२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

दाहालले तनाव लिने कि विधि बसाउने ? [टिप्पणी]

माओवादी यस्तो पार्टी हो, जसले मापदण्ड तय गरेर कमै मन्त्री बनाउँछ । सोही कारण कसैले पटक–पटक लाभ लिएका छन्, कसैल मौकै पाएका छैनन् । 
बबिता शर्मा

काठमाडौँ — सरकार गठनको दुई साता पुग्न लाग्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । गठबन्धनको सरकारमा मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्री देउवाका अगाडि कैयौ चुनौती होलान् । तर, गठबन्धनको मुख्य घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिबार दिएको अभिव्यक्तिले चाहिँ केही अर्थपूर्ण सन्देश प्रवाह गरेको छ ।

दाहालले तनाव लिने कि विधि बसाउने ? [टिप्पणी]

नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित कार्यक्रममा दाहालले भने, ‘मन्त्री बन्न दबाब दिने मान्छेको हुलभित्रबाट आएको छु । आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने कसलाई नबनाउने ?’

दाहालको थप भनाइ थियो, ‘हाम्रा सांसद सबैलाई मन्त्री चाहिया छ । हामीले पाउने बढीमा ७ जना हो । यहाँ मन्त्री नभए भने नेतृत्वलाई सरापेर हिँड्ने, पायो भने मात्रै काम गर्ने प्रवृत्ति छ । ठूलै नियुक्ति पायो भने ठीक छ, पाएन भने नेतृत्व बेइमान भन्ने प्रवृत्ति छ ।’

प्राविधिक हिसाबले मात्रै हेर्‍यो भने दाहालको अभिव्यक्ति सामान्य लाग्छ । किनभने हरकोही सांसदले मन्त्रीको आंकाक्षा राख्नु स्वाभाविक हो । प्रतिनिधिसभामा माओवादीका सभामुखसहित ४९ सांसद छन्, यसमा दाहाल आफै पनि पर्छन् । राष्ट्रिय सभामा माओवादीका सांसद छन्, उनीहरु पनि धेरैजसो मन्त्री बन्ने दौडमा छन् ।

प्राविधिक र भावनात्मक पक्षभन्दा बाहिर गएर हेर्‍यो भने दाहालको अभिव्यक्तिमा गंभीर राजनीति सन्देश छ । दाहालको अभिव्यक्तिको पहिलो सन्देश हो–माओवादीमा विधि–प्रक्रिया र निश्चित मापदण्डबाट होइन, गोजीबाट मन्त्री बन्छन् । विधि–प्रक्रिया र निश्चित मापदण्डका आधारमा मन्त्री बन्ने बनाउने परिपाटी भएको भए पक्कै पनि सवै सांसद मन्त्री बन्ने दौडमा लाग्ने थिएनन् ।

दाहालको अभिव्यक्तिले प्रस्ट सन्देश दिएको छ, जोसँग पहुँच छ, उही व्यक्ति मन्त्रीका लागि योग्य हुन्छन् । माओवादी यस्तो पार्टी हो, जसले मापदण्ड तय गरेर कमै मन्त्री बनाउँछ । सोही कारण कसैले पटक–पटक लाभ लिएका छन्, कसैल मौकै पाएका छैनन् ।

अध्यक्ष दाहालको अभिव्यक्तिको दोस्रो सन्देश हो–माओवादीमा मन्त्रीहरु पेरिसडाँडाबाट होइन, खुमलटारबाट छानिन्छन् । पार्टी कमिटीले निर्णय गर्ने र त्यही आधारमा मन्त्री तय हुने परम्परा माओवादीमा छैन । त्यही आधारमा हरकोही सांसद पाटी कमिटीप्रति विश्वास गर्दैन र सिधै दाहाल निवास पुगेर मन्त्रीको लागि याचना गर्छन् । देउवा सरकारमा असार २९ गते पठाएका दुई मन्त्री पनि पार्टीको स्थायी कमिटीमा औपचारिक निर्णय नगरी नियुक्त भएका थिए । मन्त्री पेरिसडाँडाबाट होइन, खुमलटारबाट छानिन्छन् भन्ने सिद्धान्त तय भएकाले सबै सांसदले दाहालसँग मन्त्री मागिरहेका छन् ।

अभिव्यक्तिमार्फत दाहालले माओवादीमा आफू धेरै शक्तिशाली भएको सन्देश दिएका छन् । अर्थात् पार्टीमा मन्त्री र सांसद म आफैले तय गर्ने हो भन्ने दाहालको अभिव्यक्तिमा सन्देश छ । यदि त्यसो हुँदैनथ्यो भने उनले पार्टी कमिटीमा मन्त्री पठाउने उपयुक्त मापदण्ड बनाएर त्यसको जगमा व्यक्तिहरु चयन गर्न सक्थे, कमिटीबाट निर्णय गराउन सक्थे । दाहालको अभिव्यक्तिले खुमलटारका ‘राडार’ मा नआउने व्यक्ति मन्त्री बन्न सक्दैन भन्ने डरलाग्दो सन्देश दिएको छ ।

दाहालको अभिव्यक्तिमा माओवादीमा माग्ने र दिने दुई वटा वर्ग छ भन्ने कम्युनिष्टविरोधी संस्कार रहेको अर्को सन्देश छ । पार्टी अध्यक्षको हैसियतले दाहालसँग अपेक्षा गर्नुलाई अन्यथा मान्न सकिन्न, तर जननिर्वाचित सांसद मन्त्री बनाइदेउ भन्दै भिख माग्दै जानुपर्ने परम्परा पक्कै पनि लोकतान्त्रिक व्यवस्थालाई सुहाउने विषय होइन । पार्टी कमिटीमा पारदर्शी तरिकाले एउटै निर्णयबाट हल गर्न सकिने विषयलाई दाहालले किन प्रचारको विषय बनाएका छन् ? अनौठो छ ।

र, दाहालको अभिव्यक्तिमा अर्को खतरनाक सन्देश छ–देउवा सरकारमा धेरैजसो मान्छे बाहुवल र धनवलको आधारमा मन्त्री हुन सक्छन् । र, योसँगै गम्भीर प्रश्न छ–यसरी मन्त्री हुनेले सरकारमा गएर कस्तो र कति पारदर्शी काम गर्छन् ?, अनि त्यो सरकार कति जनउत्तरदायी हुन्छ । यसअघि मन्त्री खानकै लागि माओवादीका चार सांसदले अर्को पार्टी रोजेका थिए ।

केही दिन अगाडि माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले सामाजिक संजालमा लेखेका थिए, ‘पार्टीका कतिपय मुर्धन्यहरुले यसपटक पनि मन्त्री पाइएन भने आत्महत्या गर्ने निष्कर्षमा पुगे भन्ने पो आयो त !’न्यौपानले सम्भवत: सार्वजनिक पदमा व्यक्ति पठाउने माओवादीको अपारदर्शी संस्कृतिको परिणाम लेखेका हुन् । यसमा अझै महत्वपूर्ण कुरा यो छ कि–‘सबै त्याग्न तयार’ माओवादी नेता अहिले ‘मन्त्री खान सवै गर्न तयार’ छन् । यो माओवादीको 'स्वास्थ्य'का लागि हानिकारक हुन्छ कि !

प्रकाशित : श्रावण ९, २०७८ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?