उत्तरी गोरखामा हेलिकप्टरकै भर- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उत्तरी गोरखामा हेलिकप्टरकै भर

जेठ अन्तिममा बाढीपहिरोले घोडेटो पनि बिगारेपछि चुमनुब्रीमा मान्छे र खाद्यान्न ओसार्ने काम स्थलमार्गबाट बन्द 
हरिराम उप्रेती

गोरखा — कोरोना त्रासका बीच उत्तरी नाका दुई वर्षदेखि बन्द छन् । जिल्लाको तल्लो क्षेत्रबाट गाउँ पुग्ने बाटो एक महिनादेखि अवरुद्ध छ । दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने खच्चडसमेत चल्न सकेका छैनन् । चिनियाँ सीमानजिक उत्तरी गोरखाका गाउँमा बर्खाका बेला खाद्य संकटको जोखिम बढेको छ ।

उत्तरी गोरखामा सदरमकामबाट हेलिकप्टरमार्फत कोरोनाविरुद्धको खोप लगिँदै। तस्बिर : कान्तिपुर

बिरामी उद्धार र यात्रु लिन पुगेका हेलिकप्टरले लगिदिने तेल, चामलले भरथेग पनि गर्न सकेको छैन । ‘किन्छु भन्दा पनि चामल पाइन छाड्यो,’ चुमनुब्री गाउँपालिका–७ छेकम्पारका वडाध्यक्ष पासाङ फुन्जो लामाले भने, ‘स्टक चामलले कति धानोस्, रासन सकिँदै गएपछि टिमुरको तिउन र ढिडोले मात्र छाक टार्ने बढ्दै छन् ।’

उत्तरी गोरखामा धान फल्दैन । फल्ने बाली गहुँ, फापर र आलु हुन् । त्यसले ३ महिना पनि धान्दैन । चामल, तेल र चिनीलगायत दैनिक उपभोग्य सामग्री खरिदका लागी आरुघाटलगायत गोरखाको तल्लो बजार वा तिब्बती बजारको भर छ । कोरोनाअघि सामागाउँको रुइला नाका वर्षमा एक पटक र छेकम्पारको ङुइला नाका बाह्रै महिना खुल्थ्यो । यार्चागुम्बु संकलन गरेर बिक्रीपछि उपभोग्य सामग्री र लत्ताकपडा खरिद गर्न चौंरी र घोडा लिएर तिब्बतको बजारमा पुग्ने स्थानीयको लाम लाग्थ्यो ।

चीन सरकारले २ वर्षअघि दुवै नाका औपचारीक रूपमै बन्द गरेको छ । केही स्थानीयले गोरखाको तल्लो क्षेत्रबाट खच्चडमार्फत बर्खाअगावै खाद्यान्न ढुवानी गरेर स्टक राख्थे । ‘किरा (यार्चा) टिपेर गाउँ फर्किएपछि बर्खा सुरु भयो, यारुबगरको बाटो खोलाले बगायो, नाका बन्द भएको दुई वर्ष भयो,’ लामाले भने, ‘यार्चा बेच्न पनि जान सकिएन, केही सामान ल्याउन नपाउँदा समस्यामा पर्‍यौं ।’ समस्या बल्झँदै गएपछि उत्तरको नाका खोल्न स्थानीयस्तरबाट पहल पनि नभएका होइनन् । ‘नेताहरूलाई फोन गरेर नाका खोल्न पहल गरिदिन भनेका छौं, सोमबार पनि चाइनाको बोर्डरमा बस्ने सेक्युरिटीलाई फोन गरें,’ वडाध्यक्ष लामाले भने, ‘हाम्रो पहलले हुँदैन, परराष्ट्र मन्त्रालयले चाइनिज दूतावासमार्फत पहल गरे हुन्थ्यो ।’

मनास्लु पदमार्ग अवरुद्ध भएपछि असार तेस्रो साता खाद्य संस्थानको सदरमुकामस्थित गोदाममा रहेको १ सय ५० क्वीन्टल चामल चुमनुब्रीको केन्द्र फिलिममा हेलिकप्टरमार्फत पुर्‍याइएको थियो । चामल फिलिमबाट छेकम्पार र सामागाउँ पुर्‍याउन झनै कठिन देखिएको स्थानीय बताउँछन् । तिब्बत सीमा क्षेत्रका सामागाउँ र छेकम्पारका स्थानीयलाई फिलिम पुगेर फर्कन कम्तीमा पनि २ दिन लाग्छ । ‘फिलिम पुग्ने बाटोमा पनि जोखिम छ, ठाउँठाउँमा पहिरो खसेका छन् । खच्चड पनि चलेको छैन,’ छेकम्पारका छिरिङ लामाले भने, ‘वडा–वडामा त्यो बेला हेलिकप्टरबाटै चामल पुर्‍याएको भए हुन्थ्यो, अब बर्खाले बाटो झनै बिगारेको छ, फिलिमबाट चामल पुर्‍याउनै गाह्रो छ ।’

उत्तरी गोरखाको क्षतिग्रस्त सडकखण्ड । फाइल तस्बिर : कान्तिपुर

खच्चडबाट पुग्ने उपभोग्य सामग्रीको पनि स्थानीले लागतभन्दा ३ गुणाभन्दा बढी ढुवानी मूल्य तिरेर उपभोग गर्दै आएका छन् । छेकम्पारका स्थानीयले २५ किलोको सोना मन्सुली चामल ४५ सयदेखि ५ हजारसम्म मूल्य तिर्छन्, सामागाउँमा ७ हजार पर्छ । उक्त चामल सुगममा भए १३ सय रुपैयाँ तिरे पुग्थ्यो । बर्खाअगावै साल्ट ट्रेडिङबाट नुन ढुवानी भइसकेकाले अभाव नदेखिएको स्थानीय बताउँछन् । दुई साताअघि सुत्केरी बेथाले च्यापेकी छेकम्पारकी एक महिलालाई एक गैरसरकारी संस्थाको सहयोगमा हेलिकप्टरबाट काठमाडौं लगियो । खुट्टामा समस्या आएपछि डेढ साताअघि चुमनुब्री–३ पाङसिङकी लक्ष्मी गुरुङ ५० हजार हवाई भाडा तिरेर सदरमुकाम झरिन् । पदमार्ग अवरुद्धले महँगो शुल्क तिरेर उपचार गर्नुपर्ने बाध्यता रहेको पाङसिङका विकल गुरुङले बताए । ‘आकस्मिक बिरामी परेर अस्पताल लैजान परे हेलिकप्टरबाहेक विकल्प छैन,’ उनले भने ।

असार महिनायता राहत र उद्धारका लागि उत्तरी गोरखामा हेलिकप्टरको उडान बढेको छ । पैदलमार्ग अवरुद्धपछि कोरोनाविरुद्धको खोप पनि हेलिकप्टरबाटै लगियो । सडक सञ्जालले नछोएको महँगो शुल्क हेलिकप्टरको चार्टर गर्नुको विकल्प नै नरहेको स्थानीय बताउँछन् । मनास्लु पदमार्गअन्तर्गत यारुबगरको क्यान्टिलिभर पुल (भीरमा खोपेर बनाइएको पुल) जोड्ने पदमार्ग बूढीगण्डकीले कटान गरेको छ । झन्डै एक सय मिटर पदमार्ग बगाएको छ । बूढीगण्डकीले कटान गरेको जगत खण्डको पैदल मार्ग भने हेलिकप्टरबाट तारजाली ढुवानी गरी मर्मत गरिएको छ । यारुबगरमा अवरुद्ध पदमार्ग मर्मत गरी सञ्चालनका लागि पहल भइरहेको चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए ।

‘समस्या यारुबगरको हो, जनप्रतिनिधिसहितको टोलीले केही दिनअघि गण्डकीका मुख्यमन्त्रीलाई भेटेर पनि कुरा राखेका छन्, बाटो मर्मतका लागि नेपाली सेना र अन्य सम्बन्धित निकायमा आग्रह पनि गरेका छौं,’ उनले भने, ‘क्यान्टिलिभर पुलसँगै कटान गरेको पदमार्ग ‘होल’ खोपेर गल राखी बाटो बनाउनुपर्ने छ ।’ खच्चड हिँड्न मिल्ने बाटो मर्मत गर्न सके मात्र पनि सहज हुने गुरुङले बताए । बेनिघाट, आरुघाट लार्के सडकको ट्र्याक तातोपानीसम्म खुलेसँगै हिउँदका बेला गाडी चल्न थालेको छ । चुमनुब्रीको घट्टेखोलासम्म भने ट्र्याकमात्र खुलेको छ । पदमार्ग अवरुद्धले धार्चे गाउँपालिकाको केही वडा र चुमनुब्रीको सिंगो गाउँपालिकाका स्थानीय समस्यामा परेका हुन् ।

चुमनुब्री–१ सामागाउँमा मात्रै चामल पुर्‍याउन हेलिकप्टरको २० फ्लाइटको अनुमति माग गरिएको वडाध्यक्ष वीरबहादुर लामाले बताए । ‘बाटो बिग्रिएर चामललगायत अरू सामान हेलिकप्टरबाट ल्याउनुपरेको छ,’ उनले भने । हेलिकप्टरले एक पटकमा ५ क्वीन्टलसम्म चामल ढुवानी गरेको उनले बताए । आर्खेतबाट सामागाउँसम्मको एक फ्लाइटको भाडा एक लाख तिरेर पनि चामल ढुवानी भइरहेको उनले बताए ।

साउन १४ का लागि चुमनुब्री गाउँपालिकामा औषधि ढुवानीका लागि पनि हेलिकप्टरको उडान अनुमति माग भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उत्तरी गोरखाका बस्तीमा खाद्यान्न, औषधि तथा राहत सामग्री पुर्‍याउन हेलिकप्टर उडानको अनुमति माग्ने क्रम बढेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । ‘जेठ ३१ पछि बाटो छैन, विशेषगरी खाद्यान्न ढुवानी र राहत सामग्रीकै लागि उडान भइरहेको छ,’ उनले भने । बाटो मर्मतमा नेपाली सेना खटाउन पहलका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई असार २५ मा पत्र पठाएको थियो । त्यसको जवाफ जिल्ला प्रशासनले पाइसकेको छैन । चुमनुब्री गाउँपालिकामा करिब दुई हजार घरधुरी छन् । जनसंख्या नौ हजार दुई सय छ ।

प्रकाशित : श्रावण १३, २०७८ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्

विभागले थपेन गोरखा दरबार पुनर्निर्माणको समय

भूकम्पले क्षति पुर्‍याएको दरबारको ८५ प्रतिशत पुनर्निर्माण सकियो
हरिराम उप्रेती

गोरखा — गोरखा दरबार पुनर्निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको ठेक्का समय गुज्रिएपछि पुरातत्त्व विभागले म्याद थपेको छैन । यससँगै नयाँ ठेक्का आह्वान गरी निर्माण सक्ने विभागको तयारी छ । दुई वर्षअघि निर्माण सक्नुपर्ने भए पनि दरबारले अझै पूर्णता पाएको थिएन । सम्झौता सकिएपछि पुन: म्याद नथपिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले जानकारी दिए ।

पुनर्निर्माणका क्रममा रहेको गोरखा दरबार । तस्बिर : कान्तिपुर

पचली भैरव शिवाको जेभीले ४ करोड ३७ लाख लागतमा दरबार पुनर्निर्माण जिम्मा पाएको थियो । भूकम्पले क्षति पुर्‍याएको दरबारको ८५ प्रतिशत पुनर्निर्माण सकिएको छ । सम्झौताअनुसार ठेकेदारले प्लास्टरको काम गर्नुपथ्र्यो । ‘छाना छाउने काम सकिएको छ,’ भुसालले भने, ‘सम्झौता सकिएपछि समय थपेनौं । यो वर्षलाई बजेट विनियोजन भएको छ । तत्काल बाँकी कामको लागत इस्टिमेट निकालेर साउनभरिमा बोलपत्र आह्वान गर्छाैं ।’ तीन पटक म्याद थप्दा पनि काम नसकिएपछि ठेक्का अवधि नथपिएको अड्डाले जनाएको छ ।

२०७४ कात्तिक २९ मा ठेक्का सम्झौता गर्दा २०७६ मंसिर मसान्तभित्र दरबार ठड्याइसक्नुपर्ने सम्झौता छ । दुईवर्षे म्याद सकिँदासम्म ठेकेदारले पूर्णता नदिएपछि २०७६ पुस ४ मा पहिलो पटक ६ महिना म्याद थपिएको थियो । त्यो म्याद पनि २०७७ जेठ मसान्तमा सकिएको र दोस्रो पटक फेरि २०७७ मंसिर मसान्तसम्म म्याद थपियो । समयमा काम नसकेको ठेकेदार कम्पनीले २०७७ पुस १ पछि भने जरिवाना तिरेर काम गर्दै आएको थियो । ठेक्का सम्झौता रकमको दैनिक ०.०५ प्रतिशत जरिवाना तोक्दै गत जेठ मसान्तसम्म तेस्रो पटक म्याद थपिएको थियो ।

फिनिसिङको कामअन्तर्गत भुइँ प्लास्टर गरेर तेलिया इँटा बिछ्याउने काम पनि बाँकी छ । गारोको भित्री प्लास्टर, विभिन्न प्रयोजनका लागि प्रयोग हुँदै आएका कोठा विभाजन गर्ने र पुरानै स्वरूपमा सामग्री राख्ने काम पनि बाँकी रहेको भुसालले बताए । चुनासुर्की लगाउने तथा साविकको दरबारको तल्लो फ्लोरमा रहेको अँगेना, पृथ्वीनारायण शाहले नुहाउन प्रयोग गरेको भनिएको ढुंगा, राजगद्दीलगायत भित्री आवरणलाई पहिले जस्तै सुन्दर बनाइने उनको भनाइ छ । ‘छानाको काम सकिएपछि ठूलो काम सकिन्छ, भित्री भागको फिनिसिङलाई समय लाग्दैन,’ उनले भने, ‘अब बोलपत्र आह्वान गरेर दुई/तीन महिनाभित्रै काम सक्ने लक्ष्य छ ।’

विभागीय निर्णयअनुसार नै सम्झौता अवधि नथपिएको विभागकी अधिकृत मञ्जुसिं भण्डारीले बताइन् । ‘सम्झौतामा केही कुरा छुटेका थिए, सार्वजनिक खरिद नियमावलीअनुसार भेरिएसन गरेर यही ठेकेदारलाई लगाउन मिल्थ्यो,’ उनले भनिन्, ‘तर भेरिएसन गरेर यही ठेकेदारलाई काममा लगाउँदा ढिलासुस्तीले अर्को लफडा हुन्थ्यो, यति समय ढिलासुस्ती भएपछि बिदा गरेर पठाउनु नै ठीक हुन्छ भनेर सम्झौता अवधि नथपेका हौं ।’

यता पचली भैरव शिवाको जेभीका ठेकेदार सुशीलबाबु श्रेष्ठले भने सम्झौताअनुसार आफूले काम सकेको दाबी गरे । ‘चुनासुर्कीले प्लास्टर गर्ने काम बाँकी हो,’ उनले भने, ‘चुनासुर्की पनि पुर्‍याएका थियौं, चिसोले सेट हुँदैन भनेपछि त्यो काम हुन सकेन, अरू सबै काम सकेका छौं ।

प्रकाशित : श्रावण १३, २०७८ ०८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×