कफिनमाथि आँसुको भल- समाचार - कान्तिपुर समाचार

कफिनमाथि आँसुको भल

मलेसियाबाट एकै दिन आए २४ शव र ३ जनाको अस्तु, १० शव अझै उतै
श्रम गन्तव्य मुलुकमध्ये सबैभन्दा बढी नेपालीको मृत्यु मलेसियामा हुने गरेको छ 
होम कार्की

काठमाडौँ — प्रस्थान कक्षमा यात्रु छिर्नेबाहेक छुट्टै एउटा फलामे ढोका छ, जुन यदाकदा मात्रै खुलेको देखिन्छ । शनिबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उक्त ढोका खोलिँदा त्यहाँ २ घण्टाअघिदेखि नै भेला भइसकेका थिए मलिन अनुहार लगाएकाहरू ।

दैलेखको दुल्लु–१३ मालिकाका लोकबहादुर शाहीको कफिनछेउ भावविह्वल श्रीमती पुष्पा र छोराछोरी । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

यही भीडमा छुट्टै किंकर्तव्यविमूढ उभिएकी थिइन् दैलेखको दुल्लु–१३ मालिकाकी २८ वर्षीया पुष्पा शाही । साथमा थिए १३ वर्षीया छोरी र १० वर्षका छोरा ।

अलि पर भित्र पस्न हतारिँदै थिए उनका जेठाजु नरेन्द्रबहादुर र चार जना आफन्त । मलेसियाबाट उडेको नेपाल एयरलाइन्सको विमान बिहान ७:३० बजे अवतरण भएको थियो । वाइडबडी विमान २४ जनाको शव लिएर आएको थियो । तीमध्येको एउटा शव ३२ वर्षीय लोकबहादुर शाहीको थियो, जसका लागि १८ घण्टा कठिन यात्राको दूरी पार गर्दै पुष्पा, छोराछोरी र आफन्त आएका थिए ।

शव बुझ्न कागजी प्रक्रिया पूरा गर्दागर्दै दुई घण्टा लाग्यो । शव बुझ्ने कागजात भएपछि प्रहरीले गेट आधा मात्रै खोलेर नरेन्द्रबहादुरको साथमा रहेका आफन्तलाई भित्र पस्न दिए । पुष्पा र छोराछोरी बाहिरै उभिए । विमानस्थलभित्र शव ल्याइएका सेता बाकस खात लगाइएको थियो । भिज्न नदिन बाकसलाई प्लास्टिकले बेरिएको थियो ।

हरेक बाकसमा नाम लेखिएको थियो । भित्र पस्न दिएपछि नरेन्द्र आफ्ना भाइ ‘लोकबहादुर शाही’ नाम लेखिएको बाकस खोज्दै अगाडि बढे । शव बनेर भाइ आएको बाकस भेटियो । पाँच जना मिलेर स्ट्रेचरमा हाली बाहिर निकाले । भित्र नरेन्द्रले शव भएको बाकस पहिचान गर्नेबित्तिकै बाहिर ढोकाबाट हेरिरहेकी पुष्पाको आँखाबाट आँसुको भल छुट्न थालिसकेको थियो । छोरीले भित्र आँखा लगाइरहे पनि छोराले भने आमालाई हेरिरहे । पुष्पालाई सम्हालिन निकै गाह्रो भइरहेको थियो । नरेन्द्रले बाकसलाई बाहिर ल्याए । परिवारका तीन जना शवको टाउको राखिएको भागमा हात राखेर रुन थाले । यो दृश्य देख्ने अरूका आँखा पनि रसाइरहेका थिए । नरेन्द्रले शव लैजान ल्याइएको गाडीमा बाकस लोड गरे । गाडी पशुपति आर्यघाट पुग्यो ।

‘शवलाई कति ठाउँ घुमाउँदै गाउँ लैजाने ? आफूलाई सम्हाल्न कठिन भएकाले पशुपति आर्यघाटमै अन्त्येष्टि गरियो,’ नरेन्द्रले कान्तिपुरसँग भने, ‘अब काठमाडौं बसेर भएन, घर फर्किन्छौं ।’

सुरक्षा गार्डको काम गर्न भिसा आउँदा लोकबहादुर हाँसीखुसी घरबाट हिँडेका थिए । उनी २०७४ पुस २६ मा मलेसिया गएका थिए । नेपाली दूतावासका अनुसार गत जुलाई २० मा उनले आत्महत्या गरेका थिए । ‘वास्तविक कुरा बुझ्न सकेको छैन । सुन्नमा आएअनुसार आत्महत्या भएको भन्ने छ । विदेशको मामिलाबारे पूरा कुरा बुझ्न सकेको छैन,’ नरेन्द्रले भने, ‘उनले आत्महत्या गर्नुपर्ने कारण त थियो जस्तो हामीलाई लाग्दैन । खै के हो ? के ?’ उनले कम्पनी र साथीहरूमार्फत भाइको मृत्युको कारण पत्ता लगाउन कोसिस पनि गरेका थिए । तर चित्तबुझ्दो उत्तर नपाएको उनले बताए । दाहसंस्कार सकेपछि उनीहरू साँझ ६ बजे दैलेख फर्किए ।

नेपाल एयरलाइन्सको उडान नम्बर ४१६ ले शाहीसहित सल्यानका बुद्धिराम कामी, बर्दियाका मनीराम चौधरी, बैतडीका कर्णबहादुर बुढाथोकी, जाजरकोटका सन्दीप विक, बागलुङका सुनिल बीसी, तनहुँका झापटबहादुर थापा, पाँचथरका दलबहादुर मोक्तान, ललितपुरका कृष्णकुमार राई, सुनसरीका होमबहादुर गुरुङ, बाराका रामचरित्र कानु, सिन्धुपाल्चोकका अमरबहादुर माझी, सिरहाका रूपेश पुलामी मगर, कपिलवस्तुका श्यामु थारू, ओखलढुंगाका सोमरबहादुर तामाङको शव लिएर आएको हो । त्यस्तै, झापाका शम्भु विक, मोरङकी कमलादेवी भण्डारी, झापाका लोकबन्धु लावती, नवलपरासीका मति तामाङ, पाल्पाका यमबहादुर सनारी, ओखलढुंगाका दलमान तामाङ र झापाका गोविन्द बोहराको शव पनि आइपुगेको छ ।

नवलपरासीका मोहनप्रसाद चौधरी, डडेलधुराका मीनबहादुर विष्ट र सिरहाका रोशनकुमार यादवको भने अस्तु मात्रै आएको थियो । परिवारको सहमतिमा मलेसियामा नै काजकिरिया गरेपछि तीन जनाको अस्तुमात्रै पठाइएको थियो । तीन महिनाको अवधिमा उनीहरूको मृत्यु भएको हो । तनहुँको शुक्लागण्डकी–६ का बमबहादुर थापाले शव पर्खेर बस्नुपर्दा परिवारलाई निकै कठिन भएको बताए । उनका दाजु झापटबहादुरको जेठ १९ मा मृत्यु भएको थियो । ‘सबैभन्दा कठिन नै शव कुर्नु रहेछ,’ उनले भने ।

मलेसियास्थित नेपाली दूतावासका अनुसार निषेधाज्ञाको समयमा अन्तर्राष्ट्रिय उडान रोकिएकाले समयमा नै शव पठाउन नसकिएको हो । लामो समयसम्म सरकारले नेपाल एयरलाइन्सको विमान नपठाइदिएकाले मलेसियामा मृतक कामदारको शव रोकिएको थियो । दूतावासका अनुसार अझै १० जनाको शव पठाउन बाँकी छ । कोरोनाबाट मात्रै मृत्यु भएका ३५ जनाको शव भने स्वदेश आउन पाएन ।

वैदेशिक रोजगार बोर्डले घरसम्म निःशुल्क रूपमा शव लैजाने प्रबन्ध मिलाएको थियो । ‘गाउँमै रीतिरिवाजअनुसार दाहसंस्कार गर्ने सहमति भयो । हामी गाउँमा नै लिएर जाँदै छौं,’ होमबहादुर गुरुङको शव बुझ्न सुनसरीबाट आएका आफन्त किरणले भने ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले पछिल्लो समयमा आत्महत्या गर्ने बढिरहेको बताए । ‘आत्महत्या गर्ने दर बढ्यो । यसले हामीलाई गम्भीर बनाएको छ,’ उनले भने, ‘पारिवारिक तनावका कारण आत्महत्या गर्नेको संख्या बढिरहेको छ ।’ त्यसबाहेक औद्योगिक दुर्घटना, सडक दुर्घटना र दीर्घरोगले मर्ने पनि बढेका छन् । गत आर्थिक वर्षमा मात्रै २ सय ८१ जना नेपालीको मृत्यु भइसकेको छ । प्रमुख श्रम गन्तव्य मुलुकमध्ये सबैभन्दा बढी नेपाली कामदारको मृत्यु मलेसियामा हुने गरेको छ । पछिल्लो एक दशकमा मात्रै ३ हजार जनाको मृत्यु भइसकेको छ ।

राजदूत पाण्डेका अनुसार हृदयघात र रोगको सिकारबाट मृत्यु भइरहे पनि पछिल्लो समय आत्महत्याको दर चिन्ताजनक ढंगले बढेको छ । अन्तर्राष्ट्रिय संस्था मोइसको दुई वर्षअघि प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार श्रम गन्तव्य मुलुकमा प्रतिकूल वातावरणमा काम गर्नुपर्ने र स्वास्थ्य सेवामा सीमित पहुँच हुने गरेकाले कामदारको मृत्यु भइरहेको छ ।

‘कामदारहरू जोखिमपूर्ण पेसामा काम गर्न बाध्य छन्, जसले गर्दा उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने तथा अंगभंग र मृत्युको जोखिम पनि उत्तिकै छ,’ प्रतिवेदनमा उल्लेख छ । असमान तापक्रम, कीटनाशक औषधि तथा रासायनिक पदार्थको प्रयोगबाट हुने प्रतिकूल वातावरणीय प्रभाव, अधिकतम शारीरिक परिश्रम, पेसागत सुरक्षाको अनिश्चितता, कार्यस्थलमा हुने हिंसा, बेचबिखन र बाध्यकारी श्रमका कारण मृत्युदर बढिरहेको मोइसको निष्कर्ष छ । यसका साथै अनुभव र सूचनाको कमीले कामदार सडक दुर्घटनामा पर्नु पनि प्रमुख समस्याका रूपमा छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पछिल्लो प्रतिवेदनअनुसार वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका प्रायःजसो श्रमिकको मृत्युका कारण स्पष्ट रूपमा खुल्दैन । वैदेशिक रोजगार र स्वास्थ्य क्षेत्रबीचको सम्बन्धलाई अझ ध्यान दिनु जरुरी रहेको मन्त्रालयले जनाएको छ । मलेसियामा मृत्यु भएका सबैले क्षतिपूर्ति पाउने अवस्था भने अझै छैन । तोकिएबमोजिम कामको सन्दर्भमा मृत्यु भएका कामदारका परिवारले आजीवन रूपमा दैनिक तलबको ६० प्रतिशतसम्म रकम पाउँछन् । हाल मलेसियामा एक लाख ७० हजार नेपाली वैधानिक रूपमा कार्यरत छन् ।

प्रकाशित : श्रावण १०, २०७८ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्

खोप लगाएको प्रमाण बनाउन अर्को भीड

देशमा रोजगारी नपाएर विदेश जाने युवा श्रम स्वीकृतिका लागि मात्र होइन, खोपको लाइनमा पनि पिल्सिन बाध्य छन् । दुःख त्यतिमा सकिँदैन, स्वास्थ्य केन्द्रमा खोप लगाएपछि अंग्रेजीमा प्रमाण बनाउन टेकु अस्पताल जानुपर्छ जहाँ अर्को भयानक भीड पर्खिरहेको हुन्छ ।
होम कार्की

काठमाडौँ — साउदी अरब उड्ने प्रतीक्षामा रहेका श्रीधर बुचा खोप लगाउन पाल्पाबाट बुधबार बिहान काठमाडौं आइपुगे । वैदेशिक रोजगारमा जाने कामदारलाई काठमाडौंमा जोन्सन एन्ड जोन्सनको खोप दिने खबर आएपछि उनी रातारात काठमाडौं आइपुगेका थिए । ‘सिधै एयरपोर्टनजिकै खोप केन्द्रमा लाइनमा बसें । तीन घण्टामा पालो आयो,’ उनले भने, ‘भिसा र राहदानी देखाएपछि खोप लगाएँ ।’

कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण गराउन बिहीबार काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका युवाको भीड । विदेश जानजान्सेन खोप लगाएका उनीहरू बिहान २ बजेदेखि लाइन लागेका थिए । तस्बिर : अंगद ढकाल/कान्तिपुर

स्वास्थ्य केन्द्रमा खोप लगाएपछि सरकारले खोप कार्ड दिने गरेको छ, त्यो नेपालीमा लेखिएकाले विदेशमा मान्यता पाउने सम्भावना नै भएन । त्यसैले कार्ड अंग्रेजीमा प्रमाणीकरण गर्न सरकारले अर्को व्यवस्था गरेको छ । ‘खोप कार्ड लिएर बिहीबार टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा पुगें । हिजो खोप लगाउन भीडमा, आज प्रमाणित गर्न लाइनमा, दिनभर ठेलमठेल भीडसँग लड्नुपर्‍यो,’ उनले भने ।

श्रीधरजस्ता युवा विदेश जाने हुन् भन्ने सरकारलाई पहिले नै थाहा थियो, पासपोर्ट र भिसा देखाएर नै उनले खोप लगाउन पाएका हुन् । ‘सके सबैका लागि, होइन भने पनि भिसा देखाउनेहरूका लागि त तत्कालै अंग्रेजीमा प्रमाणपत्र दिने व्यवस्था हुनुपर्ने हो । तर, भद्रगोल भएकाले धेरैले दुःख पायौं’ सिरहाका अब्दुल सतरले भने ।

प्रमाणपत्र लिन बुधबारबाट अस्पताल परिसरमा वैदेशिक रोजगारमा जानेहरूको भीड लाग्न थालेको छ । ‘प्रहरीले भित्रै छिर्न नदिने, भीडले भित्र जान खोज्ने, एकदमै गाह्रो भयो,’ कतार जाने तयारीमा रहेका सतरले भने, ‘जता पनि अस्तव्यस्त मात्रै भयो । यो प्रमाणपत्र त हामीलाई खोप लगाएकै ठाउँमा दिनुपर्ने हो ।’ उनले वैदेशिक रोजगारीमा जानेलाई एकमाथि अर्को सास्ती थपिँदै गएको बताए । ‘श्रम स्वीकृतिका लागि पनि घण्टौं लाइनमै बस्नुपर्ने । खोप लगाउन पनि लाइनमै बस्नुपर्ने, अब त हुँदाहुँदै खोप लगाएको पत्र बुझ्न पनि लाइनमै बस्नुपर्ने भयो,’ उनले भने, ‘यो त अति भयो ।’

कोभिडको समयमा पनि म्यानपावर कम्पनीले गत आर्थिक वर्षमा ९२ हजार जनाको श्रम स्वीकृति लिएका छन् । जसमध्ये २८ हजार जना उड्न बाँकी छन् । नेपालीको आकर्षक गन्तव्य मानिएका दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतले कोभिडका कारण नेपाली कामदार लगेका छैनन् । साउदी अरब, कतार, बहराइन र ओमानले सर्तसहित कामदार लगिरहेका छन् । खुला गरिएका देशमा खोपको आधिकारिक पत्र बोकेर आउने कामदारले क्वारेन्टाइनमा बस्नु पर्दैन ।

‘जो कामदारसँग पीसीआर रिपोर्ट छ, खोप प्रमाणपत्र छ भने क्वारेन्टाइनमा बस्नु पर्दैन,’ कतार सरकारको सूचनामा भनिएको छ, ‘खोप प्रमाणपत्रमा यात्रुको नाम, राहदानी नम्बर, खोपको नाम, लगाएको मिति र खोपको लट नम्बरसमेत उल्लेख हुनुपर्छ ।’ खोप लगाएको पुष्टि हुने पत्र नभए क्वारेन्टाइन बस्नुपर्छ । त्यसको खर्च कामदारले बेहोर्नुपर्छ । ‘यो पत्र भएपछि एक लाख रुपैयाँ जोगिन्छ,’ उनले भने, ‘यो पैसा मेरा लागि चार महिनाको तलब हो । भाडा पनि ऋण गरेर ल्याएका हामीले क्वारेन्टाइन खर्च कहाँबाट गर्नु ?’

सरकारले खोप लगाएको आधिकारिक पत्र दिने ठाउँ टेकुस्थित शुक्रराज अस्पताललाई मात्र तोकिदिँदा कामदारले हैरानी खेप्नुपरेको हो । टेकु अस्पतालका निर्देशक डा. अनुप बाँस्तोला लाखौंले खोप लगाइसकेको हुँदा एक ठाउँबाट मात्रै आधिकारिक पत्र जारी गर्न कठिन हुने बताउँछन् ।

सरकारले १५ लाख जनालाई जोन्सन एन्ड जोन्सन लगाउँदै छ । त्यसमध्ये ठूलो हिस्सा वैदेशिक रोजगारीमा जानेलाई लगाइएको छ । अस्पतालले भीड बढेपछि शुक्रबारदेखि ४८ घण्टाभित्र उडान भएकालाई प्राथमिकतामा राखेर पत्र जारी गर्ने सूचना जारी गरेको छ । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ श्रम र स्वास्थ्य मन्त्रालयबीच समन्वय नभएकाले कामदारले सास्ती पाएको बताउँछन् । उनका अनुसार टेकुले जारी गरेको आधिकारिक पत्रले पनि काम गर्ने वा नगर्ने यकिन छैन । ‘प्रमुख देशहरूले खोप कार्डमा बारकोड हुनुपर्छ भनिएको छ । डिजिटल रिड गर्ने मिल्ने भनिएको छ । यसमा पत्र मात्रै छ,’ उनले भने, ‘सरकारको छाप लगाएर अंग्रेजीमा खोप लगाएको हो भनेर उल्लेख गरिएको छ ।’

टेकु अस्पतालबाट अंग्रेजीमै जारी भएको प्रमाणले पनि विदेशमा मान्यता पाउँछ कि पाउँदैन भन्नेमा वैदेशिक रोजगार विभागसमेत स्पष्ट छैन । ‘कुन निकायले कार्ड जारी गर्ने हो ? कस्तो कार्ड जारी गर्ने भनेर दूतावासमार्फत जानकारी दिनुपर्छ । तर, खोपको प्रमाणपत्रको ढाँचाबारे विभागसँग समन्वय नै भएन,’ विभागका महानिर्देशक कृष्णप्रसाद दवाडी भन्छन्, ‘यो सबै झमेला हटाउन श्रम, स्वास्थ्य र परराष्ट्र मन्त्रालयबीच समन्वय आवश्यक छ ।’

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले हाल जारी गरिएको कार्डमा क्यूआर कोड नभएको र भविष्यमा त्यस्तो व्यवस्था गर्ने बताउँछन् । ‘अंग्रेजी र नेपालीमा लेखिएको कार्डलाई छाप हानेर दिने गरेका छौं । यो नै हाम्रो आधिकारिक प्रमाणपत्र हो,’ गौतमले भने, ‘क्यूआर कोडसहित खोप प्रमाणपत्र चाहिन्छ भनेर हामीले पनि महसुस गरेका छौं ।’

व्यवसायीहरूका अनुसार वैदेशिक रोजगारीमा जाने सबै कामदारले अझै खोप पाइसकेका छैनन् । ‘हामीले कामदारलाई प्राथमिकतामा राखेर खोप दिन सरकारलाई भनिरहेका छौं,’ संघका महासचिव श्रेष्ठले भने, ‘प्रमुख गन्तव्य देशहरूले खोप लगाएका कामदार लैजाने नीति लिएका छन् । उताबाट मागपत्र आइरहेको छ । यता खोप भए कामदार सजिलै पठाउन सकिन्छ ।’

गत वर्षको फागुन २१ देखि कोरियामा कामदार पठाउने प्रक्रिया नै स्थगित छ । यूएईले वैशाख २३ देखि कामदारसहित नेपाली यात्रुलाई प्रवेश निषेध छ । उसले कोरोनाको ठूलो मारमा परेको भारतलाई खुला गरे पनि नेपालबाट कामदार लगेको छैन । कात्तिकयता मात्रै यूएईको अर्धसरकारी कम्पनीले २९ हजार कामदारलाई रोजगारी दिने भन्दै नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण गरेको छ । तर, कामदार छनोट गरी उडान भर्ने बेला यूएईले नेपालमाथि प्रतिबन्ध लगायो ।

यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले नेपालमा कोरोनाको संक्रमण दर घटिरहेको हुनाले नेपालीमाथि लगाएको प्रतिबन्ध खोल्न यूएई सरकारलाई अनुरोध भइसकेको बताए । ‘कोरोना संक्रमण घटेको र खोप कार्यक्रम पनि अघि बढेकाले सकेसम्म छिटो प्रवेश खोल्न अनुरोध गरेका छौं, सकारात्मक जवाफको प्रतीक्षामा छौं’ उनले भने । असार ९ मा यूएईको स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनाअनुसार फाइजर, स्पुतनिक भी, सिनोफार्म, अक्सफोर्ड–अस्ट्राजेनेका खोप लगाएकाहरूलाई मात्रै प्रवेश अनुमति छ ।

कोरोना संक्रमणको पहिलो लहर देखिएलगत्तै कुवेतले नेपालबाट कामदार लगेको छैन । उसले नयाँ भिसासमेत जारी गरेको छैन । साउन १७ देखि भने खोप लगाइसकेको कामदार आउन पाउने सूचना जारी गरेको छ । कुवेतले कोभिडबाट उच्च र कम जोखिममा रहेका देशको सूची हटाउँदै आफूले अनुमोदन गरेको खोप लगाएकालाई प्रवेशको अनुमति दिने नीति लिएको हो ।

कुवेतले अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोन्सनलाई अनुमोदन दिएको छ । पहिला नै भिसा लिएका र नेपालमै रोकिएका कामदारलाई अनलाइनबाट भिसा नवीकरण गर्न पाउने बाटो पनि उसले खोलिदिएको छ । नवीकरण गरी उनीहरू साउन १७ देखि कुवेत जान पाउनेछन् । सेप्टेम्बरपछि भने खोप नलगाएकाको भिसा नवीकरण नगरिने जनाएको छ ।

पछिल्लो समय सबैभन्दा धेरै नेपाली कामदारको माग भइरहेको साउदी अरबले अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर–बायोटेक, मोडर्ना, जोन्सन खोप लगाएका यात्रुलाई मात्रै प्रवेश अनुमति दिएको छ । साउदीको आन्तरिक मन्त्रालयको सूचनाअनुसार साउन १७ देखि खोपको मात्रा पूरा भएका कामदारले मात्रै कार्य क्षेत्रमा जान पाउनेछन् । बिनाखोप काम गरेको भेटिए जरिवाना, निलम्बनदेखि डिपोर्टसम्म गर्ने नीति साउदी सरकारको छ ।

ओमान र बहराइनले पनि नयाँ भिसा जारी गरेका छैनन् । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले आवासीय भिसा भएका कामदार आउन भने रोक नभएको बताइन् । ‘रोजगार भिसा भएकाहरू सातदिने क्वारेन्टाइनमा बस्ने गरी आउन पाउँछन्,’ उनले भनिन् । गैरआवासीय नेपाली संघ बहराइनकी अध्यक्ष लक्ष्मी गिरी यूएईले प्रवेश रोक्दा बहराइन जाने नेपाली पनि रोकिएको बताउँछिन् । ‘बहराइनसँग सिधा उडान छैन । अन्य देशबाट पनि आउन कठिन छ । मुख्यतः यूएई ट्रान्जिट भएर जाने–आउने हो । त्यहाँ रोकिएकाले बहराइन पनि रोकिएजस्तै छ’ उनी भन्छिन् ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

प्रकाशित : श्रावण ८, २०७८ ०६:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×