१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

विपद्पीडित विपन्नलाई उपचारमा सकस

वसन्तप्रताप सिंह

बझाङ — घरमाथिको कुलो थुनियो । पानी घरतिर आउन थाल्यो । कुलोको पानी फर्काउन गएका छबिसपाथीभेरा–१ गिठीपाटाका २४ वर्षीय रूपेश गिरी पहिरोमा परे । असार २७ को दिन भएको घटनामा उनलाई पहिरोले २० मिटर तल पुर्‍याएर घाइते मात्रै बनाएन, ढाड भाँचियो । 

विपद्पीडित विपन्नलाई उपचारमा सकस

शरीरको तल्लो भाग नचल्ने भएको छ । काठमाडौंस्थित ट्रमा अस्पतालमा ढाडको शल्यक्रिया भएको भए पनि नसामा समेत क्षति भएकाले तल्लो शरीर चल्ने बनाउन थप उपचार गर्नुपर्ने चिकित्सकले सुझाएका छन् । तर विपन्न अवस्थाका उनको परिवारलाई उपचार खर्च जुटाउन हम्मे परेको छ । ‘बझाङदेखि जहाजमा काठमाडौं पुर्‍याउन र उपचारमा ५ लाखजति खर्च भइसक्यो । त्यो ऋण तिर्न सक्ने अवस्था छैन,’ रूपेशका बुबा मानप्रसाद गिरीले भने, ‘तल्लो शरीर चल्ने बनाउन अझै आठ/दस लाख खर्च लाग्छ भन्छन् । मसँग अब यहाँबाट फर्किने भाडा पनि छैन । कसरी उपचार गराउनु ?’ उनले अहिलेसम्म उपचारमा लागेको क्रण तिर्न घरखेत बिक्री गरे पनि नपुग्ने भएकाले छोराको थप उपचार गराउन सम्भव नभएको बताए ।

तीन वर्षअघि विवाह गरेका रूपेशका २ वर्षका छोरा पनि छन् । ६ जनाको परिवारमा अपांगता भएका उनका भाइ सानैदेिख राम्रोसँग हिँडडुल गर्न सक्दैनन् । एकमात्रै सहारा रूपेश पनि पहिरोमा परेर घाइते भएपछि परिवार नै सहाराविहीन बनेको छ । भारतमा मजदुरी गरेर परिवार पाल्दै आएका रूपेश लकडाउनपछि घर आएका थिए । ‘म उठिनँ भने मेरा जहान भोकभोकै मर्ने हुन्,’ रूपेशले सहयोगको याचना गर्दै भने, ‘मेरो उपचारका लागि सहयोग गरिदिनुपर्‍यो । डाक्टरले उपचार गर्‍यो भने ठीक हुन्छ भनेका छन् ।’ उनले उपचारका लागि हालसम्म कतैबाट पनि केही सहयोग नपाएको बताए ।

बिहीबार मस्टा गाउँपालिका–५ द्वारी गाउँमा आएको बाढीले गाउँनजिकैको भडाली खोलाको काठेपुल बगायो । गाउँलेहरू आवतजावत गर्ने मूलबाटोमा पर्ने पुल बाढीले बगाएपछि भोलिपल्ट स्थानीय ४५ वर्षीय नरबहादुर बोहरा त्यहाँ साँघु बनाउन खटिए । साँघु बनाउने क्रममा एक्कासि खसेका उनी गम्भीर घाइते भए । जिल्ला अस्पताल बझाङका चिकित्सकले उनको ढाड भाँचिएको हुन सक्ने अनुमान गरेर उपचारका लागि जिल्ला बाहिर रेफर गरेका छन् ।

कमजोर आर्थिक अवस्था भएका उनको परिवारलाई बाहिर गएर उपचार गराउन खर्चको समस्या छ । उपचारका लागि सहयोग पाइने आसमा पुगेको उनको परिवारलाई वडा कार्यालयले एउटा सिफारिसपत्र थमाइदिएको छ । ‘साँघु हाल्ने क्रममा लडेर गम्भीर घाइते भएका निजको आर्थिक अवस्था नाजुक भएकाले उपचारमा सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ,’ वडाको सिफारिसपत्रमा लेखिएको छ । यो पत्र देखाउँदै उनको परिवारका सदस्य जिल्ला अस्पतालमा सहयोगका लागि हारगुहार गरिरहेका छन् । ‘समाजको काम गर्नका लागि मरिमेट्ने मान्छे, अहिले उपचार खर्च नपाएर छटपटाउनुपरेको छ,’ उनका आफन्त सन्दीप बोहराले भने, ‘बझाङ अस्पतालले कोहलपुर रेफर गरेको छ । त्यहाँसम्म पुर्‍याउने गाडी भाडा पनि छैन ।’ उनले केही आफन्तसँग सहयोग उठाएर एम्बुलेन्स भाडा जुटाउने प्रयास गरिरहे पनि कोहलपुर पुर्‍याएपछि उपचार खर्च कहाँबाट ल्याउने भन्नेमा परिवार चिन्तामा परेको बताए । ‘उता पुर्‍याउनका लागि त खर्च जुट्ला जस्तो छ । त्यहाँ कति खर्च लाग्ने हो । कसरी बेहोर्ने ?’ जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले विपद्मा परेर घाइते भएकालाई आर्थिक सहयोग गर्ने व्यवस्था नभए पनि निःशुल्क उपचारका लागि सिफारिस गर्न सकिने बताए । ‘विपद्मा परेर घाइते भएकाको उपचारका लागि हामीले सिफारिस गर्न सक्छौं,’ उनले भने, ‘हाम्रो सिफारिसका आधारमा अस्पतालले ५० हजारदेखि १ लाखसम्मको उपचार निःशुल्क गरिदिन्छ ।’

प्रकाशित : श्रावण १०, २०७८ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?