कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आधिकारिकता पाएपछि यादवले भने- 'पार्टीको गेटमा ताल्चा लगाएका छैनौं'

'जसपा पार्टीले आधिकारिकता पाएको हो, फुटेको छैन । केही व्यक्तिहरू जान सक्नुहुन्छ ।'
जयसिंह महरा

काठमाडौँ — जनता समाजवादी पार्टीको केही महिनादेखि जारी विवाद निर्वाचन आयोगले टुंगोमा पुर्‍याएको छ । आयोगले सोमबार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको पक्षमा रहेका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको 'हेड काउन्ट' गरेर विवादको निरूपण गरेको हो । 

आधिकारिकता पाएपछि यादवले भने- 'पार्टीको गेटमा ताल्चा लगाएका छैनौं'

५१ सदस्यीय कार्यकारिणी सदस्यहरूमध्ये ३४ जना उभिएको पक्ष अध्यक्ष उपेन्द्र यादवलाई जसपाको आधिकारिक पक्ष भनेको छ । पार्टीको आधिकारिकता उपेन्द्र यादवलाई दिएमा पार्टी विभाजन हुने र निर्वाचन आयोगलाई त्यो दोष जाने जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताइसकेका छन् ।

निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि कान्तिपुरसँग कुरा गर्दै अध्यक्ष यादवले केही व्यक्तिहरू बाहिरिने तर जसपा विभाजन नहुने बताएका छन् । उनले पार्टीमा आएर काम गर्न कसैलाई पनि रोक नलगाइने प्रतिक्रिया दिए । 'जसपा पार्टीले आधिकारिकता पाएको हो, फुटेको छैन । केही व्यक्तिहरू जान सक्नुहुन्छ,' जसपा विभाजन हुन लागेको हो भन्ने प्रश्नमा यादवको जवाफ थियो, 'यसलाई फुट भन्न मिल्दैन । हामीहरूले पार्टीको गेटमा ताल्चा लगाएर राखेका छैनौं ।'

जसपाको संसदीय दल एक ठाउँमा रहेको भन्दै यादवले पार्टी विभाजन नहुने दाबी गरे । 'अहिले सबै सांसद जसापाकै पक्षमा हुनुहुन्छ,' उनको भनाइ थियो ।

तराई-मधेस लगायत सम्पूर्ण नेपालीको लागि जसपा पार्टी भएको भन्दै यादवले अहिलेको विवाद समाधानले पार्टी अझ बलियो भएर जनतामा जाने बताए । 'पार्टीभित्रको अहिलेको विवादले मतदातालाई प्रभाव पार्दैन । पार्टी अझ बलियो हुन्छ,' उनले थपे, 'अहिले भएका विवाद अन्त्य हुन्छ र पार्टी अझ बलियो भएर जान्छ ।'

ठाकुर पक्षले यादवको पार्टी अप्ठ्यारोमा पर्दा तत्कालीन राजपाले एकता गर्ने प्रस्ताव स्वीकार गर्दै साथ दिएको तर अहिले आफूहरूलाई पार्टीविहीन बनाएको आरोप लगाएका छन् । उनीहरूले यादवले उक्त गुन बिर्सिएको भनेका छन् । तर, यादवले भने पार्टीका नीति र विधि उल्लंघन गर्दै केपी ओली सरकारका सबै असंवैधानिक कदमलाई साथ दिएपछि अहिलेको अवस्था आएको बताए ।

'उहाँहरू नै पार्टीको नीति, सिद्धान्त, विधान उल्लंघन गर्दै, आफ्नै निर्णयलाई आफैले कुल्चँदै प्रतिगमनको मतियार बन्न पुग्नुभएको हो,' यादवले भने, 'त्यो मैले भनेर गर्नुभएको हो र ? कि अर्कैले कसैले भनेर हो ?' महन्थ ठाकुर पक्ष अहिले पनि ओलीलाई साथ दिएकोमा माफी माग्दै पार्टीमा आएसँगै काम गर्न सकिने यादवको भनाइ थियो ।

निर्वाचन आयोगले भने जसपाको ठाकुर पक्षलाई अर्को पार्टी गठन गर्नका लागि समय दिने निर्णय गरेको छ । ठाकुर पक्ष भने अर्को पार्टी गठन गर्ने कि आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भन्ने दोधारमा छ । आयोगमा जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये ३४ जना यादवको पक्षमा उभिँदा १६ जनामात्र ठाकुरको पक्षमा सनाखत गर्न पुगे । त्यस्तै, एकजना भने तटस्थ बसेका थिए ।

सम्बन्धित समाचारः

प्रकाशित : श्रावण ११, २०७८ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?