतिबेला पालो आउला भनेर पर्खाइमा बसेका देखिन्थे ।

लाइनमा उभिन नसकेर भुइँमा थ्याच्च बसेर टोलाइरहेकी भेटिइन् धादिङकी ३९ वर्षीया माइली मोक्तान । उनका श्रीमान् पनि वैदेशिक रोजगारमै छन् । मोक्तान भन्छिन्, ‘५ जना छोराछोरी छन् । आर्थिक अवस्था उकासियोस् भनेर जान लागेको हो कतार ।’ उनले खोपका लागि ३ दिनदेखि धाइरहेको बताइन् । ‘अस्ति पनि बिहान आएको खोप सिद्धियो भने । हिजो पनि उस्तै भयो । खै आज पाउने हो कि होइन,’ निराश हुँदै उनले भनिन् ।

माइलीसँगै खोपको पर्खाइमा छाता ओढेर बसेका थिए सुनसरीकी २३ वर्षीय अजिता राई, सिन्धुलीकी २३ वर्षीया रेखा तामाङ र झापाकी २७ वर्षीया सविता पुरी । अजिता र रेखा दुवै जना एउटै मेनपावरबाट कतार जान लागेका हुन् ।

अजिता खोप लगाउनका लागि मनमैजुबाट सातै बजे ‘पठाओ’ चढेर खोप केन्द्र आइपुगेकी रहिछन् । उनले अनलाइन रेजिस्ट्रेसन गरेपनि घण्टौं लाइन बस्नुपरेकोमा दु:ख व्यक्त गरिन् । ‘टोकन दिएको भए राम्रो हुन्थ्यो ।खोप सिद्धियो भनेर पठायो भने झ्याउ हुन्छ ।’ उनले लाइनतिर नियाल्दै भनिन् ।

लाइनमै थकित मुद्रामा भेटिए झापाका ३१ वर्षीय सुरज महतो । विगत ३ वर्षदेखि कतारमा काम गरिरहेका उनी छुट्टीमा घर आएका थिए । लकडाउन भयो । त्यसपछि उनी पुन: जान पाएका छैनन् । २ पटक त टिकट नै क्यान्सिल भइसक्यो । महतो भन्छन्, ‘खोप लगाएपछि मात्र कहिले जाने भन्ने कन्फर्म हुन्छ । नलगाएपछि जान पाइँदैन ।’

उनले खोपका लागि ५ बजेदेखि नै लाइनमा बसेको बताए । उनी खोप लगाउनका लागि धाउन थालेको दुई दिन भइसक्यो । ‘हाम्रो मुख्य समस्या त के छ भने यहाँबाट खोप त लगाइयो तर फेरि खोपको प्रमाणिकरण कार्ड लिन अन्तै जानुपर्ने रे,’ महतोले भने ।

जितपुरका आशिष खतिवडाले लाइन व्यवस्थापनमा सम्बन्धित निकायले चासो नदिएको भन्दै आक्रोश पोख्दै भने, ‘यतिका बेर लाइनमा उभिएका छौं । आफैले संक्रमण होला भन्ने डर । प्रमाणिकरणका लागि पनि लाइन बस्ने होला । दुनियाँमा कस्तो–कस्तो सिस्टम आइसक्यो । हामी लाइन बसेको बसै ।

कतार जाने सोचमा छन् कञ्चनपुरका माधव बोहोरा । जानका लागि खोप अनिवार्य बनाइएपछि उनी खोप लगाउनका लागि काठमाडौं आएका छन् । हातमा बोतल अनि छाता ओढेर बसेका बोहोराले मलिन अनुहार लगाउँदै भने, ‘यत्रो लाइन भइसक्यो । खोपको अझै पत्तो छैन । बिहान ७ बजेदेखि बसेको । खाना खाएको छैन । लाइन बस्ने सबै गरिबकै छोरा त हो । धनी मान्छे यसरी लाइन बस्दैन ।’

बोहोरा भन्छन्, ‘खोप लगाउनको लागि यत्रो गाह्रो छ । आफ्नो देशमा त काम पाउन गाह्रो छ । बाहिर जानको लागि पनि यस्तो दु:ख । जोसुकै नेता आओस् जनताको दु:ख सधैं हुने रहेछ ।’

वैदेशिक रोजगारीमा जानेहरुका लागि सरकारले वीरेन्द्र सैनिक अस्पताल तथा नेपाल प्रहरी अस्पताल खोप केन्द्रका लागि तोकेको छ । दुईवटा मात्र खोप केन्द्र तोकिँदा अत्यधिक भीड छ ।

प्रकाशित : श्रावण १५, २०७८ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?