कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मेलम्ची पुनर्निर्माणमा अन्योल

करिब २ अर्बको क्षति, ५७ करोड मात्र बजेट
ऋषिराम पौड्याल

काठमाडौँ — बाढीपहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोकस्थित हेडवर्क्समा क्षति पुगेको करिब डेढ महिना बितिससक्दा पनि पुनर्निर्माणको प्रारम्भिक खाका तयार हुन सकेको छैन । कुन काम कहाँबाट सुरु गर्ने ? कसले गर्ने ? नयाँ योजनाबारे अझै अन्योल कायमै छ । मेलम्ची खोलामा असार १ गते आएको बाढीले आयोजनाको हेडवर्क्सलगायत संरचनामा क्षति पुगेको थियो । 

मेलम्ची पुनर्निर्माणमा अन्योल

सरकारले विशेष निर्णय गरेर नयाँ व्यवस्था नगरेसम्म आयोजनासँग पुनर्निर्माणका लागि बजेटसमेत छैन । जसका कारण मेलम्चीको पानी वितरण कहिलेसम्म ठप्प हुने टुंगो छैन । आयोजनाका प्राविधिकहरू नै यसको जवाफ दिन सक्ने अवस्थामा छैनन् । आयोजनाका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठ परामर्शदाताको सहयोगमा निर्माणको खाका तयार भइरहेको दाबी गर्छन् । ‘हामीले आयोजनाका लागि आवश्यक बजेटको व्यवस्था गराउन माथिल्लो निकायलाई अनुरोध गरिसकेका छौं,’ श्रेष्ठले भने, ‘वर्षात् सकिएलगत्तै काम थाल्ने तयारी भइरहेको छ ।’

तर कार्यकारीले दाबी गरेजस्तै पुनर्निर्माण सहज नभएको प्राविधिकहरू बताउँछन् । उनीहरू भन्छन्, ‘निर्माण कसले र कसरी गर्ने भन्ने अन्योल कायमै छ ।’ मुहानमा निर्मित हेडवर्क्समा कुन तहको क्षति भएको छ ? पुनर्निर्माण कसरी गर्न सकिन्छ ? खानेपानी विकास समितिले आफ्नै क्षमताले पुनर्निर्माण गर्न सक्छ वा सक्दैन ? बजेटको व्यवस्थापन कसरी गर्ने ? जस्ता समस्यामा अल्झेको मेलम्चीको क्षतिसमेत हालसम्म यकिन भइसकेको छैन । बाढीले सडक र पुल बगाएपछि सहज रूपमा आयोजना क्षेत्रमा पुग्न तथा विवरण संकलन गर्न कठिन भएको प्राविधिकहरूको भनाइ छ । आयोजना स्रोतले भने परामर्शदाता इप्टिसाले क्षतिको विवरण र पुनर्निर्माणको प्रस्ताव तयार गरिरहेको जनाएको छ । तर मुहानस्थलमा पुगेर विस्तृत रूपमा प्रतिवेदन तयार गर्ने अवस्था नभएको आयोजनाका प्राविधिकहरू बताउँछन् ।

बाढीले अस्तव्यस्त भएको मेलम्ची बजारबाट देखिने इन्द्रावती । बाढीले भत्काएर बगरमा ल्याएको मेलम्ची पुलको संरचना । तस्बिरमा देखिएको बालुवाले पुरेको भागमा धान खेत र मेलम्ची नगरपालिकाले बनाउँदै गरेको पार्क थियो । तस्बिर : ऋषिराम पौड्याल/कान्तिपुर

मेलम्ची आयोजना क्षेत्रको पुल, सडक, हेडवर्क्सलगायत संरचना पुनर्निर्माणका लागि करिब २ अर्ब लाग्ने प्रारम्भिक अनुमान छ । क्षतिको विवरण यकिन नभएकाले यो अनुमान बढ्न सक्ने आयोजनाका प्राविधिकहरू बताउँछन् । पुरिएको स्थल बाहिरबाट हेर्दा यो अनुमान गरिएको हो । खास क्षति यकिन भएपछि थप विवरण आउने बताइएको छ । तर हेडवर्क्सको पुरिएकै स्थानमा पुग्न कठिन भएको आयोजनाका प्रवक्ता तथा सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

मेलम्ची विपद् : आश्वासन आयो, सहयोग आएन

आयोजनासँग चालु वर्षको बजेट कर्मचारीको तलबभत्तासमेत ५७ करोड छ । आयोजनाका प्रवक्ता पन्तका अनुसार विनियोजित बजेट पुनर्निर्माणका लागि खर्च गर्न सक्ने अवस्था छैन । उक्त बजेटमध्ये ४७ करोड पुँजीगत र ८ करोड चालु शीर्षकमा छ । ‘उक्त बजेट साविकका १४ गाविसमा सञ्चालित सामाजिक उत्थान कार्यक्रमसमेतलाई हो,’ पन्तले भने, ‘आयोजनाको निर्माण अन्तिम चरणमा पुगेकाले पनि चालु वर्षका लागि न्युन बजेट छुट्याइएको हो । बजेट बनाउने समयमा बाढी नआएकाले प्राथमिकतामा नपरेको उनले बताए । तर अहिले मुहान क्षेत्र र हेडवर्क्समा डोजर लगाएर पुरिएको बालुवा, माटो र ढुंगा सफा गर्न मात्र ४० करोडभन्दा बढी खर्च हुने अनुमान छ । पन्तका अनुसार आयोजनाको प्रवेश मार्गको स्तरोन्नतिका लागि गत आर्थिक वर्षमा खर्च गर्ने गरी ५ करोड उपलब्ध गराइएको थियो । पन्तका अनुसार त्यो निकै न्यून रकम हो । त्यसमध्ये पनि करिब ५० प्रतिशत घटेर प्रस्ताव गरेको टेन्डर स्वीकृत भए पनि प्रवेश मार्ग निर्माणको काम भएको छैन । उनका अनुसार अतिरिक्त बजेट नभए बाढीले क्षति पुगेको स्थानमा काम गर्न सक्ने अवस्था छैन ।

आयोजनाको अन्तिम ठेक्का लगाएर चीनको सिनो हाइड्रोले हेडवर्क्सको काम गरिरहेको थियो । उक्त काम अन्तिम चरणमा पुगेका बेला बाढीले क्षति पुर्‍याएको हो । हेडवर्क्स १० देखि २० मिटर पुरेको अनुमान छ । आयोजनाको हेडवर्क्स पुग्न दुई/दुई वटा पक्की पुल र बेलिब्रिज निर्माण गर्नुपर्छ । साथै मुहान नजिकैको ७ किमि सडक पूरै बगाएको छ । मुहान नजिकैको अम्बाथानबाट हेडवर्क्ससम्मको सडकको नामनिसान छैन । चनौटेको रातोपुलदेखि गणेशेबगरसम्मको करिब ५ सय मिटर सडक सबै मेलम्ची खोलामा खसेको छ । किउलको करिब सय मिटर सडक बगरमा परिणत भएको छ । पन्तले भने सरोकारवाला मन्त्रालयसँगको समन्वयमा पुनर्निर्माण गरिने दाबी गरे ।

सुरुङ खाली गरिँदै

फागुनमा परीक्षणका लागि पानी पठाएर प्रयोगमा ल्याइएको सुरुङ खाली गर्न लागिएको छ । काठमाडौंको सुन्दरीजलदेखि मुहान क्षेत्र हेलम्बुसम्मको २६ किमि सुरुङलाई तीन भागमा विभाजन गरिएको छ । सुरुङको लम्बाइ सुन्दरीजल–सिन्धु ९ दशमलव ४, सिन्धु–ग्याल्थुम ८ दशमलव २ र ग्याल्थुम–अम्बाथान ८ दशमलव २ किमि छ । असार १ गते बाढी आएकै दिन दिउँसो सुरुङ खाली गर्न सुरु गरिएको थियो । त्यसका लागि विभिन्न स्थानमा रहेको सुरुङको गेट बन्द गरिएको थियो भने अर्डिट आउटलेटबाट पानी निकाल्न सुरु गरिएको थियो ।

त्यसै दिन बेलुकीदेखि बाढी आउन थालेको थियो । बाढीले ढोका नै बन्द गरेपछि सुरुङको पानी निकाल्न कठिन भएको हो । प्रवक्ता पन्तका अनुसार अन्य भागको पानी बाहिर पठाउने काम भइरहेको छ । सुन्दरीजल–सिन्धु सुरुङको सबै पानी निकालिसकिएको छ । केही दिनमा अन्य करिब ४ किमिबाहेकको सबै पानी बाहिर निकालेर सुरुङ खाली गरिने पन्तले बताए । मुहानको सुरुङको मुख बाढीले बन्द भएकाले पानी निकाल्न नसकिएको हो ।

कसले गर्ने ?

बाढीले क्षति पुर्‍याएको प्रवेश मार्ग र पुलहरू कसले गर्ने सरोकारवाला निकाय नै अलमलमा छन् । विगतमा आयोजनाअन्तर्गत रहेका सडक र पुल बाढीले बगाएपछि पुनर्निर्माणको जिम्मेवारी कसले लिनेमै अलमल भएको हो । बाढीले विनाश गरेको मेलम्ची पुलबजारदेखि मुहान क्षेत्र अम्बाथानसम्मको १८ किमि प्रवेश मार्गको मर्मत तथा पुनर्निर्माण वर्षौंदेखि मेलम्ची आयोजनाको जिम्मामा छ । बाढीले उक्त खण्डको सबैजसो भागमा क्षति गरेको छ ।

बाढीपहिरोपछिको हेलम्बु-मेलम्ची : ‘ऊ त्यहीँ मुल्कोमै थियो मेरो घर’

चनौटेदेखि मुहानसम्मको करिब ६ किमि क्षेत्र सडक धेरैजसो खोलाले बगाएको छ । उक्त प्रवेश मार्ग बनाउन आयोजनाले सडक विभागलाई अनुरोध गरेको छ । तर उक्त खण्ड सडक विभागअन्तर्गत छैन । सरकारले बजेट विनियोजन गरेमात्र उक्त सडकको पुनर्निर्माण हुन सक्छ । अन्यथा सामान्य मर्मत गरेर सुक्खा मौसममा यातायात सञ्चालन गर्न सकिने पन्तले बताए । सडकखण्डमा दुई दशकदेखि बर्सेनि करोडौं रुपैयाँ खर्च हुँदै आएको छ । तर हरेक वर्षात्मा भने सडक बगाउने गरेको छ । अहिले पनि आयोजनाको मुख्य अन्तिम प्रवेश मार्ग मेलम्ची–तारामाराङ–अम्बाथान सडक खाल्डैखाल्डा र हिलाम्य छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार सरकारले अतिरिक्त बजेटको व्यवस्था नगरेसम्म बगाएको पुल र सडकको पुनर्निर्माण गर्न सकिँदैन ।

हेलम्बुको चनौटे बजार । बजार मेलम्ची खोलाभन्दा निकै तल थियो तर बाढीले बजारसम्मै ढुंगामाटो थुपारेको छ । बजारमा कुनै पनि बेला खोला पस्न सक्ने भएको छ । तस्बिर : ऋषिराम पौड्याल/कान्तिपुर

आयोजनाले अनुरोध गरेर प्रक्रिया पुर्‍याएमा दुई स्थानमा राख्ने बेलिब्रिज उपलब्ध गराउन सकिने उनको भनाइ छ । ‘मन्त्रिपरिषद्ले योजना र बजेट दिएर काम गर्ने अनुमति दियो भने हामी तयार छौं,’ थापाले भने, ‘कुरा चले पनि कुनै निर्णय भएको छैन ।’ आयोजनाको मुहान जोड्ने हल्दे र तिम्बुका दुई पक्की पुल बगाएको छ । सडकको केही भाग पूर्ण रूपमा बगाएकाले नयाँ ट्र्याक खोल्नुपर्ने अवस्था छ । त्यसका लागि सर्वसाधारणको जमिन प्रयोग नगरी उपाय छैन । सडक सञ्चालन नभई हेडवर्क्समा काम गर्न सक्ने अवस्था छैन ।

प्रकाशित : श्रावण ११, २०७८ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?