कोभिड बिरामीले शय्या भरिँदै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिड बिरामीले शय्या भरिँदै

विज्ञ भन्छन्– ‘अर्को जोखिमको संकेत देखिएको छ । दोस्रो लहरमा जस्तै यसपटक पनि अक्सिजन अति आवश्यक पर्न सक्छ ।’

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालमा एक साताअघि कोरोनाका बिरामीको संख्या ६९ थियो । बुधबार अस्पताल पुग्दा झन्डै दोब्बर १ सय २४ संक्रमित उपचार गराइरहेका थिए । तीमध्ये ३२ जना आईसीयूमा छन् । अस्पतालका अनुसार बिरामीलाई अक्सिजनको आवश्यकता छ । उपत्यकाबाहिरबाट मात्र आउने गरेकामा अहिले उपत्यकाभित्रैका बिरामी भर्ना हुन थालेको कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले बताए ।


‘दोस्रो लहरको उच्च अवस्थामा कोभिड निमोनियाका बिरामी आउँथे, अहिले त्यही अवस्था देखिन्छ,’ डा. दासले भने, ‘बिरामी आउने संख्या एक सातायता व्यापक वृद्धि भएको छ ।’ हाल कोभिडको लक्षण देखिएको ५–७ दिनमै अवस्था बिग्रिने गरेको र बिरामीलाई अक्सिजनको निकै आवश्यकता पर्न थालेको उनले बताए । ‘हाम्रो आकलन अनुसार दोस्रो लहरमा जस्तै यस पटक पनि अक्सिजनको अति नै आवश्यकता पर्न सक्छ,’ वरिष्ठ छाती रोग विशेषज्ञसमेत रहेका डा. दासले भने, ‘बच्चाहरू आएका छैनन् । तर, दोस्रो लहरमा जस्तै हरेक उमेर समूहका व्यक्ति भर्ना भइरहेका छन् ।’

निजामती कर्मचारी अस्पतालमा सञ्चालित २२ शय्याको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) र १५ शय्याको आईसीयू बिरामीले भरिएका छन् । दुई–तीन दिनयता इमर्जेन्सीमा समेत संक्रमितको संख्या बढेको छ । यही क्रममा बिरामीको संख्यामा बढ्दै गए जनरल बेडमा समेत राख्ने तयारी थालिएको छ । अस्पतालका डा. सुमनबाबु मरहट्टाले ४–५ दिनयता बिरामीको संख्या बढ्न थालेकाले संक्रमण जटिलतातिर गएको स्पष्ट संकेत देखिएको बताए । ‘एक्कासि देखिएको यो वृद्धि दोस्रो लहरकै निरन्तरता जस्तो लाग्छ,’ उनले भने, ‘सबै उमेर समूहका व्यक्ति आइरहेका छन्, जटिलतासमेत दोस्रो लहरमा जस्तै देखिएको छ ।’ उनका अनुसार भर्ना भएका ५० प्रतिशतले हाई–फ्लो अक्सिजन लिइरहेका छन् । जसमा २५ प्रतिशतलाई ८ देखि १० लिटर प्रतिमिनेट अक्सिजन दिनुपरेको छ भने बाँकीलाई प्रतिमिनेट ४०–५० लिटर अक्सिजन सप्लाई गर्नुपरेको छ ।

संक्रमितले अस्पतालका शय्या भरिन थालेपछि सम्भावित अर्को जोखिम बढ्न थालेको छ । संक्रमणमा एकाएक वृद्धि र अस्पतालमा गम्भीर बिरामीको भर्ना दरले दोस्रो लहरको सुरुवाती संकेत गरेको विज्ञहरूले बताएका छन् । वैशाखताकाकै अवस्था आउन सक्ने पनि उनीहरूको चेतावनी छ । यही क्रममा संक्रमणको विस्तार भए अस्पतालहरूले अक्सिजनसहित उपकरणको चाँडै व्यवस्था गर्न पनि उनीहरूले सुझाव दिएका छन् । दिनहुँ बिरामी थपिने र गम्भीर बिरामी आउने क्रमले खतराको संकेत गरेको वीर अस्पतालका कोभिड उपनिर्देशक एवं छाती रोग विशेषज्ञ डा. अशेष ढुंगानाले बताए ।

दोस्रो लहरले उच्च रूप लिएका बेला वीरमा ९ शय्या क्षमताको आईसीयू सञ्चालित थियो । हाल १ सय १० शय्या क्षमताको भेन्टिलेटरसहितको आईसीयू सञ्चालनको तयारीमा छ । जसमध्ये १५ जना आईसीयू र ४ भेन्टिलेटरमा उपचाररत छन् । ‘भीडभाड बढ्यो, जनस्वास्थ्य मापदण्डको पालना भएन,’ अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमले भने, ‘भौतिक दूरी कायम गर्ने र पूर्ण रूपमा खोप नलगाउन्जेल कोरोना संक्रमण दर घट्दैन ।’ कोभिड–१९ युनिफाइड अस्पतालका रूपमा सञ्चालित वीरमा १ सय १ संक्रमित उपचाररत छन् । गत सातासम्म ७२ देखि ८० जना संक्रमित थिए । दोस्रो लहरको पिक समयमा वीरमा करिब ३ सय बिरामी भर्ना भएका थिए । ‘हालसम्म १ सय ९३ जनासम्म भर्ना भएको रेकर्ड छ, अब त्यो दिन नजिकै भएको भान हुन्छ,’ डा. गौतमले भने ।

अस्पतालले कोरोना संक्रमण दर पुनः बढ्ने आकलन गर्दै नयाँ भवनमा ५ सय र पुरानोमा ५ सय शय्या गरी १ हजार शय्या तयारी अवस्थामा राखेको जनाएको छ । आवश्यक भए २ सय शय्या क्षमताको आईसीयू सञ्चालन गर्न सकिने र ग्यास अक्सिजन प्लान्ट निर्माणको चरणमा रहेको उनले बताए । कोभिडको सामना गर्न सरकारले वीरमा ८ सय ३१ दरबन्दी थप गरेको छ । यसअघि ६ सय ६७ कर्मचारी दरबन्दी थियो । कोभिड संक्रमण दर बढ्न सक्ने भन्दै अस्पतालले ३ सय ५० सिलिन्डर बढाएर ७ सय पुर्‍याइएको समेत जनाएको छ ।

पाटन अस्पतालमा १ सय २० जना भर्ना छन्, जसमध्ये २५ जना आईसीयूमा छन् । अस्पतालका डा. आशिष श्रेष्ठका अनुसार केही दिनयता अस्पताल आउने संख्यामा वृद्घि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आईसीयूको क्षमता २८ रहे पनि २१ जना भर्ना भइसकेका छन् । अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाका अनुसार ४० शय्या क्षमताको जनरल कोभिड वार्डमा बुधबारसम्म ३८ जना उपचाररत छन् । ‘भीडभाड बढेसँगै संक्रमितको संख्या दिन प्रतिदिन बढेको छ,’ उनले भने, ‘दिनहुँ १५ देखि २५ जना बिरामी अस्पताल आउँछन् ।’ दोस्रो लहरको महामारीमा अब्बल सावित भएको अस्पतालले अक्सिजन प्लान्टलाई थप मजबुत बनाउँदै अर्को लहरका लागि तयारी थालेको जनाएको छ । आवश्यक परे थप ४ वटा आईसीयू शय्या सञ्चालन गर्न सकिने डा. बाँस्तोलाले बताए । ‘पहिलेकै अवस्था नआउला भन्न सकिन्न,’ उनले भने, ‘स्वास्थ्य सुरक्षालाई ख्याल नगर्ने हो भने अवस्था जटिल बन्न सक्छ ।’

सशस्त्र प्रहरी बल अस्पतालमा २ सय शय्या क्षमताको कोभिड युनिट सञ्चालित छ । जसमा हाल १ सय ५० संक्रमित उपचाररत छन् । अस्पतालमा ९ भेन्टिलेटर रहेकामा ४ वटा बिरामीले भरिएका छन् । २० वटा आईसीयूमध्ये आधामा बिरामी उपचाररत रहेको कोभिड फोकल पर्सन डा. प्रवीन नेपालले बताए । ‘पछिल्लो साता अस्पतालमा भर्ना हुने संक्रमितको संख्या बढ्दो छ, हामीले त्यहीअनुरूप सेवा थप गर्दै छौं,’ उनले भने ।

भक्तपुर अस्पतालमा ३९ शय्या क्षमताको कोभिड युनिट सञ्चालित छ । ६ शय्या क्षमताको आईसीयूमा ४ जना बिरामी छन् । अस्पतालका ४ वटै भेन्टिलेटर भरिएका छन् । ‘आईसीयू र भेन्टिलेटर प्याक भइसके, बिरामीको संख्या बढ्दो छ,’ अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतमले भनिन्, ‘तत्कालै आईसीयू/भेन्टिलेटरमा बिरामी भर्ना गर्न सक्ने अवस्था छैन ।’ यसअघि अस्पतालले ७० शय्याको कोभिड युनिट सञ्चालन गरेको थियो । अस्पतालले बालबालिका लक्षित कोभिड युनिटको तयारी थालेको छ । एनआईसीयू र पीआईसीयूका लागि १० वटा शय्या र आईसीयू कक्षमा थप १० शय्या सञ्चालनको तयारी थालिएको छ ।

७५ शय्याको अस्पताललाई कोरोना महामारीकै बीच २ सय शय्या पुर्‍याइएको छ । अस्पतालले ८० लाख रुपैयाँ लागतमा लिक्विड अक्सिजन प्लान्ट र नेपाल रेडक्रस सोसाइटीको ५ करोड लागतमा ग्यास अक्सिजन प्लान्टको काम भइरहेको उनले बताइन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर ६ सय ११ जना आईसीयूमा र १ सय ६८ जना भेन्टिलेटरमा छन् । काठमाडौं उपत्यकामा मात्रै ६ सय ४५ जना जनरल/एचडीयूमा, १ सय ७१ जना आईसीयूमा र ६८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रकाशित : श्रावण १४, २०७८ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्

‘खोपले मृत्युबाट जोगाउन सक्छ, संक्रमणबाट होइन’

सबैमा खोप सुनिश्चित गर्न सके नयाँ भेरिएन्ट आए पनि दोस्रो लहरजस्तो अवस्था भयावह हुँदैन : विज्ञ

काठमाडौँ — कोरोनाविरुद्धको खोपले सबैभन्दा तीव्र गतिमा फैलने डेल्टा भेरिएन्टबाट हुने मृत्युबाट ९९ प्रतिशतसम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारतस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआईभी) को हालैको अध्ययनअनुसार खोप लगाएकामध्ये संक्रमित ९.८ प्रतिशतलाई मात्र अस्पतालमा भर्ना गर्नुपर्‍यो भने ०.४ प्रतिशतको मात्र मृत्यु भयो ।

छिमेकी मुलुक भारतमा गरिएको यो अध्ययनले कोरोनाको संक्रमण र जटिलताबाट बच्न खोप नै एक मात्र विकल्प रहेको देखाउँछ ।

यस्तै, खोप लगाएका ८० प्रतिशतले अन्य व्यक्तिमा संक्रमण नसार्ने पनि अर्को अध्ययनले दाबी गरेको छ । ‘टाइम्स अफ इजरायल’ मा प्रकाशित इजरायलको स्वास्थ्य मन्त्रालयले गरेको अध्ययनबारेको समाचारअनुसार खोप लिएका १० प्रतिशत व्यक्तिले एक जनासम्मलाई संक्रमण फैलाउन सक्छन् भने खोप लिएका ३ प्रतिशतले २ देखि ३ जनासम्ममा संक्रमण सार्न सक्छन् । ७ प्रतिशतले संक्रमण फैलाउन पनि सक्छन् वा नफैलाउन् पनि सक्छन् । इजरायल सरकारले रेस्टुरेन्ट, जिम, इभेन्ट हल, म्युजिक कन्सर्टलगायतका स्थानमा पुगेर व्यक्तिको नमुना लिई अध्ययन गरेको थियो । इजरायलको करिब ६० प्रतिशत जनसंख्याले पूर्ण रूपमा खोप लिइसकेको छ ।

नेपालमा भने खोप लगाएकाहरूमा देखिएको संक्रमण अवस्थाबारे तथ्यांक संकलन भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । हालसम्मको प्रारम्भिक विश्लेषणअनुसार दुई डोज खोप लगाएकाहरू पनि अस्पताल त भर्ना भएका छन् तर यो संख्या निकै कम छ । मंगलबारसम्ममा ३४ लाख ६२ हजार ३ सय ४० जनाले पहिलो डोज र १४ लाख ५७ हजार ६ सय ७० जनाले पूर्ण डोज खोप लगाइसकेका छन् । हालसम्म नेपालमा खोप लगाउने जनसंख्या ११ प्रतिशतभन्दा बढी पुगेको छ ।

दोस्रो लहर सुरु हुँदा करिब ६० प्रतिशतमा अल्फा भेरिएन्ट भेटिएको र हाल करिब शतप्रतिशतमै डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताइन् । पछिल्लो दुई सातादेखि डेल्टाबाहेक अन्य भरिएन्ट नदेखिएको उनको भनाइ छ । अल्फा भेरिएन्ट कोभिडको प्रारम्भिक (ओरिजिनल) भेरिएन्टको दाँजोमा ६० प्रतिशतभन्दा बढी संक्रामक छ । डेल्टा अल्फाभन्दा पनि ६० प्रतिशत बढी संक्रामक हो । उनका अनुसार पूर्ण डोज खोप लगाएपछि पनि संक्रमित भएका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कर्मचारी र सम्पर्कमा आएका व्यक्तिमा रोगको कडापन खासै देखिएन । ‘खोप लगाएकाहरूमा कोमर्बिडिटी (एकभन्दा बढी दीर्घ रोग) भए पनि कडा र जटिल संक्रमण देखिएन,’ उनले भनिन् ।

दसैंताका कोभिडको तेस्रो लहर आउन सक्ने चेतावनी सरकारी निकायलगायत विज्ञहरूले दिँदै आएका छन् । तर खोपको उपलब्धता विस्तार गर्ने हो भने भयावह अवस्थाबाट जोगिन सक्ने विज्ञ बताउँछन् । ‘हालसम्म जुनुसुकै भेरिएन्ट आए पनि पहिले नै बनेको एन्टिबडी र खोपको केही न केही असर देखिएको छ,’ राष्ट्र्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले भने, ‘अब खोप कार्यक्रमलाई तीव्रता दिनुपर्छ । सबैमा खोप सुनिश्चित गर्न सक्यौं भने नयाँ भेरिएन्ट आए पनि दोस्रो लहरको दाँजोमा अवस्था भयावह हुँदैन ।’ केही महिनायताको अवस्थाले संक्रमण नियन्त्रणमा खोप नै प्रभावकारी देखिएको उनले बताए । एक वा दुई डोज खोप लगाएकामा समेत संक्रमण देखिए पनि गम्भीर समस्या नदेखिएको उनको भनाइ छ ।

‘एक डोज खोप लगाएर शरीरमा एन्टिबडी बनिसकेकामा समेत दुई डोज लगाएको जस्तै प्रतिरोधक क्षमता देखिएको छ,’ उनले भने, ‘खोपको विकल्प छैन भन्ने त पछिल्लो केही महिनाको अवस्थाले नै स्पष्ट पारिसकेको छ ।’ नेसनल इम्युनाइजेसन एडभाइजरी कमिटी एवं कोरोना खोप परिचालन समन्वय समितिका सदस्य डा. जीडी ठाकुर भने सवा दुई करोड नेपालीलाई खोप सुनिश्चित भएपछि मात्र संक्रमणको अवस्थामा सकारात्मक परिवर्तन देखिने बताउँछन् ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को हालैको अध्ययनअनुसार खोपको पूर्ण डोज लगाएपछि पनि संक्रमण भइरहेको छ । यसको कारण कोभिडको डेल्टा भेरिएन्ट हो । अध्ययनले अस्पताल भर्ना हुनबाट र मृत्युबाट जोगाए पनि संक्रमण हुनबाट नजोगाउने उल्लेख गरेको छ । यो भाइरसबाट संक्रमणको खतरा अझै कायमै छ । खोपको एक वा पूर्ण डोजले संक्रमित हुनबाट नभई मृत्यु हुनबाट धेरै हदसम्म जोगाउन सक्छ ।

डब्लूएचओबाट प्रस्तावित खोप

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हालसम्म सुरक्षा र प्रभावकारिताका लागि आवश्यक मापदण्ड पूरा गरेका कोभिड–१९ विरुद्घका खोप ६ वटा रहेको जनाएको छ । जसमा अक्सफोर्ड–अस्ट्राजेनेकाले उत्पादन गरेका विभिन्न नामका खोप, जोन्सन एन्ड जोन्सनको जान्सेन, मोडर्ना, बायोएनटेकको फाइजर, बायोटेकको सिनोभ्याक र सिनोफार्मको भेरोसेल छन् । नेपालमा हालसम्म कोभिसिल्ड, भेरोसेल र जान्सेन खोप लगाइएको छ । यी खोप डब्लूएचओले विश्वव्यापी रूपमा स्वीकृति दिएको हो ।

संक्रमित गम्भीर हुनबाट र मृत्युबाट यी स्वीकृत खोपले उच्चस्तरको सुरक्षा प्रदान गर्ने डब्लूएचओले जनाएको छ । शतप्रतिशत सबैलाई सुरक्षा दिन नसक्ने भएकाले खोप लगाएपछि पनि मास्क, सामाजिक दूरी हातको सरसफाइलगायतका स्वास्थ्य मापदण्ड अपनाउन डब्लूएचओले आग्रह गर्दै आएको छ ।

औषधि व्यवस्था विभागले नेपालमा आपत्कालीन अनुमति दिएका खोप ६ वटा छन् । विभागका वरिष्ठ औषधि व्यवस्थापक डा. सन्तोष केसीका अनुसार कोभिसिल्ड, जान्सेन, स्पुतनिक–भी, कोभ्याक्सिन, सिनोभ्याक र सिनोफार्मका खोपले अनुमति पाएका हुन् ।

प्रकाशित : श्रावण १३, २०७८ ०८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×