कलिलैमा गहिरो शोक

जनकराज सापकोटा

काठमाडौँ — पाँचथरको कुम्याक गाउँपालिका–५ की एक बालिकाले न्वारनअघि नै कोरोना संक्रमणका कारण आमा गुमाइन् । उनीमाथिका २, ६ र ८ वर्षका तीन दिदीसमेत आमाविहीन भए । कमजोर आर्थिक अवस्थाका बाबु चार छोरीले आमा गुमाएकामा मात्रै होइन उनीहरूको भविष्यप्रति पनि चिन्तित छन् । 

कलिलैमा गहिरो शोक

कोरोना महामारीमा यी बालिकाजस्तै कलिलैमा अभिभावक गुमाउने अरू पनि धेरै छन् । असार मसान्तसम्म ७ सय ५३ स्थानीय तहमध्ये ६५ बाट प्राप्त तथ्यांक हेर्दा पनि १ सय ८४ बालबालिकाले आमा वा बाबु अथवा आमाबाबु दुवै गुमाएको देखिन्छ । राष्ट्रिय बाल अधिकार परिषद्ले स्थानीय तहबाट संक्रमणका कारण अभिभावकविहीन बालबालिकाको तथ्यांक संकलन गरिरहेको छ । असार मसान्तसम्मको विवरण केलाउँदा १ सय ११ बालबालिकाले संक्रमणकै कारण बाबु गुमाए भने २६ जनाले आमा र ४ जनाले बाबुआमा दुवै गुमाएको देखिन्छ । त्यस्तै, बाबुआमाविहीन हुर्किरहेका ४ बालबालिकाले हजुरबुबा र हजुरआमा दुवै गुमाएका छन् । पूर्ण विवरण नआएकाले ३९ बालबालिकाले को गुमाए भनेर प्रस्ट खुलेको छैन ।

कुम्याकका अध्यक्ष जयबहादुर चेम्जोङले अभिभावक गुमाएका बालबालिकाको हुर्काइ संघर्षपूर्ण हुने बताए । उनको गाउँपालिकामा मात्रै ४ बालिका आमाविहीन र एक ११ वर्षीय बालक बाबुविहीन बनेका छन् । ‘महिना दिनभन्दा कम उमेरका बच्चाले पछि आमाको मृत्युको कारण सुन्दा कति मानसिक असर पर्ला ?’ उनले भने, ‘मर्ने त मरेर गइगए । तर बाँच्ने कलिला बालबालिकामा मानसिक स्वास्थ्य र पढाइमा पछिसम्मै समस्या पर्छ । त्यसैले उनीहरूलाई विशेष संरक्षणको खाँचो छ ।’

अभिभावक गुमाएकामध्ये १ जना १ वर्षमुनिका छन् भने २४ जना २ देखि ५ वर्ष उमेर समूहका छन् । त्यस्तै, ४५ जना ६ देखि १० वर्ष उमेर समूहका, ५२ जना ११ देखि १५ वर्ष उमेर समूहका, २९ जना १६ देखि १८ वर्ष उमेर समूहका छन् । त्यस्तै स्थानीय तहबाट पठाइएको विवरण अपुरो भएकाले २९ जना बालबालिकाको भने उमेर समूह खुल्न सकेन ।

काभ्रेको पाँचखाल नगरपालिकामा मात्रै कोरोनाका कारण बाबुआमा दुवै गुमाएका बालबालिका २ जना छन् । संक्रमणकै कारण आमा र भवितव्यका कारण बाबुसमेत गुमाएर बाबुआमाविहीन बनेका अरू २ बालबालिका पनि छन् । वडा–१ का अध्यक्ष अष्टबहादुर तामाङका अनुसार कोरोनाका कारण आमा बितेको केही समयपछि रक्सीको अम्मली रहेका बाबु आगलागीमा परेर बिते । उनले भने, ‘आमाको शोक सकिन नपाउँदै बाबु पनि गुमाएका १६ र १४ वर्षका दुई बालबालिका अहिले दाइको शरणमा पुगेका छन् ।’ सामान्य ज्यालादारी गर्ने परिवारका दुई बालबालिका अभिभावकविहीन हुँदा उनीहरूको भविष्य नै अन्योलमा परेको उनले बताए ।

सातै प्रदेशका ६५ स्थानीय तहबाट प्राप्त तथ्यांक केलाउँदा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै ६१ जना बालबालिकाले कोरोनाका कारण बाबु वा आमामध्ये एक जना गुमाएका छन् । दोस्रोमा लुम्बिनी प्रदेशका ४४ बालबालिकाले पनि बाबु वा आमामध्ये एक गुमाएको देखिन्छ । बझाङको थलारा गाउँपालिकाका मात्रै २९ जना बालबालिकाले बाबु अथवा आमामध्ये एक जना गुमाएका छन् । त्यस्तै, कैलालीको टीकापुर नगरपालिकाका १२ जना बालकले बाबु र १ जना बालकले आमा गुमाएको देखिन्छ । जसमध्ये ४ जना बालबालिका त ३ वर्षमुनिका छन् ।

राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले कोरोना संक्रमणको गहिरो असर ठूलो संख्यामा रहेका बालबालिकामा परेको बताए । कम्तीमा ३ सयभन्दा धेरै बालबालिकाले बाबु अथवा आमा वा दुवै गुमाएको हुन सक्ने आकलन गरिएको उनको भनाइ छ ।

‘यस्ता बालबालिकालाई सकेसम्म स्थानीय तहकै समन्वयमा संरक्षणका निम्ति परिवारमै सहजीकरणको पहिलो प्रयास गर्नेछौं,’ उनले भने, ‘त्यो सम्भव नभए नजिकको नातेदारमा संरक्षणको व्यवस्था मिलाउने वा दीर्घकालीन संरक्षणका निम्ति सम्बन्धित जिल्ला/प्रदेशका बालगृहमा राख्ने पहल भइरहेको छ,’ उनले भने । संक्रमणले बालबालिकामा कति असर पारिरहेको छ भन्नेबारे अझै विस्तृत अध्ययनको खाँचो रहेको उनले बताए ।

दोस्रो लहरमा राष्ट्रिय बाल अधिकार परिषद्ले १ सय ४७ जना स्वयंसेवक खटाएर संक्रमणको प्रभावबारे अध्ययन गरेको थियो । कार्यकारी निर्देशक धरेलले संक्रमणको प्रभावस्वरूप देखिएको बढ्दो बेरोजगारी र गरिबीको सोझो असर बालबालिकामा परेको बताए । ‘खाद्य संकट र बेरोजगारीका कारण अभिभावकमा उत्पन्न द्वन्द्वको मारमा पनि बालबालिका नै परिरहेका छन्,’ उनले भने ।

बालबालिकाको सिकाइ र विकासमा विद्यावारिधि गरेकी मीनाक्षी दाहाल लामो समयको लकडाउन/निषेधाज्ञाका कारण मनोविज्ञानमा असर परिरहेका बेला अभिभावक गुमाउँदा उनीहरूमा झनै गहिरो असर पर्ने बताउँछिन् । अभिभावकको मृत्युपछि पर्ने दीर्घकालीन अभाव कसैले पूर्ति गर्न नसक्ने भएकाले राज्य वा परिवारका सदस्यले निरन्तर सहयोग पुर्‍याउन सके मनोवैज्ञानिक आघातबाट केही हदसम्म भए पनि जोगाउन सकिने उनको भनाइ छ ।

प्रकाशित : श्रावण १०, २०७८ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?