कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अप्ठ्यारो मोडमा ठाकुर

जसपामा लत्रिएर बस्न संकट परेपछि नयाँ पार्टी दर्ता गर्ने तयारी 
कुलचन्द्र न्यौपाने

काठमाडौँ — नेता महन्थ ठाकुर जेठ ४ गतेको समझदारीबाट विचलित नभएको भए सम्भवतः राजनीतिले अर्कै मोड लिने थियो । जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र ठाकुरले त्यस दिन ८ बुँदे सहमति गरेका थिए । जसको सार आफ्नै नेतृत्व वा राष्ट्र्रिय सहमतिको सरकार बन्ने भएमात्रै जसपा सत्ता राजनीतिमा संलग्न हुने भन्ने थियो । यो सहमतिले राष्ट्रिय राजनीतिलाई कम्पन गराएको थियो । सग्लो रूपमा जसपा जता उभिन्छ, राष्ट्रिय राजनीति त्यतै ढल्कने स्थिति थियो ।

अप्ठ्यारो मोडमा ठाकुर

ठाकुरपक्षीय एक नेताका अनुसार सहमतिको २४ घण्टा बित्न नपाउँदै ठाकुर वरिष्ठ नेता राजेन्द्र महतोको ‘चक्रव्यूह’ मा परे । दलको नेतामा महतो चुनिएको पत्र संसद् सचिवालयमा पठाउन लगाइयो । यादव चिढिए । त्यसपछि फेरि कित्ता छुट्टियो । यादव कांग्रेस र माओवादी गठबन्धनबाट सरकारको विकल्प खोज्नेतिरै लागे । ठाकुर सके सरकारलाई टिकाउने, नसके प्रतिनिधिसभा विघटन गर्नका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने बाटामा लागे । ठाकुरको आडमै ओलीले विश्वासको मतसमेत नलिई संविधानको धारा ७६ (५) को सरकार गठनका लागि ‘मार्गप्रशस्त’ गरे ।

प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई निर्वाचनमा धकेल्न ओलीलाई ठाकुर र महतोले साथ दिए । प्रतिनिधिसभा विघटनपछि महतोको नेतृत्वमा ठाकुर पक्ष सरकारमा गयो । ११ मन्त्रालय पाएपछि ठाकुर पक्षले इतिहासमै मधेसमाथि न्याय भएको प्रतिक्रिया दियो । प्रतिनिधिसभा विघटनपछिको मन्त्रिपरिषद् विस्तारलाई अदालतले उल्टाइदिएपछि ठाकुरको राजनीतिक यात्रामा ठेस लाग्यो । निर्वाचन आयोगले यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि ठाकुरपक्षीय नेताको पदीय हैसियतसमेत गुमेको छ ।

संविधानको धारा ७६ (२) अनुसार गठबन्धनको सरकार बनाउन कसरत भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओलीलाई सत्ताच्युत गराउन ठाकुरलाई प्रधानमन्त्री स्वीकार्न सकिने बताएका थिए । त्यसको केही दिनअघि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निवासमै गएर ठाकुरलाई प्रधानमन्त्री बन्न आग्रह गरेका थिए । त्यसपछि ओलीले पनि आफू हट्ने अवस्थामा आफ्नै प्रस्तावमा ठाकुरलाई प्रधानमन्त्री बनाउने मन्त्रणा सुनाए । ‘तपाईं प्रधानमन्त्री बन्न लाग्नु भएको हो ?’ भन्ने प्रश्नमा त्यति बेला ठाकुरले भन्थे, ‘यो मेरा लागि प्लिजिङ (आनन्द) को विषय हो ।’

स्रोतका अनुसार ठाकुरलाई प्रधानमन्त्री बनाउन महतो तयार थिएनन् । उनले आफैं उपप्रधानमन्त्री बनेर सरकारमा जाने सपना देखिसकेका थिए । ठाकुर प्रधानमन्त्री बन्दा यो अवसर उनलाई मिल्दैनथ्यो । महतोकै योजनाअनुसार आफ्ना पक्षमा रहेका सांसदलाई लिएर उमेर र राजनीतिको उत्तरार्द्धमा रहेका ठाकुरलाई भक्तपुरको रिसोर्टमा पुर्‍याइयो । जसको सम्पूर्ण प्रबन्ध महतोको आग्रहअनुसार ओलीका विश्वासपात्र सांसद महेश बस्नेतले गरेका थिए । २० जना सांसदको हस्ताक्षर जुटाएर विधि, प्रक्रियाबाहिरबाट महतोले आफू संसदीय दलको नेता बनेको घोषणा गरे । जसलाई ठाकुरले स्वीकार्नुको विकल्प थिएन । त्यति बेला पार्टी केन्द्रीय कार्यकारिणी समितिमा यादव र संसदीय दलमा ठाकुर बहुमतमा थिए ।

राजनीतिक विश्लेषक सुरेन्द्र लाभका अनुसार मधेस एजेन्डाका पक्षपाती ठाकुर र अनुदार ओलीबीचको साँठगाँठलाई नेपाली राजनीतिमा बेलाबखत हुने रहस्यमय पहेली हो । ओली र ठाकुरको मिलनलाई घरेलु स्वार्थको गठजोड मात्रै मान्न नसकिने कतिपयको विश्लेषण छ । बाह्य शक्तिको आड र भरोसाले मात्रै दुई विपरीत ध्रुवका नेतालाई एक ठाउँमा ल्याएको बुझाइ धेरैको छ । तराई–मधेसमा ठाकुरलाई ‘मधेस आन्दोलन’ को भीष्मपितामहकै रूपमा कार्यकर्ताले लिन्छन् । जसपाको आधिकारिकताको विवाद टुंग्याउन सोमबार निर्वाचन आयोगले ‘हेडकाउन्ट’ का लागि बोलाएका बेला फौजदारी अभियोगमा जेल परेका निलम्बित सांसद रेशम चौधरीले पनि ठाकुरलाई त्यही दर्जा दिए ।

महाभारत युद्धमा भीष्मपितामह बाध्यताले युधिष्ठिर र अर्जुनसँगको लडाइँमा उत्रनुपरेको प्रसंग उनले उल्लेख गरेका थिए । ‘महन्थजी शान्ति, सादगी र कुनै लोभ र आकांक्षा नभएको नेता हुनुहुन्छ । मधेस आन्दोलनदेखि नै उहाँ प्रयोगमा पर्दै आउनुभएको छ । अहिले सत्तामा जाने उच्च महत्त्वाकांक्षा रहेका नेताहरूले प्रयोग गरेर घर न घाटको अवस्था ल्याइदिएका छन्,’ ठाकुरनिकट एक नेताले भने ।

विश्लेषक लाभको बुझाइ अलि फरक छ । ‘महन्थजी परिपक्व र सादगी नेता हो । अकस्मात् राजनीतिमा आउनुभएको होइन । दुर्घटनावश कांग्रेस छाड्नुभएको पनि होइन । तर, ओलीसँगको साँठगाँठ कसरी भयो, मलाई अचम्म लाग्छ,’ उनले भने, ‘अहिलेको राजनीतिक परिदृश्यले मधेसको अवस्था तरल बनेको छ ।’ ठाकुरसँग लामो राजनीतिक संगत गरेका वृषेशचन्द्र लालको बुझाइमा आजको अवस्था आउनुमा तत्कालीन राजपा र समाजवादीबीच रातारात एकता हुनुलाई कारण ठान्छन । ‘विचार भिन्न थियो । एजेन्डा भिन्न थिए । भोट बैंक भिन्न थियो । नेताहरूको व्यवस्थापन मिलेको थिएन । यी सबै नमिलाई भएको एकताले विभाजनको मोड लिन्छ भन्ने मलाई त्यसै दिन लागेको थियो,’ उनले भने ।

विभाजनपछिको एकता कति असहज हुन्छ भन्नेमा पूर्वराजपाका ठाकुर, महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादव आफैं भुक्तभोगी छन् । उनीहरू ६ जनाले नेतृत्व गरेको पार्टी मिलेर राजपा बनेको थियो । सुरुमा दुई वर्षजति ठाकुरले एकीकृत राजपाको नेतृत्व लिए । त्यसपछि आलोपालो प्रणाली लागू गर्नुपर्छ भनेर महतोले ठाकुरलाई निकाले । दुई/दुई महिनाको आलोपालो प्रणाली चल्यो । २०७७ वैशाख १० गते राजपा र समाजवादी पार्टीबीच एकता भएको थियो । त्यो एकता गराउने मुख्य भूमिकामा महतो नै थिए । एकता भएदेखि नै पार्टी शक्तिको खिचातानी उनी आफैंले सुरु गरे । धेरैपटक अध्यक्ष यादव र महतोबीच भनाभनसमेत चलेको थियो । ‘एकथरी पार्टीलाई विभाजन गरेर माथि आउन खोज्नेहरू छन् । अर्काथरी राजनीति भनेकै सत्ता हो, सत्ताबाहेक अरू केही होइन भन्नेहरू छन् । यी सबैको स्वार्थमा महन्थजी पिसिँदै अहिले यो अवस्थामा आइपुग्नुभएको छ,’ नेता लालले भने, ‘तर, मधेसको एजेन्डा महन्थजीसँगै छ । उहाँको सादगीपन, इमानदारी र निष्ठाले फेरि पनि इतिहासको चक्र घुमेर आइपुग्छ ।’

पार्टीको आधिकारिकता यादव पक्षलाई दिएपछि ठाकुर पक्ष नयाँ पार्टी दर्ता गर्ने तयारीमा छ । ठाकुर पक्षलाई आयोगले जसपामै रहने विकल्प पनि दिएको थियो । तर ‘हेड काउन्ट’ हुनुअघि दुवै पक्षले आयोगमा गएर आफूहरू सँगै बस्न नसक्ने बयान दिएका कारण नैतिक रूपमा पनि ठाकुर पक्षलाई लत्रिएर जसपामा बस्न संकट छ । यादवले जसपाको ५१ केन्द्रीय कार्यकारिणी समितिलाई ३४ सदस्यीयमा झारेको छन् । ठाकुर र उनीपक्षीय नेताहरूको पदीय हैसियत अब जसपामा छैन । महतो, भण्डारी, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण जस्ता नेताहरूको भविष्यसमेत अन्योलमा परेको छ ।

निर्वाचन आयोगको निर्णयउपर अदालतमा जाने निर्णय ठाकुर पक्षले गरे पनि त्यसलाई केही समय आफ्ना जनप्रतिनिधि जोगाउने रणनीतिका रूपमा हेरिएको छ । ठाकुर पक्षमै रहेका नेता लाल पार्टी गुमाउनुपरे पनि जनताको माझबाट स्थापित हुन सकिने विकल्प रहेको बताउँछन् । ‘हामीसँग एजेन्डा छ । तिनलाई अब मधेसी जनताको माझमा उठाउँदै जान्छौं । उपेन्द्रजीसँग सत्ता होला । २०६२/६३ सालमा भर्खर जन्मेकाहरू पनि अहिले १६ वर्ष पुगिसकेका छन्,’ उनले भने, ‘धेरै आत्तिने अवस्था छैन ।’

प्रकाशित : श्रावण १४, २०७८ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?