कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ज्वरोले थलियो लुम्बिनी

नमुना जाँच गरेका स्थानमा ५० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण पुष्टि
लुम्बिनी प्रादेशिक अस्पतालमा दिनहुँ ५० जनासम्म र कपिलवस्तुको तौलिहवा जिल्ला अस्पतालमा ६० जनासम्ममा भाइरलका बिरामी

लुम्बिनी, कपिलवस्तु,दाङ, पाल्पा — रूपन्देहीको ओमसतिया–२ की दयालक्ष्मी शर्मालाई साउन ८ को साँझबाट ज्वरो आयो । दिनभरिको थकानले होला भन्ने सोचिन् । रातभरि ज्वरो नघटेपछि बिहान परिवारका सदस्यले भैरहवास्थित एक अस्पताल पुर्‍याए । रगत जाँचपछि चिकित्सकले भाइरल इन्फेक्सन भएको बताए । ‘औषधि लिएर फर्कियौं,’ छोरा प्रतीकले भने, ‘घर ल्याएपछि साँझ झनै च्याप्यो र बान्तासमेत भयो ।’

ज्वरोले थलियो लुम्बिनी

निको हुने छाँट नदेखिएपछि शर्मालाई अस्पताल भर्ना गरिएको छ । यतिबेला परिवारका अन्य सदस्यमा पनि उनको जस्तै लक्षण देखिन सुरु भएको छ । बुटवल–१२ का पृथ्वी पाण्डेले आफूलाई चार दिनदेखि ज्वरो र रुघाले सताएको छ । अस्पताल जान कोरोना संक्रमणको डर भएकाले मेडिकलबाट औषधि ल्याएर खाइरहेका छन् । ‘अब पनि निको नभए अस्पताल जान्छु,’ उनले भने । आफूभन्दा पहिला आमा र भाउजूलाई समेत ज्वरो आएर निको भएकाले औषधि सेवन गरिरहेको उनले बताए ।

केही दिनयता ज्वरोका बिरामीको चाप बढ्न थालेको लुम्बिनी प्रादेशिक अस्पतालका सिनियर फिजिसियन कन्सल्टेन्ट डा. सुदर्शन थापाले बताए । दिनमा ५० जनासम्म भाइरलका बिरामी अस्पताल आइरहेका छन् । ‘कोरोनाका बिरामी आउने क्रम बढेको छ,’ उनले भने, ‘त्यसमाथि भाइरल थपिएर झन् खतरा भो ।’ उनका अनुसार भाइरल र कोरोनामा गन्ध र स्वाद हराउनेबाहेकका सबै लक्षण मिल्ने भएकाले सतर्कता अत्यन्तै जरुरी रहेको छ । भाइरलको लक्षण देखिएका बिरामीले एक पटक पीसीआर जाँच गराउनु राम्रो हुने उनले बताए । भाइरल सरुवा रोग भएकाले कोरोनामा अपनाइने सबै सतर्कता यसमा समेत अपनाउन आवश्यक रहेको उनको भनाइ छ । रुघा लागेका र ज्वरो आएका मानिस मेडिकलको भर नपरी अस्पतालमै जाँच गराउन जानुपर्ने डा. थापाले बताए ।

कोरोनाकै उपचार गरिरहेका बेला भाइरलको सुरुवातले अस्पतालमा भीडभाड बढ्न थालेको भीम अस्पताल भैरहवाका सूचना अधिकारी डा. सिद्धार्थ पाण्डेले बताए । उनले कोरोनाका नयाँ बिरामी र भाइरल इन्फेक्सन भएका बिरामी दिनहुँ बढ्दै गइरहेको बताए । ‘यो भाइरल सिटामोलले निको हुने खालको छैन,’ उनले भने, ‘अस्पतालका धेरै स्वास्थ्यकर्मीलाई समेत भर्ना गरेरै उपचार गर्नुपरेको छ ।’ उनले केही दिनदेखि समूहगत नै बिरामी हुने बढेको भन्दै यसले कोरोना र सामान्य निको हुने ज्वरो भनी छुट्याउन समस्या भइरहेको बताए । डा. पाण्डेले भाइरल भएका मानिस अलमलमा परी घरमै बसे वा सामान्य औषधि खाएर निको नभई झन् स्थिति बिग्रन सक्ने जनाए । भाइरल भएका बिरामीले झोलिलो खानेकुरा, गेडागुडी, प्रोटिनयुक्त खानेकुरा खान र चिसो कुरा नखान उनले सुझाव दिए ।

कपिलवस्तुमा पनि ज्वरोका बिरामी बढेका छन् । ज्वरो आउने र रुघाखोकी लागेर शरीर गलाउने हुँदा बिरामीहरू आत्तिँदै अस्पताल पुग्ने गरेका छन् । सदरमुकाम तौलिहवा जिल्ला अस्पतालमा दिनहुँ ६० जनासम्म भाइरल फिभरका बिरामी आउने गरेको चिकित्सकले बताए । सामान्य अवस्थामा दैनिक डेढ सय बिरामी आउने गरेकामा अहिले बढेर दुई सयको हाराहारीमा पुगेका छन् । १५ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिमा फिभर बढी देखिएको अस्पतालका मेडिकल अधिकृत डा. गणेश क्षत्रीले बताए । ‘भाइरल फिभर पनि एउटा रोग नै हो,’ उनले भने, ‘किन यसरी एक्कासि बढ्यो भन्ने अध्ययन गर्नुपर्छ ।’ तर, बिरामी अप्ठ्यारो भएर आए पनि जटिलता अझै नआएको उनले बताए ।

बिरामीसँग परामर्श र सल्लाह गरेर सामान्यदेखि एन्टिबायोटिक औषधि चलाउने गरेको उनले बताए । सात दस दिनदेखि बिरामी बढेका छन् । तर, फोक्सोमा असर गरेका बिरामी भने आएका छैनन् । पोस्ट कोभिडको प्रभाव, निषेधाज्ञा खुलेपछि आवागमनमा वृद्धि र मौसम परिवर्तनका कारण यस्तो समस्या आएको हुन सक्ने डा. क्षत्रीले बताए । भाइरल फिभर भएर आएका बिरामीको पीसीआर परीक्षण गर्दा कोभिड नदेखिएको उनले बताए ।

कोरोना महामारीको जोखिमसँगै दाङमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि उपचारमा समस्या हुन थालेको छ । निषेधाज्ञा खुकुलो भएसँगै मानिसको लापरबाही बढेको छ । बजारमा मास्क लगाउने र स्वास्थ्य मापदण्ड लागू गर्नेको संख्या निकै कम छ । अहिले भाइरल ज्वरोका बिरामी बढ्दै गएको स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाहीले बताए । ‘अहिले मास्क प्रयोग गर्नेको संख्या घटेको छ,’ उनले भने, ‘लापरबाही बढेकै कारण बिरामी पनि थपिँदै गएका छन् ।’

दिनदिनै भाइरल ज्वरोका बिरामी आइरहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपेरिन्टेन्डेन्ट डा. विनोद सिंहले बताए । ‘दिनदिनै भाइरल ज्वरोका बिरामी आइरहेका छन्,’ उनले भने, ‘दिनहुँ दुई/तीन जना आउँछन् ।’ भाइरल ज्वरोका बिरामी बढिरहेको राप्ती गाउँपालिकास्थित अस्पतालका प्रमुख डा. पुष्प भुसालले बताए । उनले भने, ‘यो मौसमअनुसार दिनदिनै बिरामी थपिँदै गएका छन् । मानिसहरूमा स्वास्थ्य सावधानी घटेकाले रोग झनै फैलने जोखिम छ ।’

कोरोनासित मेल खाने लक्षण भएका बिरामी बढे पनि पाल्पामा परीक्षण ह्वात्तै घटाइएको छ । नमुना जाँच गरेका स्थानमा ५० प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । रामपुर, निस्दी, बगनासकालीबाहेक अन्य स्थानीय तहले दुई सातायता जाँच नै गरेका छैनन् । सात स्थानीय तहले १५ दिनयता परीक्षण गर्न रोकेका छन् । केही दिन पाल्पा अस्पताल कोभिड परीक्षण प्रयोगशालामा समेत किट अभावले जाँच हुन सकेन ।

‘असारको अन्तिम साता र साउनको पहिलो साता खोपका कारण खासै जाँच गर्न सकिएन,’ तानसेन नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक चन्द्रतारा बस्यालले भने, ‘अब प्लान गरेको हो तर फेरि खोप आउने भन्ने छ । खोपले गर्दा जाँच गर्न नै पाइएको छैन ।’ उनका अनुसार असारमा भन्दा साउन लागेपछि अझ बढी कोरोना संक्रमण बढेको छ । लक्षणसहितका बिरामीले सम्पर्क गरे भने पाल्पा अस्पताल कोभिड परीक्षण प्रयोगशालामा सिफारिस गरेर पठाउने गरेको उनले बताए ।

तानसेन बजार क्षेत्रमा पनि अहिले संक्रमण बढेको छ । भुसालडाँडा, बराङ्दी, कैलाशनगरलगायत स्थानबाट फोन आइरहेको तानसेन नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक बस्यालले बताए । ‘हामीलाई पनि संक्रमण बढेको महसुस भइरहेको छ,’ उनले भने, ‘जनशक्ति कमी भएपछि जाँच गर्न सकिएको छैन ।’ ज्वरो आउने, रुघाखोकी लाग्ने, भाइरल भयो भन्दै मेडिकलबाट औषधि खानेको संख्या पनि बढेको छ । तानसेन र ग्रामीण बजारका मेडिकलमा त्यस्ता बिरामी बढेका छन् ।

रामपुर अस्पतालमा १० बेडको आइसोलेसन भरिभराउ छ । अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विजय परियारका अनुसार अस्पतालमा दैनिक जाँच भइरहेको छ । बिरामीको संख्या बढेको बढ्यै छ । ‘पछिल्ला केही दिनयता बिरामीको संख्या बढेको छ,’ उनले भने, ‘भर्ना हुनेको संख्या पनि बढेको छ ।’

प्रकाशित : श्रावण १२, २०७८ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?