२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रधानमन्त्रीले अमेरिकासँग मागे थप खोप

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोन संवाद
जगदीश्वर पाण्डे

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग कोभिड–१९ विरुद्धको थप खोप सहयोग गर्न आग्रह गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग मंगलबार बेलुका टेलिफोन कुराकानी गर्दै देउवाले खोप सहयोग गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीले अमेरिकासँग मागे थप खोप

भारतको दुईदिने भ्रमणका क्रममा रहेका ब्लिन्केनले नयाँदिल्लीबाट प्रधानमन्त्री देउवालाई फोन गरेका थिए । कुराकानीका क्रममा उनीहरूबीच कोभिड–१९ विरुद्धको खोपको सहकार्य र स्वास्थ्य सामग्री सहयोगका विषयमा कुराकानी भएको थियो । संवादमा प्रधानमन्त्री देउवाले खोप कूटनीतिमा जोड दिएको प्रधानमन्त्री देउवाका प्रेस सहयोगी गोविन्द परियारले कान्तिपुरलाई बताए । ‘प्रधानमन्त्रीले खोपलाई प्राथमिकता दिँदै थप सहयोगका लागि आग्रह गर्नुभएको छ । साथै, उहाँले अनुदान र खरिद दुवै प्रक्रियामा खोप ल्याउन नेपाल तयार रहेको प्रस्ट पार्नुभएको छ,’ उनले भने ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा देउवाले अमेरिकी सरकारसँग बालबालिका र किशोरकिशोरीका लागि आवश्यक खोप सहयोगका लागि आग्रह गरेका जनाइएको छ । कुराकानीका क्रममा प्रधानमन्त्री र विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा पनि छलफल भएको जनाइएको छ । त्यसका साथै उनीहरूबीच नेपालको विकासका प्राथमिकता, अमेरिकाको सहकार्य र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री देउवा र विदेशमन्त्री ब्लिन्केनले जलवायु परिवर्तन र यसको असरका विषयमा समेत कुराकानी गरेका थिए । देउवाले ब्लिन्केनमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई र शुभकामना दिँदै मिलेर काम गर्ने इच्छा रहेको सन्देश पठाएका जनाइएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनीहरूबीच करिब १० मिनेट कुराकानी भएको थियो ।

देउवा प्रधानमन्त्री भएको दुई साता भइसके पनि अमेरिकी विदेशमन्त्री ब्लिन्केनले बधाई दिन र संवाद गर्न वासिङ्टन डीसीभन्दा नयाँदिल्लीलाई रोजेका छन् । यसले कूटनीतिमा कस्तो सन्देश दिन्छ भन्ने प्रश्न भने पक्कै उठेको छ । कूटनीतिज्ञ अर्जुनकान्त मैनाली नयाँदिल्लीमा आएर अमेरिकी विदेशमन्त्रीले नेपालका प्रधानमन्त्रीलाई गरेको टेलिफोनलाई सामान्य रूपमा लिनुपर्ने मान्छन् । ‘अमेरिकी विदेशमन्त्री यो क्षेत्रमा आउँदा नेपाललाई पनि सम्झिएका हुन्,’ उनले थपे ।

अमेरिकी विदेशमन्त्री भारतसम्म आउनु सामान्य भए पनि नेपाली भूमिमा नटेकेको १९ वर्ष भइसकेको छ । सन् २००२ मा अमेरिकी विदेशमन्त्री कोलिन पावेलले नेपालको भ्रमण गरेका थिए ।

प्रकाशित : श्रावण १३, २०७८ ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?