चैत मसान्तसम्म सबै नेपालीलाई खोप : स्वास्थ्य मन्त्रालय- समाचार - कान्तिपुर समाचार

चैत मसान्तसम्म सबै नेपालीलाई खोप : स्वास्थ्य मन्त्रालय

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले चैत मसान्तसम्म सबै नेपालीलाई खोप लगाइने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै हालसम्म ९७ लाख ८२ हजार ८ सय ५० डोज खोप प्राप्त भइसकेको र असोज मसान्तभित्र थप ८६ लाख मात्रा प्राप्त हुने जनाएको छ । ५४ लाख १ हजार ६ सय ८६ जनाले खोप लगाइसकेका छन् । 

कोभ्याक्स सुविधाको १ करोड १३ लाख डोज पनि क्रमशः प्राप्त हुँदै जाँदा चैतसम्म सबै खोपको पहुँचमा पुग्ने मन्त्रालयले जनाएको छ । १२ देखि १८ वर्ष उमेर समूहका किशोर–किशोरीलाई अमेरिकाबाट फाइजर खोप खरिद गरेर लगाउने योजना मन्त्रालयले सार्वजनिक गरेको छ ।

मन्त्रालयले कोभ्याक्सबाट लागत सहभागितामा १ करोड ५० लाख डोज र १२ वर्षमाथिका बालबालिकाका लागि ६० लाख डोज फाइजर खोप खरिद प्रक्रिया सकारात्मक रूपमा कार्य अगाडि बढिरहेको जनाएको छ । ‘गाभी कोभ्याक्सबाट २० प्रतिशत जनसंख्याका लागि निःशुल्क प्राप्त हुने १ करोड १३ लाख डोज पनि क्रमशः प्राप्त हुँदै जाँदा चैत मसान्तसम्म खोप सम्पूर्ण नेपालीको पहुँचमा पुग्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

भारतको कोभिसिल्ड, चीनको भेरोसेल, अमेरिकाको जान्सेन ल्याइएकामा १६ लाख २१ हजार ७ सय ५४ जनाले पूर्ण मात्रा लगाइसकेका छन् । पहिलो डोज मात्रै लगाउने ३७ लाख ७९ हजार ९ सय ३२ जना छन् । १८ लाख २८ हजार ४ सय ८४ जना भने कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा छन् । भारतको सिरम इन्स्टिच्युटबाट २० लाख खोप खरिद गर्न सरकारले अग्रिम भुक्तानी दिए पनि १० लाख डोज खोप अझै आएको छैन । स्वास्थ्य मन्त्रालयले यो खोप असोज मसान्तसम्म आइसक्ने दाबी गरेको छ ।

सरकारले चीनको सिनोफार्मबाट खरिद गरेको ४० लाख डोज खोप पनि आइसकेको छ । थप ६० लाख खोप खरिदको सम्झौता अघि बढेको मन्त्रालयले जनाएको छ । जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत अनुदानमा १६ लाख डोज खोप दिने मन्त्रालयले जनाएको छ । असोज मसान्तभित्र प्राप्त खोपको डोज संख्या १ करोड ८३ लाख ८२ हजार ८ सय ५० पुग्ने मन्त्रालयको आकलन छ ।





प्रकाशित : श्रावण १५, २०७८ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्

खैरो हेरोइनसहित ३ जना पक्राउ

भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको बेदकोट नरगपालिका ३ बाट प्रहरीले खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो उनीहरुलाई करिब २० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका १ तिलकपुरका ३७ वर्षीय रमेश दमाइ र ४२ वर्षीय तपेन्द्र स्वार, भारतको उत्तरप्रदेश बरेलीका २८ वर्षीय मोहमद आरिफ रहेका छन् । उनीहरुबाट दुई वटा मोटरसाइकल, लागूऔषध तौल गर्न प्रयोग गरिने डिजिटल तराजु मेत बरामद भएको उनले बताए ।


प्रकाशित : श्रावण १५, २०७८ १८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×