१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्न डा. केसीको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — चिकित्सा शिक्षा सुधारका अभियानकर्मी डा. गोविन्द केसीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ६ बुँदे खबरदारी पत्र लेख्दै नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गराउन माग गरेका छन् । बृहत् नागरिक आन्दोलनको भेलामा उनले खबरदारी पत्र पढेर सुनाएका थिए ।

स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्न डा. केसीको माग

‘नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीले या त स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा लगानीबाट तत्काल अलग हटेर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त गरून्, नत्र भने उनलाई तत्काल पदमुक्त गरियोस्,’ डा. केसीको विज्ञप्तिमा भनिएको छ, ‘अबउप्रान्त व्यापारी वा व्यवसायीहरूले नेता, तिनका परिवारका सदस्यलाई चोर बाटोबाट सांसद र मन्त्री हुने, सार्वजनिक संस्थाहरू डुबाउने, आफ्नो व्यवसायको हित हुने गरी कानुन बनाएर नीतिगत भ्रष्टाचार गर्ने अवस्था कहिल्यै नआओस् ।’

डा. केसीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथितिविरुद्ध हाल चलिरहेको आन्दोलनका सबै माग पूरा गरेर संस्था सुधारलाई अघि बढाउनुको विकल्प नभएको बताए । त्यसका लागि जालसाजी र भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीहरूलाई तत्काल पदमुक्त गर्नुपर्ने उनको माग छ ।

पूर्ववर्ती सरकारको संरक्षणमा रहेर चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूलाई धम्क्याउने, नाजायज हस्तक्षेप गर्न खोज्ने तथा अभियानका सदस्यलाई भौतिक आक्रमणको धम्की दिने गरेको उल्लेख गर्दै उनले त्यस्ता व्यक्तिलाई समेत कानुनअनुसार कारबाही गर्न माग गरेका छन् ।

प्रकाशित : श्रावण १३, २०७८ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?