१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

फुल्चोकीमा भेटियो नयाँ प्रजातिको च्याउ

उस्तै देखिने ‘स्क्लेरोडर्मा मेक्सिकाना’ सँग पनि मेल नखाएपछि यो च्याउ विश्वकै लागि नयाँ भएको तथ्य नास्टले सार्वजनिक गरेको हो
गोविन्द पोखरेल

काठमाडौँ — ललितपुरको फुल्चोकीमा भेटिएको च्याउ विश्वमै नयाँ प्रजातिको भएको पुष्टि भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वरिष्ठ वैज्ञानिक अधिकृत जयकान्त राउतको टोलीले नयाँ च्याउ पत्ता लगाएको हो ।

फुल्चोकीमा भेटियो नयाँ प्रजातिको च्याउ

९ वर्षअघि फुल्चोकीस्थित कटुसको जंगलमा यो च्याउ भेटिएको थियो । राउतसँगै अनुसन्धानकर्ता टोलीमा ओम वासुकला, रचना श्रेष्ठ र रामचन्द्र पौडेलसमेत संलग्न थिए ।

यो च्याउलाई ‘स्क्लेरोडर्मा नास्टी’ नाम दिइएको छ । संस्थाको सम्मान र विश्वमा विशिष्ट पहिचानसहित उपस्थितिका लागि पछाडि ‘नास्टी’ पनि जोडिएको च्याउमै विद्यावारिधिसमेत गरेका अनुसन्धानकर्ता राउतले बताए । उनका अनुसार आलुजस्तो देखिने भएकाले यसलाई ‘गेस्टोराइड फन्जाई’ समेत भनिन्छ । पहेंलो रंगको यो च्याउ २ हजार ७ सय ६२ मिटरको उचाइमा फेला परेको थियो ।

यो प्रजातिसँगै नेपालमा स्क्लेरोडर्मा जेनसअन्तर्गत च्याउका १० प्रजाति पुगेका छन् । नयाँ च्याउ खान मिल्छ/मिल्दैन भनेर अनुसन्धान भइरहेको छ । ‘नेपालमा स्क्लेरोडर्मा जेनसका आधा दर्जन प्रजातिका च्याउ खान मिल्छ,’ राउतले भने, ‘विश्वमा स्क्लेरोडर्माका मात्रै १ सय ८४ प्रजाति च्याउ भेटिएको रकेर्ड छ ।’ विश्वमा अनुमानित १ लाख ६० हजार च्याउमध्ये १६ हजार प्रजाति मात्रै पत्ता लागेका छन् । नेपालमा भने करिब १ हजार ३ सय प्रजातिका च्याउ भेटिएका छन् ।

सन् २०१२ मा राउत नेतृत्वको वैज्ञानिक टोली फूल्चोकीमा च्याउको संकलन र पहिचान गर्न गएको थियो । त्यही क्रममा उनीहरुले पहेंलो रंगको आलुजस्तो आकार भएको च्याउ फेला पारे तर पहिचान गर्न सकेनन् । नास्टको च्याउ संकलन तथा पहिचान कार्यक्रमअन्तर्गत फुल्चोकीमा विभिन्न ४ दर्जनभन्दा बढी प्रजातिका च्याउ रेकर्ड गरिएका छन् । ‘आलुजस्तो देखिने भएकाले यो स्क्लेरोडर्मा जेनस भएको थाहा त भयो तर कुन प्रजाति भने यकिन हुन सकेन,’ अनुसन्धानकर्ता राउतले भने, ‘खोज्दै जाँदा यो प्रजाति मेक्सिकोमा पाइने स्क्लेरोडर्मा मेक्सिकानासँग केही मिल्दो देखियो ।’

त्यसपछि मेक्सिकोमा पाइने उक्त प्रजातिको च्याउको नमुना नेपालमा मगाइएको उनले बताए । उक्त च्याउ प्रजातिको डीएनए, पीसीआर र आवारण फुल्चोकीमा भेटिएको च्याउसँग मेल खाएन । नास्टको प्रयोगशालामा नास्टी प्रजातिजस्तै देखिने अन्य विभिन्न ९ प्रजातिका च्याउको पनि डीएनए दाँजियो । कुनैसँग नमिलेपछि राउतको टोलीले सन् २०२० मा यो च्याउ विश्वकै लागि नयाँ भएको निष्कर्ष निकाल्यो । नास्टले यो तथ्यबारे भर्खरै सार्वजनिक गरेको हो । माइको बैंकमा यो प्रजातिको नमुनाको नम्बर ८३५२७७ छ ।

राउतका अनुसार ढुसी तथा च्याउ समूहको नामकरण गर्ने अन्तर्राष्ट्रिय समितिलाई यसबारे जानकारी गराइएको थियो । समितिले तय गरेको प्रोटोकल र नियमावलीलगायत सम्पूर्ण प्रक्रिया पूरा गरी नयाँ च्याउ भनेर दाबी गरिएको राउतले बताए । समितिले भेरिफाइ गरेपछि ‘स्टडिज इन फन्जाई’ भन्ने एक अन्तर्राष्ट्रिय जनर्लनमा यो नयाँ प्रजातिसम्बन्धी आलेख नै छापिएको छ । आलेख छापिनुअघि च्याउको नमुना राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालामा पनि रेकर्ड गराएर अन्तर्राष्ट्रिय संकलन केन्द्रमा राखिएको उनले जानकारी दिए । ‘नास्टीको डीएनए, इलेक्ट्रोन माइक्रोस्कोपबाट लिइएको तस्बिर, आवरण (मर्फोलोजिमा), स्पोरको साइजलगायतमा अन्य च्याउभन्दा फरक छ । धेरै समय अन्य नमुनासँग दाँजेर हेर्नुपर्ने भएकाले समय लाग्यो,’ उनले भने ।

फुल्चोकीको कटुसको जंगलमा मात्रै पाइने यो प्रजातिको च्याउको थप अध्ययन नास्टले सुरु गरेको छ । यो स्थानमा अनुसन्धानकर्ता राउत नै पटकपटक पुग्ने गरेका छन् । ‘कुनै नयाँ कम्पाउन्ड भेटिन्छ कि भनेर हामी यसको केमिकल प्रोफाइलिङ गरिरहेका छौं,’ उनले भने, ‘च्याउमा पाइने रसायनबारे थाहा भएपछि खाना हुने नहुने पनि भन्न सकिन्छ ।’

प्रकाशित : श्रावण १०, २०७८ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?