किराती भाषाको साझा लिपि ‘किरात लिपि’ कि ‘सिरिजंगा लिपि’ ?- समाचार - कान्तिपुर समाचार

किराती भाषाको साझा लिपि ‘किरात लिपि’ कि ‘सिरिजंगा लिपि’ ?

ऐतिहासिकता, पहिचान र किराती सभ्यताको निरन्तरताको हिसाबले ‘किरात सिरिजंगा लिपि’ को प्रयोग गर्नु उपयुक्त हुनेछ ।
गणेश राई

काठमाडौँ — खोटाङको जन्तेढुंगा गाउँपालिकाले स्थानीयको मागअनुसार पुमा राई भाषामा औपचारिक पठनपाठन गर्न अनुमति दिएको छ । पहिलो कक्षाको पाठ्यपुस्तक देवनागरी लिपिमा छापियो । तर शब्द लेखनमा अप्ठ्याराहरू आए र उच्चारण गर्नै समस्या आयो । शिक्षकले बुझाउन मुस्किल पर्‍यो ।

त्यसैले दोस्रो कक्षा लागू गर्न मौलिक लिपिमा पाठ्यपुस्तक निर्माण गर्न पालिकाका जनप्रतिनिधिले सुझाएका छन् । त्यसैअनुसार किरात पुमा राई तुप्खाबाङ्खाला संस्थाले किरात लिपि प्रयोग गर्ने निर्णय गरेको अध्यक्ष शंखरबहादुर राई बताउँछन् ।

किरात जातिभित्र २९ भाषा छन् । अन्य भाषाहरूमा पाठ्यपुस्तक देवनागरीमा निर्माण भएका र यस्तैखाले समस्या झेल्दैआएका छन् । यही सन्दर्भलाई लिएर पछिल्लो पटक ‘किरात लिपि’ प्रयोगमा बहस सुरु भएको छ । गत असार अन्तिम साता आयोजित कार्यशालाबाट किरातका चार संस्थाले ‘किरात सिरिजंगा लिपि’लाई साझा लिपिका रूपमा विकास गर्न जुटेका छन् । किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजका केन्द्रीय प्रतिनिधिहरूको सामुहिक भेलाले ‘साझा लिपि’को प्रसंग उठाएका हुन् । यो प्रसंग उठेपछि सामाजिक सञ्जालदेखि व्यक्ति–व्यक्तिसम्म चर्चा, परिचर्चा भइरहेको छ । यो एउटै लिपिलाई किराती समाजमा ‘किरात लिपि’, ‘किरात सिरिजंगा लिपि’, ‘सिरिजंगा लिपि’, ‘लिम्बु लिपि’ भनेर चिन्ने गरिन्छ ।

किराती समूहका भाषामध्ये सबैभन्दा विकसित लिम्बु भाषा हो । लिम्बु भाषाका ऐतिहासिक दस्तावेजहरू सिरिजंगा लिपिमा लिपिबद्ध भएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयदेखि बेलायतको ब्रिटिस लाइब्रेरी ‘हड्सन कलेक्सन’सम्म लिम्बु भाषा, साहित्य, संस्कृतिजन्य ऐतिहासिक सामग्रीहरू छन् । भाषा आयोगले लिम्बु भाषा प्रदेश–१ को सरकारी कामकाजको भाषा हुने भनी सिफारिसको तयारी गरेको छ ।

किराती भाषामा वर्ण व्यवस्था

किराती भाषाहरूको वर्ण पहिचानमा संलग्न भाषाशास्त्री डा. तारामणि राई कुनै पनि भाषालाई लेखन प्रणालीमा विकास गर्नुपूर्व ध्वनि वैज्ञानिक हिसाबले वर्ण पहिचान गरिने बताउँछन् । ‘२९ वटा छुट्टाछुट्टै किराती भाषाहरूमा भएका वर्ण व्यवस्थाका आधारमा सबैलाई समेट्ने हिसाबले नै साझा वर्णमालाको अवधारणा आएको हो,’ हरेक भाषाको आफ्नै वर्ण व्यवस्था हुने उल्लेख गर्दै उनले भने, ‘मैले गरेको प्रारम्भिक अध्ययनअनुसार व्यञ्जन र स्वर वर्ण गरी करिब ५३ वटा वर्णहरू हुँदा सबै किराती भाषाहरूमा लेख्न सकिने देखिन्छ ।’ यी सबै वर्णलाई लेखनमा विकास गर्न अहिले प्रचलनमा आएका लिपिले नसमेट्ने उनको ठम्याइ छ । त्यसनिम्ति भाषामा पाइने ध्वनि विशेषताका आधारमा लेखनप्राणालीको विकास गरी वैज्ञानिक र व्यवाहरिक बनाउन सकिने उनी बताउँछन् ।

भाषाशास्त्री राईका अनुसार किराती भाषाहरू देवनागरी लिपिमा लेखिएको भए पनि त्यो कामचलाउ हिसाबले केही चिन्हहरूको विकास भएका छन् । ‘किराती भाषाहरूको विशेषतालाई समेट्ने हिसाबले देवनागरी लिपि बनेको पनि होइन,’ देवनागरी लिपि भारोपेली भाषा परिवारलाई समेट्ने गरी बनेको उल्लेख गर्दै उनले भने, ‘प्राय: सबै किराती भाषामा पाइने कन्ठ्य स्पर्शी वर्ण किरात सिरिजंगा लिपिमा पाइन्छ । तर किरात सिरिजंगा लिपिमा किराती भाषामा पाइने अन्त:स्फोटक, तालव्य, घोष महाप्राणजस्ता विशेषता भएका वर्णलाई प्रतिनिधित्व गर्ने चिन्ह वा संकेतहरू छैनन्, जसका लागि चिन्ह वा उपचिन्हको थप विकास गर्नुपर्छ ।’ ऐतिहासिकता, पहिचान र किराती सभ्यताको निरन्तरताको हिसाबले ‘किरात सिरिजंगा लिपि’लाई प्रयोग उपयुक्त हुने उनको मत छ ।

भाषाविद् तथा साहित्यकार विक्रम सुब्बाका अनुसार भोटबर्मेली परिवारका किराती भाषाहरू देवनागरी वा रोमनमा लेखिएको तर त्यसले यसको ध्वनि ‘मिनिमल पेयर’ रेकर्ड गर्न नसक्ने बताए । ‘लिम्बु भाषामा सिरिजंगा लिपि विद्यमान रहेकोले यसले ती ध्वनिको प्रतिनिधित्व गर्न सक्छ,’ लिम्बु, वाम्बुले, साम्पाङलगायत भाषामा यो लिपि प्रयोगमा रहेको उल्लेख गर्दै उनले भने, ‘जजसले सक्छ, उसले यो लिपि प्रयोग गर्दै जाने हो । लिपि भनेको मान्छेको सिर्जना हो । तर यसको उत्थानकर्ता सिरिजंगा थिए । हिजो सिरिजंगा लिपि थियो । आज किरात सिरिजंगा लिपि भनियो ।’ शुरुमा हिन्दी भाषालाई ‘खरीबोली’ भनिन्थ्यो भने नेपाली भाषालाई ‘खसकुरा’, ‘गोर्खा भाषा’ भनिएको सुब्बाको तर्क छ ।

अहिले ‘किरात सिरिजंगा लिपि’लाई साझा लिपिको अवधारणाको रुपमा सार्वजनिक गरेपछि युमा सामयो महासंघ अन्तर्राष्ट्रिय समितिले विज्ञप्ति जारी गर्दै ‘सिरिजंगा लिपि’ नै हुनुपर्ने भनी उल्लेख गरेको छ । ‘त्येअङ्सी सिरिजंगा दोस्रो (एडी १७०४–१७४१) ले संरक्षण र सुधार गरेका हुनाले लालसोर सेन्दाङको सूचनालाई र पुराना पुस्तकहरूको समेत स्रोत वा सन्दर्भ सामग्रीका आधारमा,’ समितिका अध्यक्ष नरेन्द्र माबाहाङ र महासचिव धनराज सामयाङ्खाम हस्ताक्षरित विज्ञप्तिमा छ, ‘सन् १९२५ मा ‘तुम याक्थुम हाङ चुम्लुङ’को पूर्ण बैठकले सर्वसम्मत सिरिजंगा लिपि नाम पुन:स्थापित गरेको हो, नाम परिवर्तन गर्नु गलत छ । सिरिजंगा लिपिलाई सम्पूर्ण हिमालयन मूलवासीले साझा लिपि स्विकार गरे यसको महत्व अझ बढ्ने कुरामा द्विविधा छैन ।’

लिपिको पृष्ठभूमि र साझा व्यवहार

लिम्बु इतिहासविज्ञ बिरही काइँलाले छैटौं शताब्दीपछि ‘लिम्बु लिपि’ विकास भएको उल्लेख गरेका छन् । प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति मदनमणि दीक्षितले किरात लिपिलाई पैशाची लिपिसित मिल्दोजुल्दो रहेको उल्लेख गरेका छन् । ‘प्राचीन कालमा ती दुवै लिपि रहेका हुनसक्छन्,’ उनले भनेका छन्, ‘लुप्त हुँदै गएको पैशाची लिपिलाई त्येअङ्सी सिरिजंगाले किरात लिपिको रूपमा सन् ९०० तिर उद्धार गरेका हुन् कि ?’

यहाँ उल्लेख ‘त्येअङ्सी सिरिजंगा’ सिरिजंगाहाङ दोस्रो हुनुपर्ने अनुसन्धाता अमर तुम्याहाङको मत छ । उनले ‘किरात लिपि र किराती भाषाहरूको लेखन सन्दर्भ’ मा लिम्बुमात्र नभई राई जातिका भाषाहरूमा समेत लिपिको प्रयोग भएको उल्लेख गरेका छन् । ‘नेपालमा पनि अनुकूल समयमा यो किरात समुदायबीचमा किरात लिपि प्रयोग गर्ने काम हुँदै आएको छ,’ उनले लेखेका छन्, ‘यसको प्रमाणको रूपमा सम्पूर्ण किरातहरूलाई समेट्दै नारद्मुनी थुलुङको सभापतित्वमा बि.सं. २०१०/११ तिर खोलिएको किरात मुन्धुम लुङ् अर्थात् किरात सांस्कृतिक परिषदको विधानमा यो लिपिको प्रयोग भएको छ ।’

किरात याक्थुङ चुम्लुङका पूर्वअध्यक्ष तथा इतिहासविद् मञ्जुल याक्थुम्बा सिरिजंगाहाङ किरात लिपिका पुन:उत्थानकर्ता भएको बताउँछन् । यो लिपिको पुन:उत्थानमा सबैभन्दा महत्वपूर्ण भूमिका खेलेकाले उनको नाममा लिपि जोडिनुलाई राम्रो मान्न सकिने उनी उल्लेख गर्छन् । ‘सिरिजंगाहाङले गुफामा प्राप्त गरेको लिपिलाई परिमार्जन र पुनरुत्थान गरी प्रचारप्रसार गरेकोले उनको योगदानको कदर होस् भन्ने अभिप्रायले किरात लिपिलाई किरात याक्थुङ चुम्लुङको दोस्रो महाधिवेशनले यसलाई ‘किरात सिरिजंगा लिपि’ भनी घोषणा गरेको हो । र किरात हौं भनी गर्व गर्ने लिम्बु, राई, याक्खा, सुनुवार आदि सम्पूर्ण किरातहरूको साझा लिपि हो भन्ने कुरा नभुलौं ।’

लिम्बुहरुको किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज लिम्बु लिपिको प्रवर्तनकार्यमा सिरिजंगाको अतुलनीय योगदानलाई लिएर ‘किरात सिरिजंगा लिपि’ नामकरण भएको बताउँछन् । ‘२०४९ सालमा सम्पन्न चुम्लुङको दोस्रो महाधिवेशनले किरात सिरिजंगा लिपि नामकरण गरेको हो,’ अध्यक्ष लिम्बुले भने, ‘यो लिपि हाम्रो मात्रै हुन सक्दैन । यो अरुले चलायो भनेमात्रै बढी व्यापक र जीवन्त हुन्छ भन्ने त्यतिखेर आँकलन गरी निष्कर्षमा पुगेका थियौं ।’ संस्थागत धारणा कायम रहेको उनले जनाए ।

किरात राई यायोक्खाका अध्यक्ष दिवस राई किरात जातिको इतिहास, सभ्यताका आधारमा साझा लिपिको अवधारण अघि बढेको बताउँछन् । ‘इतिहास, सभ्यताका दृष्टिले किराती जातिका भाषाहरूको अभिलेखीकरणका निम्ति साझा लिपिको अवधारणा अघि बढेको हो,’ उनले भने, ‘समाजमा पहिलेदेखि नै प्रचलनमा रहेको र लिम्बु भाषामा विकसित किरात सिरिजंगा लिपि नै साझा लिपि हुनसक्ने हाम्रो ठम्याइ छ । यो लिपिको स्रष्टा, प्रवर्तक, उत्थानकर्ता जे भने पनि सिरिजंगाहाङ नै हुन् । यसमा दुईमत छैन । साझा अपनत्व ग्रहण गर्दा यसको श्रेय सिरिजंगालाई नै जान्छ ।’ साझा लिपिका निम्ति छलफल, बहस र अन्तरक्रिया निरन्तर हुने उनले बताए ।

प्रकाशित : श्रावण १३, २०७८ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्

दबाबपछि त्रिविमा एमफिल अध्ययनका लागि पुन: प्रवेशपरीक्षा लिइँदै

गणेश राई

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले विद्यावारिधि र एमफिल अध्ययनका लागि साउन १४ गते पुन: प्रवेशपरीक्षा लिँदै छ । गत चैतमै प्रवेशपरीक्षा सकेर उत्तीर्णलाई असार २२ भित्र भर्ना हुन सूचना जारी गरिएकोमा विद्यार्थी समूह र पदाधिकारीको दबाबपछि फेरि परीक्षा लिन लागिएको हो ।

मानविकी तथा सामाजिक शास्त्र संकाय डिन कार्यालयले एमफिल र विद्यावारिधि उपाधि लिन चाहनेको संख्या बढेको र केही विषयमा आवश्यक विद्यार्थीसंख्यासमेत कम भएकाले अर्को प्रवेश परीक्षाको तयारी गरिएको जनायो ।

त्रिविले एमफिल–विद्यावारिधि विनियम परिमार्जन गरी प्रत्येक विषयका उत्कृष्ट पाँच जनाले मात्र पीएचडी अनुसन्धान गर्न पाउने बनाएको छ । एमफिल–विद्यावारिधि विनियम २०७७ अनुसार एउटा विषयमा अधिकतम ३५ जनाको कोटा तोकिएको छ ।

‘पूर्वनिर्धारित तालिकाअनुसार साउन २२ गतेबाट कक्षा सञ्चालन गर्ने भनेका थियौं,’ सहायक डिन दुबिनन्द ढकालले भने, ‘कोभिडका कारण केही विषयमा कोटा खाली भएकाले अर्को प्रवेशपरीक्षा लिने तयारीमा छौं । कोटा कम भएका विषयमा विभागको जनशक्तिअनुसार विद्यार्थी थपिनेछ ।’

यसअघिका जम्मा २२ विभागअन्तर्गतका विषयमा कुल ५ सय ७० ले आवेदन दिएका थिए । तीमध्ये ४ सय ६७ जना योग्य ठहरिएकाले नामावली प्रकाशन गरिएको थियो । सबैभन्दा धेरै राजनीतिशास्त्रमा ५०, समाजशास्त्रमा ४५, नेपालीमा ३८ र अर्थशास्त्रमा ३८ जनाको नाम प्रकाशित छ । उनीहरूलाई मेरिटका आधारमा भर्ना लिइने जनाइएको छ ।

यस्तै ग्रामीण विकासमा ३४, अंग्रेजीमा ३१, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा २८, द्वन्द्व–शान्ति र विकासमा २६, मानवशास्त्रमा २५ जनाको नाम छ । जनसंख्या अध्ययनमा १९, लैंगिक अध्ययनमा १७, नेपालभाषामा १५, संस्कृतिमा १४, सामाजिक कार्यमा १४ र भूगोलमा ११ जना छन् । त्यसै गरी ललितकलातर्फ संगीतमा १४ र पेन्टिङमा १३ जना छन् । इतिहास ९, बौद्ध अध्ययन ८, भाषाविज्ञानमा ६, गृहविज्ञानमा ५ जना, पत्रकारिता तथा आमसञ्चार ५ र हिन्दीमा २ जनाको नाम प्रकाशित छ ।

कोटा प्रणालीअनुसार ४ सय ३६ जनाले भर्ना पाउनेमा तीमध्ये अधिकांश भर्ना भइसकेका छन् । भर्ना भएका विद्यार्थीले पहिलो र दोस्रो सेमेस्टर नियमित कक्षा पढ्नुपर्नेछ । तेस्रो सेमेस्टरमा विषयगत आधारमा उत्कृष्ट पाँच जना विद्यावारिधि (पीएचडी) उपाधिका निम्ति भर्ना हुन पाउँनेछन् । बाँकीले शोधपत्र बुझाएपछि एमफिल उपाधि लिन पाउँछन् । ‘एमफिल उपाधिपछि पीएचडीको बाटो खुला रहन्छ,’ सहायक डिन ढकालले भने ।

त्रिविले यसअघि एमफिल र विद्यावारिधि उपाधिको कोर्स फरकफरक सञ्चालन गथ्र्यो । अहिले एकै कोर्सअन्तर्गत ल्याइएपछि विगतको तुलनामा एमफिल र विद्यावारिधि उपाधिका लागि अध्ययन गर्नेको संख्या बढेको त्रिवि शिक्षाध्यक्ष शिवलाल भुसालले बताए । ‘त्रिवि पुरानो विश्वसनीय संस्था हो,’ उनले भने, ‘समयानुकूल केही नयाँ समसामयिक विषय थपिएका छन् भने पहिलेदेखि नै लोकप्रिय विषयहरू पनि छन् । त्यसैले त्रिविमा उपाधि लिन चाहने विद्यार्थीको चाप बढेको छ ।’ गत पुसमा सम्पन्न त्रिविको ४६औं दीक्षान्त समारोहमा ९७ जनाले पीएचडी, एमफिललगायत उपाधि लिएका थिए ।

त्रिविले यस वर्षबाट उपाधिका निम्ति नयाँ नियम लागू गरेको छ । शोधार्थीले कम्तीमा दुईवटा अनुसन्धानात्मक लेख जर्नलमा छापिनै पर्ने प्रावधान राखिएको छ । यसअघि शोध–अनुसन्धान कार्यमा अरूको नक्कल गर्ने गरिएको भेटिएकाले अबदेखि त्रिवि केन्द्रीय पुस्तकालयमा ‘प्लेगरिज्म जाँच्ने मेसिन’को व्यवस्था गरिएको भुसालले बताए ।

प्रकाशित : श्रावण ११, २०७८ १३:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×