२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

मोफसलमा पनि बढ्दै संक्रमण

मत्थर हुँदै गएको संक्रमण पुनः बिस्तारै उकालो लाग्दा परीक्षण र उपचार गराउन स्वास्थ्य संस्थामा चाप 
प्रदेश ब्युरो

काठमाडौँ — देशभर कोरोना संक्रमण फेरि विस्तार हुन थालेको छ । जसका कारण देशका विभिन्न स्थानका अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको छ । प्रदेश १ मा कोभिड–१९ परीक्षण गरिएकामध्ये ३० दशमलव ६३ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

मोफसलमा पनि बढ्दै संक्रमण

संक्रमितमध्ये विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रका आईसीयू, भेन्टिलेटर, एचडीयू पूर्ण रूपमा भरिएका छन् । केन्द्रमा २१ आईसीयू, १५ भेन्टिलेटर, ४७ एचडीयू र २८ जेनेरल शय्या छन् । अस्पतालका अनुसार ४ संक्रमित जेनेरल शय्यामा भर्ना भएका छन् । यस्तै, कोसी अस्पतालको आईसीयूमा २० र भेन्टिलेटरमा ५ जना बिरामी भर्ना छन् ।

झापाको मेची अस्पतालको एचडीयूमा २३ र जेनेरलमा १५ गरी ३८ जना उपचाररत छन् । अस्पतालमा ५८ जेनेरल, ४ आईसीयू, ५ भेन्टिलेटर, ५० एचडीयू गरी कुल १ सय १७ शय्या छन् । विराटनगरस्थित नोबेल अस्पतालको कोभिड वार्डमा आईसीयूमा १ र एचडीयूमा २ गरी ३ जना उपचाररत छन् । अस्पतालमा ८२ आईसीयू, २९ भेन्टिलेटर, १ सय १५ एचडीयू बेड छन् । यस्तै, विराट शिक्षण अस्पतालको कोभिड वार्डअन्तर्गत ४० संक्रमित उपचाररत छन् । अस्पतालमा ३३ आईसीयू, १७ भेन्टिलेटर र ९३ एचडीयू गरी १ सय २६ शय्या छन् । न्युरो अस्पतालमा १९ संक्रमित उपचाररत छन् ।

झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका २ सय शय्यामध्ये ३३ मा बिरामी छन् । त्यस्तै, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा पनि एक सातायता उपचार गराउन आउने संक्रमितको संख्या बढेको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार हाल ५९ संक्रमितको उपचार भइरहेको छ ।

प्रदेश २ मा पनि बढ्दो

स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश २ मा संक्रमितको संख्या सातायता थपघट भइरहेको छ । पछिल्ला दिनहरूमा पीसीआर परीक्षण गराउनेको संख्या न्यून छ । तर, भाइरसको जस्तो लक्षण देखिएका बिरामीको अस्पताल र क्लिनिकमा भने भीड बढेको छ । वीरगन्जको नारायणी अस्पताल र तराई अस्पतालमा १/१ संक्रमित उपचारत छन् । प्रदेशभर बुधबार जम्मा १८ संक्रमित थपिएका छन् ।

वाग्मतीमा दैनिक संक्रमण बढ्यो

वाग्मती प्रदेशअन्तर्गत (काठमाडौं उपत्यकाबाहेक) का जिल्लामा दैनिक रूपमा कोरोना संक्रमण बढ्दो छ । मकवानपुरमा बुधबार थप ६७ जनामा संक्रमण भएको पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ५९ जनामा पीसीआर र ७४ जनामा एन्टिजेन परीक्षण गर्दा क्रमशः ५१ जना र १६ जना गरी थप ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताए । मंगलबार ६६ संक्रमित थपिएका थिए । जिल्लामा हाल ५ सय ५२ संक्रमित छन् । तीमध्ये हेटौंडा अस्पतालमा २८ जना उपचाररत रहेका हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाईंले बताए ।

यसैगरी चितवनमा संक्रमितको संख्या असार दोस्रो सातायता निरन्तर बढ्दो छ । चितवन स्वास्थ्य कार्यालयका अनुसार १ सय १३ जना संक्रमितको भरतपुरका सरकारी र शिक्षण अस्पतालमा उपचार भइरहेको छ । भरतपुर अस्पतालका डा. प्रमोद पौडेल अस्पतालमा संक्रमितको चाप बढ्न थालेको बताउँछन् । काभ्रेमा साउन १ यता ६ सय ९९ संक्रमित थपिएका छन् । तीमध्ये ५६ जना बुधबार थपिएका हुन् । धुलिखेल अस्पतालका आकस्मिक सेवा विभाग प्रमुख डा. सानुकृष्ण श्रेष्ठले अस्पतालमा ३५ संक्रमित भर्ना भएका बताए ।

यस्तै, सिन्धुलीमा साताअघि शून्यमा झरेको संक्रमण फेरि बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पीसीआर परीक्षणको ४० प्रतिशत हाराहारीमा नतिजा पोजिटिभ आएको छ । सिन्धुलीमाढीको कोभिड अस्पतालमा ४५ जनाको उपचार भइरहेको छ ।

गण्डकीमा अस्पताल भरिँदै

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोभिड आईसीयू खाली छैन । कोभिड बिरामीका लागि ८५ बेड छुट्याइएको छ । तीमध्ये २५ आईसीयू रहेकामा सबै भरिएका हुन् । बुधबारसम्म ३९ एचडीयू बेड पनि भरिएका छन् । आइसोलेसनका २१ मध्ये १० वटामा संक्रमित छन् । पछिल्लो दुई सातायता संक्रमितको संख्या क्रमिक रूपमा बढेको अस्पतालका कोभिड फोकल व्यक्ति डा. डेभिड श्रेष्ठले बताए ।

प्रदेश सरकारले पोखराकै सिसुवामा सञ्चालन गरेको संक्रामक तथा सरुवा रोग अस्पतालमा पनि संक्रमित भरिएका छन् । अस्पतालमा ५७ बेड छन् । तीमध्ये ७ वटै आईसीयू बेड खाली छैनन् । १५ आइसोलेसन बेड सबै भरिएका छन् । ३५ एचडीयू बेडमध्ये १० वटा मात्रै खाली रहेको अस्पतालका कार्यकारी निर्देशक डा.विकास गौचनले बताए । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार पोखरा निजी अस्पतालमा भर्ना हुने संक्रमितको संख्यामा समेत वृद्धि हुँदै गएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ८ सय ४५ छन् । तीमध्ये ३ हजार ५ सय २३ होम आइसोलेसनमा छन् ।

लुम्बिनीमा सतर्कता

संक्रमण फेरि बढ्न थालेपछि लुम्बिनी प्रदेशका जिल्लाका अस्पतालहरूमा अक्सिजन प्लान्ट र अक्सिजनसहितका बेड निर्माण सुरु गरिएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. नन्दु पाठकका अनुसार विशेष अस्पतालमा अहिले ५३ बिरामी उपचाररत छन् । अस्पतालमा आईसीयूमा २० बेड क्षमता रहेकामा १७, कोभिड मेडिकल वार्डमा २३ मध्ये २० र आकस्मिकमा सबै १३ बेडमा संक्रमित छन् ।भैरहवास्थित भीम अस्पतालमा हाल १२ जनाको उपचार भइरहेको सूचना अधिकारी डा. सिद्धार्थ पाण्डेले बताए ।

दाङको बेलझुन्डी अस्पतालमा ६ जना उपचाररत रहेका छन् । जिल्लामा उपचाररत संक्रमितको संख्या २० रहेको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । अस्पतालमा संक्रमितका लागि १ सय बेड छुट्याइएको छ । नेपालगन्जको भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापाले अस्पतालमा २२ संक्रमित रहेको जनाए ।

कर्णालीमा अधिकांश होम आइसोलेसनमा

कर्णालीका हिमाली जिल्लामा समेत संक्रमण फैलिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार अहिले कर्णालीमा सक्रिय संक्रमितको संख्या ६ सय ३४ छ । तीमध्ये अधिकांश होम आइसोलेसनमा छन् । सबैभन्दा बढी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा २७ जना र त्यसपछि सुर्खेतस्थित प्रदेश अस्पतालमा १५ संक्रमित छन् । कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले पछिल्लो समय संक्रमितको संख्या बढे पनि अस्पतालमा भर्ना हुने कम रहेको बताए । उनका अनुसार प्रदेश अस्पतालको कोभिड विशेष अस्पतालमा २ सय संक्रमितलाई राखेर उपचार गर्न सकिन्छ ।

सुदूरपश्चिममा अस्पताल जाने कम

सुदूरपश्चिममा पनि केही दिनयता संक्रमण बढेको छ । तर, विगतजस्तै गम्भीर खालका बिरामीको संख्या भने न्यून छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा बुधबारसम्म २० जनाको उपचार भइरहेको छ । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार तीमध्ये २ जना बुधबार भर्ना भएका हुन् ।

प्रदेशकै दोस्रो ठूलो अस्पताल महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा २ संक्रमित उपचाररत छन् । सेती अस्पताल धनगढीमा संक्रमितका लागि ७९ बेड छन् । कञ्चनपुरको महाकाली अस्पतालमा ५० बेड छन् । महाकाली र कैलालीको टीकापुरमा ५० बेड थप्ने तयारी भइरहेको छ । बझाङ, बाजुरा, अछाम, दार्चुला, बैतडी र डोटीलगायत जिल्लामा हालसम्म कोरोनाका बिरामीका लागि प्रत्येक जिल्ला अस्पतालमा १० बेड छन् ।

-देवनारायण साह (मोरङ), प्रदीप मेन्याङ्बो (सुनसरी), अजित तिवारी (जनकपुर), प्रताप विष्ट (हेटौंडा), रमेशकुमार पौडेल (चितवन), नगेन्द्र अधिकारी (काभ्रे), राजकुमार कार्की (सिन्धुली), दीपक परियार (पोखरा), सन्जु पौडेल (लुम्बिनी), दुर्गालाल केसी (दाङ), ठाकुरसिंह थारू (नेपालगन्ज), चाँदनी कठायत (वीरेन्द्रनगर) र चित्रांग थापा (धनगढी)

प्रकाशित : श्रावण १४, २०७८ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?