‘रामघाटमा सेती थुने अकल्पनीय विपत्ति’

दीपक परियार

पोखरा — पोखराको रामघाटमा ड्याम बाँधेर सेती नदी थुने अकल्पनीय विपत्ति आउने चेतावनी प्राविधिकले दिएका छन् । पोखरा महानगरले नदी थुनेर ढुंगा–गिट्टी–बालुवा उत्खनन गर्ने र सेती खोंचमा साहसिक पर्यटन गतिविधि सञ्चालन गर्ने गरी निजी क्षेत्रलाई सुम्पने तयारी अघि बढाएपछि उनीहरूले त्यसो गर्दा नदी बजारतिर सोझिनसक्ने बताएका हुन् । 

‘रामघाटमा सेती थुने अकल्पनीय विपत्ति’

सार्वजनिक निजी साझेदारी (सानिसा) अवधारणाअन्तर्गत पोखराकै व्यापारिक घराना बतास अर्गनाइजेसनको बी रिभर माइनिङ प्रालिको प्रस्ताव महानगरले स्वीकृत गरिसकेको छ । सेती थुनेर ताल बनाउने, ढुंगा–गिट्टी, बालुवा उत्खनन गर्ने र रामघाटवरिपरि पर्यटकीय गतिविधि सञ्चालन गर्ने प्रालिको योजना छ । प्राकृतिक विपत्तिमा विद्यावारिधि गरिरहेका इन्जिनियर नारायण गुरुङले रामघाटमा नदी थुनिए अकल्पनीय विपत्ति आउने चेतावनी दिएका छन् ।

‘इन्जिनियरिङको हिसाबले बाँध बाँधौंला तर प्रकृतिसँग लडेर सकिँदैन,’ उनले भने, ‘अहिले नै सेती थुनिँदा जोखिम छ । बाँध बाँधेर अवरोध गर्दा झनै जोखिम निम्तिन्छ ।’बाँधमा खोल्ने र बन्द गर्ने ढोका राखिए पनि सेतीको प्राकृतिक बहावलाई धाराको पानी खोल्ने र बन्द गर्ने जसरी नियन्त्रण गर्न नसकिने उनले बताए । अहिले भइरहेकै उत्खननलाई सन्तुलित बनाउनुपर्नेमा व्यापारीलाई घाट सुम्पिँदा झन् धेरै उत्खनन हुनेतर्फ उनले सचेत गराए । ‘महानगरले तत्कालको फाइदा हेरेर भएन, आउन सक्ने विपत्तिको पनि आकलन गर्न सक्नुपर्छ,’ उनले भने, ‘रामघाटमा ड्याम बनाएर सेती थुन्नु आगोमा घिउ थप्नुजस्तै हो ।’

ढुंगा-गिट्टी निकाल्न ३५ वर्षसम्म सेती थुन्‍ने योजना

सेती खोंचमा सेती क्यान्योन प्रालिले सानिसा अवधारणामै साहसिक पर्यटकीय गतिविधि सञ्चालन गर्न सबै प्रक्रिया पूरा गरी महानगरसँग सम्झौता गर्ने तयारी गरेको छ । भूगोलविद् प्रा.डा. विश्व श्रेष्ठ उत्खननकै कारण सेती गहिरिँदै गएकोमा सहमत छन् । रामघाटमा सेती नदी थुन्दा गहिरिनबाट जोगिने उनको तर्क छ । सेती थुनेर ताल बनाउँदा त्यसले पर्यावरणलाई सन्तुलित राख्ने उनले तर्क गरे ।

‘ताल बनाउने हो भने वरपरको वातावरणमा शीतलता प्रदान गर्छ । चुन थिग्रिएर नदी गहिरिनबाट रोक्छ,’ उनले भने, ‘पर्यटनका गतिविधि सञ्चालन गर्दा अर्थतन्त्रमा पनि सहयोग पुग्छ ।’ निजी क्षेत्रलाई दिँदा उत्खननको सन्तुलत भने मिलाउनुपर्ने उनले बताए । प्रकृतिलाई मानवहितमै प्रयोग गर्नुपर्ने बताउँदै उनले बतास अर्गनाइजेसनको योजनालाई सकारात्मक रूपमा लिनुपर्ने बताए । भने, ‘जथाभावी उत्खनन भयो, दोहन भयो भने कारबाही गर्ने निकाय छँदै छ नि ।’

बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास रामघाटमा ताल बनाउने योजना पोखराको भविष्यसँग जोडिएको बताउँछन् । आफूले उक्त योजना लगेको नभई महानगरले आह्वान गरेको सूचनाबमोजिम मनसायपत्र बुझाएको दाबी उनले गरे । ‘महानगरले आफ्नै प्रारम्भिक अध्ययन प्रतिवेदनका आधारमा मनसायपत्र माग गरेको हो,’ उनले भने, ‘महानगरले अन्यत्र पनि यो योजना लागू गर्दै छ ।’ सेती गहिरिनबाट रोक्न, हाल रामघाटमा भइरहेका कटान रोक्न, व्यवस्थित घाट बनाउन र किनारको सौन्दर्यीकरण गर्न आफ्नो योजना वैज्ञानिक रहेको दाबी उनले गरे ।

प्रकाशित : श्रावण १२, २०७८ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?